होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रेल ढाकेका त्रिपाल मुसाले खान थाले, सञ्चालनमा आउने अत्तोपत्तो छैन
समाचार

रेल ढाकेका त्रिपाल मुसाले खान थाले, सञ्चालनमा आउने अत्तोपत्तो छैन

  • नागरिक रैबार
रेल ढाकेका त्रिपाल मुसाले खान थाले, सञ्चालनमा आउने अत्तोपत्तो छैन

काठमाडौं । लामो प्रतिक्षापछि गत २ असोजमा जनकपुरस्थित रेल्वे स्टेसनमा रेल आउँदा स्वागतका लागि हजारौँको भीड उर्लिएको थियो ।

सरकारले खरिद गरेका दुई सेट रेल जनकपुर आउँदा मानिसको उल्लास रेल्वे स्टेसनमा मात्र थिएन, जयनगरदेखि जनकपुरसम्मै रेल्वे ट्रयाक छेउमा ताँती लागेको थियो ।

कोरोना महामारीको त्रासदीकाबीच रेल हेर्ने उत्साहले उनीहरूको खुसीको सीमा नै थिएन । तर, रेल आएको पाँच महिना बितिसक्दा पनि सञ्चालनको अन्योलताले स्थानीय निरास देखिन थालेका छन् ।

विज्ञापन

कर्मचारी, कानूनलगायत प्राविधिक संयन्त्र नहुँदा रेल त्रिपालले छोपेर राखिएको छ । लामो समयदेखि यसरी रेल थन्क्याएर राख्दा छोपिएको त्रिपाल मुसाले खान थालेको छ । रेलको रेखदेखमा खटिएका कर्मचारीका अनुसार तार तथा सिटसमेत मुसाले काट्ने जोखिम बढेको छ ।

‘रेललाई त्रिपालले ढाकेर राखिएको छ तर सधैँ त्रिपाल हटाउन र ओढाउन सम्भव छैन,’ एक कर्मचारीले भने । रेल राख्न इनर्वाको तुलनामा जनकपुर सुविधासम्पन्न र सुरक्षित स्थान भए पनि भारतले नेपाललाई हस्तान्तरण गरिनसकेकाले भारतीय पक्षले ती रेललाई आफ्नै स्वामीत्वमा राख्न सहज हुने स्थान सीमावर्ती क्षेत्र इनर्वामा लगेर थन्क्याएको हो । ती रेलको सुरक्षामा ३० जना सशस्त्र प्रहरीलाई खटाइएको छ ।

सीमा सुरक्षाका लागिसमेत निरन्तर खटिन स्थायी पोष्ट निर्माणको तयारी भइरहेको र त्यसका लागि जग्गा खोजी भइरहेको सशस्त्र प्रहरी नायब निरीक्षक दीपेन्द्र खड्काले बताए । उनका अनुसार भारतीय रेल विभागका ठेकेदार र कर्मचारीले दिनहुँजसो रेलको हेरचाह गरिरहेका हुन्छन् ।

घुमफिरका लागि आउने आन्तरिक पर्यटक रेलको फोटो र सेल्फी खिचेर फर्किने गरेका छन् । भारत सरकारले थन्कयाएर राखिएका ती रेल नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने ठेकेदार कम्पनीका कर्मचारी प्रणव कुमारले बताए ।

हस्तान्तरण कहिले हुन्छ भन्ने विषयमा भने उनी अनभिज्ञ छन् । इनर्वामा थन्क्याइएका दुवै रेल बुझ्न भारतीय पक्षले निरन्तर दबाब दिँदै आए पनि आवश्यक तयारीको अभावमा नेपालले ती रेल बुझ्न ढिलाइ गर्दै आएको स्रोतले बताएको छ ।

टिकट, जनशक्ति व्यवस्थापन, समय तालिका आदिका लागि रेल चलाउन चाहिने स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्युर पनि नेपालको अनुरोधमा भारतीय रेल्वेले तयार पारिदिएको भारतीय पक्षका एक कर्मचारीले जानकारी दिए ।

यसअघि नेपाल रेल्वे कम्पनीले माघ मसान्तसम्ममा रेल सेवा सञ्चालनमा ल्याउने जनाएको थियो । तर  लामो समय बितिसक्दा पनि न त कर्मचारी भर्ना गरिएको छ, न नियमावली नै ल्याउन सकेको छ । कर्मचारी, स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्युर र कानून नबनेसम्म रेल सञ्चालनकाे सम्भावना नरहेको जानकारहरु बताउँछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चुअल माध्यमबाट रेल उद्‍घाटनको चर्चा छ । सशस्त्र प्रहरीको निगरानीमा दुवै रेल अहिले धनुषाको जनकनन्दिनी गाउँपालिकास्थित इनर्वा स्टेसनमा राखिएको छ । भारतीय सीमा जयनगरदेखि जनकपुरधामको कुर्थासम्म चल्ने रेल सञ्चालनका लागि सम्पूर्ण प्राविधिक तयारी पूरा भइसकेको रेल्वे विभागका प्रवक्ता अमन चित्रकारले बताए ।

तर रेल चलाउने दक्ष जनशक्तिको अभाव रहेकाले त्यसको पूर्तिका लागि नेपाल रेल्वे कम्पनीमार्फत् काम अगाडि बढाइएको उनको भनाइ छ । उसो त सुरुमा अस्थायी नियुक्ति गरी कर्मचारी व्यवस्था गरेर रेल चलाउने कम्पनीको योजना थियो । सोही अनुसार नेपाल रेल्वे विभागले आफूअनुकूल विज्ञापन पनि निकालेको थियो । विज्ञापनअनुसार करिब ३५ हजारले आवेदन दिएका थिए । तर, सरकारी कम्पनीमा अस्थायी नियुक्तिबाट भर्ना झन्झटिलो हुने र पछि व्यवस्थापनमा समस्या उत्पन्न हुने भन्दै सो भर्ना प्रक्रिया नै अन्योलमा परेको छ ।

केही दिनभित्रै रेल सञ्चालनमा आउने चित्रकारको दाबी छ । तर कहिलेदेखि सञ्चालन हुने भन्ने सम्बन्धमा मिति तय हुन नसकेको उनले बताए । पुस अन्तिम साता रेल सञ्चालन हुने दाबी गरेका नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले आफू काममा व्यस्त रहेको भन्दै पछिल्लो समय सम्पर्कमै आउन छोडेका छन् ।

केही दिनअघि धनुषाको ढल्केवरस्थित चार सय केभी विद्युत सबस्टेसनको उद्‍घाटन गर्न आएका प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै रेल चलाउन आउने बताएका थिए । यद्यपी उलने कहिले सञ्चालनमा आउँछ भन्नेबारे केही खुलाएनन् । शिलापत्रबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार