होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पशुपतिनाथसँग माफी मागेर राजीनामा दिनुहोस् प्रधानमन्त्रीज्यू !
समाचार

पशुपतिनाथसँग माफी मागेर राजीनामा दिनुहोस् प्रधानमन्त्रीज्यू !

  • नागरिक रैबार
पशुपतिनाथसँग माफी मागेर राजीनामा दिनुहोस् प्रधानमन्त्रीज्यू !

राजा बोला रात है,
रानी बोली रात है,
मंत्री बोला रात है,
संतरी बोला रात है,
सब बोले रात है,
यह सुबह–सुबह की बात है ।

भारतीय चर्तित कवि गोरख पाण्डेयको यो कविता हालको हाम्रो सन्दर्भमा ठ्याक्कै मिल्छ । प्रधानमन्त्री केपी शर्मा ओली र उनका नामी सल्लाहकार, जे भने पनि हो–हो, सही हो भन्नुपरेको छ । त्यसो भन्न नसक्ने मान्छे अनेक बाहनामा पक्राउ परेका छन् । भोकभोकै खाली पेट बसेर, अँ टन्न खाएँ सरकार भन्दिनुपरेको छ । खाली खुट्टा १० दिन पैदल हिँडेर, बसमा चढेको थिएँ सरकार भन्दिनुपरेको छ । प्रधानमन्त्रीज्यूले भारतीय सिमानामा नेपालीहरू राख्न होटल बूक गरिदिएको तर उनीहरू सिमानामै लम्पसार परेको भाषण गर्नुहुन्छ, हो हजुर, हो होटल बूक गर्दिनुभएको थियो भन्नै परेको छ । यहाँ ८० करोडको राहात वितरण भैसक्यो, त्यो पत्याइदिनु परेको छ । सरकारी मानिसहरूले फूललाई काँडा भन्दिए, हो काँडा नै हो भन्नुपरेको छ । नदीलाई हिमाल भन्दिए, हो हिमाल नै हो भन्दिनुपरेको छ ।


ADVERTISEMENT

तर प्रधानमन्त्रीज्यू नेपाली जनताले अब सबै थाहा पाइसकेका छन् । जनताले तपाईंहरू कति झूट हुनुहुन्छ, कति बदनामी हुनुहुन्छ, कति अंहकारी र आडम्बरी हुनुहपन्छ, सब थाहा पाइसकेका छन् । जनताले तपाईंहरू कति पद लोलुप हुनुहुन्छ, र कमिसनखोरको घेराबन्दीमा फस्नुभएको छ, सबै थाहा पाइसके । तपाईं र तपाईंको विचार केही थान व्यापारीहरूले चार्टर गरेको जहाजमा पुगेर अड्किएको छ । तपाईंहरूको महान आदर्श एतथान थर्मोमिटर र पीपीई सेटमा पुगेर बल्झिएको छ । जनताको जनजीवनको मूल्य शून्य भएको छ । नातावाद र कृपावादको हावी भएको छ । प्रधानमन्त्रीज्यू, जनताकै दायामायाले जनताकै पसिनाले दुईपटकसम्म किड्नी परिवर्तन गर्नुभयो, तर आज सकडमा किड्नीका बिरामीले २ रुपैयाँ चन्दा उठाएर जीवनको भिख मागेको छ र शल्यक्रियाको सपना देखेर रोगसँग पिरती गाँसेको छ । तपाईंलाई भुइँमान्छे र सकडका जनताको माया कति रहेछ ? सब थाहा भैसक्यो प्रधानमन्त्रीज्यू !

विज्ञापन

तर पनि नेपाली जनता मनकारी छन् । गणेशमान जेल पर्दा पनि ताली बजाउँछन् । चुनाव जित्दा पनि ताली बजाउँछन् । तपाईंका हरेक भाषणहरूमा पनि जनताले बजाएकै थिए, बजाउने पनि छन् । जनताले तपाईंको भाषण सुनेर ताली बजाएको बदलामा तपाईंले केही नदिए पनि जनताले भने तपाईंलाई माफी दिनेछन् । तर नेपाली भगवान भने मनकारी छैनन् । नेपाली भगवान मनकारी नभएकै कारण होला, डरका कारण, भयका कारण, त्रासका कारण पूर्वराजादेखि बडा-बडा हाकिमसा’बहरू, लाभको पदमा बसेका भीभीआईपीहरू प्राय: भगवानको खोजीमा दौडिरहेका हुन्छन् । प्रधानमन्त्रीज्यू, तपाईं डराउनुपर्दैन, त्रसित हुनुपर्दैन । भगवानको खोजीमा दौडिनुपर्दैन, तर प्लिज एकपटक पशुपतिनाथ भगवानसँग माफी मागेर क्षमा पूजा गर्नुहोस् अनि पदबाट राजीनामा दिनुहोस् । मोक्ष प्राप्तिको यो भन्दा सुखद् रूप अरू के हुनसक्छ ?


ADVERTISEMENT

तपाईंले जानेर, नजानेर, नियोजित रूपमा वा भुलचुक कसैले गलत सुराकी दिएर वा गलत सल्लाह दिएर जे–जे गर्नुभयो, ठीकै छ त्यो गर्नुभयो । तपाईंले आफू खुशी हुन वा अरूलाई खुशी पार्न जे–जे कुरालाई जे–जे कुरामा सौदावाजी गर्नुभयो, त्यो पनि बिर्सिदिनुहोस् । सम्झनुहोस्, त्यो पनि अञ्जानमा गरिएको भूल थियो । नेपाली निमुखा गरीब जनतालाई चुच्चे रेलदेखि चुलोचुलोमा ग्यास पाइप अनि हावाबाट बिजुली र सुरुङ मार्गको मीठो सपना देखाउनुभयो । तर त्यो पूरा हुन सकेन । तर प्रधानमन्त्रीज्यू पिर नगर्नुहोस्, केवल एकपटक पशुपतिनाथ भगवानसँग माफी मागेर क्षमा पूजा गर्नुहोस्, मोक्ष प्राप्तिका लागि पदबाट राजीनामा दिनुहोस् ।

किनकी हेर्नुह़ोस्, प्रधानमन्त्रीज्यू इतिहासमा नाम त गान्धीको पनि लेखिएको छ, गोड्सेको पनि लेखिएको छ प्रधानमन्त्रीज्यू । तपाईं दुईपटक प्रधानमन्त्री बनिसक्नुभयो । स्वास्थ्यका दृष्टिले पनि, उमेरका दृष्टिले पनि राजनीतिमा अनवरत रूपमा समर्पित भएको एक सिपाहीले पाउने पद, अवसर यही नै हो । बुढो गोरुको अब न सिङ पलाउँछ, न जुरो पलाउँछ भनेजस्तो अब तपाईंको पलाउन बाँकी केही छैन । नेपाली जनतालाई के दिनुभयो, नेपाली जनताबाट के–के लिनुभयो, त्यो एकान्तमा बसेर सोच्नुहोस् । कार्यकर्ताहरू झूटो बोले पनि मतदाताहरू झुटो बोल्दैनन् । मतदाताहरू झूटो बोले पनि यो देशको पाखा पखेरा झूटो बोल्दैनन् ।

प्रधानमन्त्रीज्यू, तपाईंले जनतालाई के दिनुभयो, युवालाई के दिनुभयो त्यो पार्टीको, गुटको बैठकमा नसोध्नुहोस्, कुनै नामी सम्पादकलाई पनि नभन्नुहोस्, गोष्ठी समारोहहरूमा पनि भाषण नगर्नुहोस्, त्यो के रे राष्ट्रको नाममा सम्बोधन हो, त्यहाँ पनि नभन्नुहोस् । तपाईंले जनताका लागि के गर्नुभयो, ऊखु किसानहरूलाई राम्रोसँग थाहा छ । निजी अस्पतालका शैय्याहरूमा लालपूर्जा धितो राखेर उपचार गराइरहेकाहरूलाई झन् राम्रोसँग थाहा छ, तपाईंले के गर्नुभयो । अरबको बालुवामा उँट चराइरहेको युवालाई सोध्नुहोस्, तपाईंले युवालाई के दिनुभयो भनेर, अनि गणना गर्नुहोस्, दैनिकरूपमा आउने युवाका शवका बाकसहरू । तपाईंले धेरै दिनुभयो प्रधानमन्त्रीज्यू ।

गोकुल बाँस्कोटा भ्रष्टचार गर्छन्, तपाईं हैन भन्नुहुन्छ । संसद् अपहरणमा पर्छन्, तपाईं कानमा तेल हालेर सुत्नुहुन्छ । सरकारको आलोचना गर्नेलाई प्रहरी लगाएर समात्नुहुन्छ । मेडिकल उपकरणमा करडौं अनियमितता हुन्छ, तपाईं मौन बस्नुहुन्छ । तपाईंको सरकारको पालामा को–कसका काण्डहरू घटे, त्यो थाहा पाउन कुनै गूगल गर्नुपर्देन । पुराना सामाचारहरू पढ्नु पर्दैन । आज चोकचोकमा गल्लीगल्लीहरूमा केटाकेटीहरूको मुखमा पनि काण्डैकाण्डको नाम कण्ठ झुण्डिएको छ । यो तपाईंको अक्षमता तपाईंले स्वीकार्नै पर्दछ । तपाईं इतिहास निर्माणको एक विशिष्ट परिस्थितिमा आएर आफ्नो नाम सुनौलो अक्षरमा लेख्ने दिनहरूबाट गुज्रिँदै हुनुहुन्थ्यो । इतिहासमा बिरलै मानिसहरू आफ्नो पाप पखाल्ने अवसर पाउँछन् । त्यो अवसर तपाईंलाई प्राप्त भएको थियो, तर राजनीतिक बेइमानी र जनताप्रतिको धोकाको पाप तपाईंले अवसर पाएर पनि पखाल्न सक्नुभएन ।

फ्रान्सेली सैनिक, राजनीतिक नेता, तथा कालान्तारमा फ्रान्सको सम्राट बनेका नेपोलियन बोनापार्टले जस्तै केपी ओलीले पनि उदारवादी सामाजिक सुधारहरू लागू गरेर जनतामाथि महाजनहरूको आधिपत्यको उन्मुलन र सबै वर्गका जनताका लागि समान कानून, समान व्यवहार गर्छन् कि भन्ने लागेको थियो तर, दु:खका साथ भन्नुपर्छ, चार–चारवटा विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि अर्थात् पीएचडी लिन भ्याइसकेका केपी ओली नेपोलियन बोनापार्ट बन्न सकेनन् । तेह्रथुमको इवा गाउँको किसानको छोरो जस्तै बनेर अरू केही नगरेपनि किसानकै मुहार हसाउने भीमदत्त पन्तजस्तै बनिदिए हुन्थ्यो, त्यो पनि बन्न सकेनन् ।

संसदीय व्यवस्थाको गुट अधिपत्य लिगेसीले केपी ओलीलाई कुनै मुगल सम्राटजस्तो बनायो । एक प्रकारको नव तानाशाहको रूपमा केपी ओली प्रकट भए । सरकार भनेकै केपी ओली र केपी ओली भनेकै सरकारजस्तो भयो । जनता र सरकारको परिचय हुन सकेन । यतिसम्म कि पार्टी र सरकारको पनि चिनजान हुन सकेन । सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्न त भन्दै गए, मेरो छोरा पनि छैनन्, छोरी पनि छैनन्, सम्पत्ति केका लागि ? भ्रष्टाचार गरेर पैसा कमाउनु केका लागि ? तर उनलाई थाहा छैन, उनलाई ‘बा’ भन्नेहरू करडौंको कमिसनको चक्करमा दिनरात बिताउने गरेका छन्, गोकुल बाँस्कोटा एक ताजा तथा बलिया उदाहरण हुन् ।

हामीले ओलीलाई कोसँग तुलना गर्ने त ? के ओली अर्ग्यानिक झापाली बुद्धिजीवि मात्रै हुन् त ? यसो भन्दै गर्दा भारतको दोस्रोपटकको निर्वाचनमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह तथा प्रधानमन्त्री नरेन्द्र मोदीलाई महाभारतका दुर्योधनसँग तुलना गरेकी थिइन् । यदि आज हिटलर जिउँदा थिए भने मोदीका गतिविधि देखेर आत्महत्या गर्ने थिए भनेर ममताले मोदीको आलोचना गरेका थिए । ममता बेनर्जीले अमित शाह र मोदीलाई आरोप लगाएजस्तै केपी ओली दुर्योधन र हिटलर त हैनन्, तर केही न केही खराब पात्र भने अवश्य हुन् ।

हालसालै सांसद अपहरणको लफडासँगै हाससालै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोना भाइरसभन्दा ‘ओली प्रवृत्ति’ खतरनाक भएको बताएका थिए । उनले यस्तो प्रवृत्तिलाई सदाका लागि बिदा गर्न आह्वान गरेका थिए ।’ ओली प्रवृत्ति’ भष्मासुर, हिटलर, स्टालिनलगायतको जस्तो भएको उनको बुझाई थियो । केपी ओली प्रवृत्तिलाई भष्मासुरसँग तुलना गर्दै डा. भट्टराईले लेखेका थिए, ‘ओली प्रवृत्तिले पनि अहिले नेपाली जनता र नेकपा पार्टीको वरदानले सत्तामा पुगेर त्यसको चरम दुरूपयोग गर्दै आफ्नै पार्टीका नेता, सांसद, विपक्षी दल, मिडिया, नागरिक अभियन्ता र आमजनता सबैको टाउकोमा हात राख्ने र आतंकित पार्ने हर्कत गरिरहेको छ ।’

तर प्रधानमन्त्रीज्यू आखिर किन यस्तो भइरहेको छ ? किन कोही सन्तुष्ट छैनन् ? किन जनताहरू निराश छन् ? दशकौंको राजनीतिक संघर्षहरूपश्चात पनि देशमा खासै सन्तोषजनक परिवर्तनको संकेत नदेखेर होला, मानिसहरूले यो देश भागवान पशुपतिनाथको भरोसामा चल्दै आएको बताउँछन् । देशमा कुनै संटक अथवा आपत–विपत पर्‍यो भने राज्यविहीनताको भावमा मानिसहरू पशुपतिनाथकै भरोसाको कुरा गर्छन् । हुन पनि २००७ सालयताको राजनीतिक आन्दोलन, नारा र व्यवस्था परिवर्तनकै समालोचना गर्ने हो भने राज्य व्यवस्थाले जनताको मनमा खुसियाली ल्याउन नसकेकै हो ।

तर हामीले देश पशुपतिमाथको भरोसा हैन, असल नेता र नेतृत्वकै हातमा हुन्छ भनेर भन्दै आयौ । हामीले यो देशम माओ, स्टालिन, लेलिनदेखि, आधुनिक सिंगापुरका संस्थापक नेता ली क्वान यूसम्म खोजी गर्‍यौं । हामीले केपी ओलीको अनुहारमा देङ सियाओपिङलाई पनि खोज्यौं । केपी ओलीको शासनलाई देङ सियाओपिङको शासनजस्तो देख्न चाह्यौं । आधुनिक चीनका पिता भनिने देङ सियाओपिङले समेत विकासको मोडल अध्यन गर्न भन्दै सन् १९७८ मा सिंगापुर भ्रमण गरेका थिए । सन् २००९ मा अमेरिकी राष्ट्रपति बाराक ओबामाले लीलाई २० र २१औं शताब्दीका एसियाका नमूना नेताकोरूपमा व्याख्या गरेका थिए । हामीले ओलीलाई तिनै देङ सियाओपिङको प्रतीक मान्यौं ।

तर प्रधानमन्त्री केपी ओलीज्यूको शासनमा कुनैपनि किसिमको मार्स्कवादी अभ्यास देखिएन । ली क्वान यू , देङ सियाओपिङको छनक देखिएन । बरू प्रधानमन्त्री केपी ओली त युगाण्डाका तानाशाह ईदी अमिनको बाटोमा लाग्नुभयो । अमिनले राष्ट्रपतिका रूपमा करीब ८ वर्षसम्म शासन गरेका थिए र सोही अवधिमा उनले क्रुरताको पराकाष्ठा देखाएका थिए । सन् १९६६ मा युगान्ड सेना र वायुसेनाका प्रमुख रहेका इदी अमिनले सन् १९७१ मा मिल्टन ओबोटेलाई सत्ताच्युत गर्दै त्यहाँको सत्ता आफ्नो कब्जामा लिएका थिए । अमिनले आफूलाई युगान्डाका राष्ट्रपति, सबै सशस्त्र बलका प्रमुख कमान्डर, सैन्य प्रमुख घोषित गरेका थिए ।

प्रधानमन्त्रीज्यू पनि इदी अमिन जस्तै कसैका कुरा सुन्नुहुन्न । तपाईं अहंकारी र एकलौटी गर्नुहुन्छ । षड्यन्त्रको राजनीति गर्नुहुन्छ । अध्यादेश र अख्तियारको कार्ड एक कडी हो । तपाईंले पार्टीको कुरा नमानेको, स्वच्छन्द ढंगले सरकार चलाएको, पार्टीको सरसल्लाहबेगर नै गुठी विधेयक, अध्यादेश ल्याएर पार्टीको बद्नाम गर्ने काम सरकारले गरेको, पीएमका सल्लाहकारहरूबाटै पार्टी नेतृत्वप्रति विभिन्न आक्षेप लगाउने काम गरिरहनुभयो । सुनिन्छ, राष्ट्रिय अनुसन्धान आयोगलाई हस्तक्षेप गरेर शीर्ष नेताहरूका बारेमा सूचना लिने काम गरिरहनुभएको छ । अर्थात् नेताहरूलाई निगरानीमा राख्ने काम भएको छ । अख्तियारमा आफ्नो मान्छे राखेर नेताहरूलाई सुनियोजितरूपमा बदला लिने प्रयास भैरहेका छन् । यहाँ अर्को पार्टीको संसद् अपहरण गर्न पूर्व आईजीपीलाई प्रयोग गर्ने काम भएको छ । कोरोनासँग एकजुट भई लड्नुपर्ने बेलामा अध्यादेश ल्याएर निरंकुशता देखाउनुभएको छ ।

तपाईंले जनताको अभिमतलाई लत्याउनुभएको छ । जनताको टाउकोमा टेकेर जनतालाई नै प्रहार गर्नुभएको छ । मन नपरेका आलोचकहरूलाई साइबर क्राइममा थुन्ने काम गर्नुभएको छ । मिडियासँग अनावश्यक रिसाउनुभएको छ । अध्यादेश ल्याएर राजनीतिक कू गर्न खोज्नुभएको छ । तपाईंले सजिलै अध्यादेश फिर्ता गरेको पनि हैन । वामदेव गौतमको भैंसेपाटीस्थित निवासमा बिहीवार साँझ बसेको बैठकमा सचिवालयका ६ जना नेताहरूको अनौपचारिक बैठकले अध्यादेश फिर्ता नभए शनिवारै स्थायी कमिटी बैठक बोलाएर ओलीलाई अप्ठेरोमा पार्ने निर्णय गरिसकेको थियो । यो भनेको ओलीलाई संसदीय दलमा अविश्वास प्रस्ताव ल्याएर प्रधानमन्त्रीबाटै हटाउनेसम्मको तयारी थियो । यो बुझेरै तपाईंले मन्त्रिपरिषद्को बैठक राखेर अध्यादेश फिर्ता लिनुभएको हो । अलिकति नैतिकता छ भने तपाईंले अहिलेसम्म राजीनामा दिइसक्नुपर्ने हो ।

तपाईं अल्पमतमा पर्नुभएको छ प्रधानमन्त्रीज्यू, पार्टीमा पनि जनतामा पनि । तपाईंको छवी समाप्त भैसकेको छ । कुनै धुपौरेले तपाईंको छवी अब जोगाउन सक्दैन । तपाईं पदलुप्त, अहंकारी, व्यभिचारी र एउटा गूटको प्रधानमन्त्रीको रूपमा दर्ज भैसक्नुभएको छ । नेकपाको ४५ सदस्यीय स्थायी कमिटी बैठक बस्न जोडदार माग उठिरहेको छ । स्थायी कमिटीको माग गर्ने २० जना नेतामध्ये अधिकांश ओलीमाथि नैतिकताको प्रश्न बर्साइरहेका छन् ।

प्रधानमन्त्रीज्यू, तपाईंमाथि नैतिकताको प्रश्न उठिरहेको छ । बिरामी पनि हुनुहुन्छ । अब तपाईंले सम्मानितरूपमा राजीनामा दिएर बालकोट जानुहोस्, बालुवाटार छाड्नुहोस् । किनकी तपाईंलाई काण्डैकाण्ड घटाउन बहुमत दिएको हैन जनताले । बेथितिले सीमा नाघिसक्यो । युवा, मजदुर, किसानहरूलाई डिप्रेसन भैसक्यो । तपाईंले आफ्ना सल्लाहकारहरूबाट देश बुझ्नुभएन, गुट मात्र बुझ्नुभयो । प्रधानमन्त्री पदको गरिमा गुमाउनुभयो र कुनै थपनाका लागि मात्र उठाइएको वडाध्यक्षको जस्तो चरित्र प्रदशन गर्नुभयो । यदि त्यसो हुँदैनथ्यो भने बोसीय र फ्याटीय तत्वको प्रसंग निस्किने थिएन । फेरि पनि दोहोर्‍याउँछु, अँ तपाईंले राजीनामा दिनुभन्दा अगाडि पशुपतिनाथ भगवानसँग भने एकपटक माफी माग्नुहोस्, क्षमा पूजा गर्नुहोस् । किनकी प्रधानमन्त्रीज्यू, तपाईंलाई मनकारी जनताले त माफी देलान्, तर भगवानले माफ दिन सक्ने छैनन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार