होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पूर्वउपप्रधानमन्त्री रायमाझी सम्पर्कविहीन
समाचार

पूर्वउपप्रधानमन्त्री रायमाझी सम्पर्कविहीन

  • नागरिक रैबार
पूर्वउपप्रधानमन्त्री रायमाझी सम्पर्कविहीन
file photo

काठमाडौँ — नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गरिएको ठगीसम्बन्धी अनुसन्धानमा तानिएका पूर्वउपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी बुधबार साँझदेखि सम्पर्कविहीन छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका उनलाई पक्राउ गर्न प्रहरीले अदालतबाट पुर्जी लिएको केही घण्टामै फरार भएका हुन् ।

गृहजिल्ला अर्घाखाँचीमा बुधबार आयोजित कार्यक्रममा रायमाझी सभामुख देवराज घिमिरेसँगै अतिथि थिए । उनी फर्किएलगत्तै नियन्त्रणमा लिने काठमाडौं प्रहरीको तयारी थियो । काठमाडौं प्रहरीले रूपन्देही, कपिलवस्तु र अर्घाखाँची प्रहरीलाई पनि पक्राउ पुर्जीबारे जानकारी गराइसकेको थियो । तर उनलाई अर्घाखाँची र कपिलवस्तु प्रहरीले अवरोध गरेन । दिनभर सुरक्षा घेराबीच भएको कार्यक्रम सकेर रूपन्देही झरेपछि रायमाझी सम्पर्कविहीन भएका हुन् । उनले नेपाल प्रहरीका पीएसओलाई काठमाडौंमै छाडेर गएका थिए ।

अर्घाखाँचीको कार्यक्रममा सँगै रहेका सभामुख घिमिरे भने काठमाडौं फर्किएका छन् । नेपाल प्रहरीका एक अधिकारीले बुधबार साँझबाट रायमाझी सम्पर्कमा नरहेको र खोजी जारी रहेको जानकारी दिए ।बुधबार बुटवलमा पक्राउ परेका छोरा सन्दीपलाई भने काठमाडौं ल्याइएको छ । उनलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं अदालतले अनुमति दिइसकेको छ ।

विज्ञापन

शरणार्थीका नाममा ठगी धन्दा चलाउन गिरोह सक्रिय रहेका बेला टोपबहादुर ऊर्जामन्त्री थिए । त्यति बेलाका गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई सोही प्रकरणमा मंगलबार पक्राउ परिसकेका छन् । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई पनि प्रहरीले बुधबार नियन्त्रणमा लिइसकेको छ । उनको पछिल्लो दरबन्दी उपराष्ट्रपति कार्यालयमा छ ।

प्रहरी हिरासतमा रहेका गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राईले दिएको बयानका आधारमा उच्च अधिकारीहरू अनुसन्धानमा तानिएका हुन् । ‘पक्राउ पुर्जी जारी भएका तर पक्राउ नपरेका व्यक्तिको खोजबिन भइरहेको छ,’ नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले भने, ‘विधि र प्रक्रियामा रहेर आरोपितविरुद्ध अनुसन्धान भइरहेकाले पक्राउ पुर्जी जारी भएकाहरूलाई कुनै पनि हालतमा कानुनी दायरामा ल्याइनेछ ।’ ठगी प्रकरणका विषयमा काठमाडौं प्रहरीमा २० वटा छुट्टाछुट्टै जाहेरी परेका छन् । १ सय ६ जनाका तर्फबाट दिइएका ती जाहेरीमा २३ करोड ९९ लाख रुपैयाँ ठगी भएको उल्लेख छ । यस विषयमा प्रहरीले सुरुमा ठगीको कसुरमा अनुसन्धान अघि बढाएको थियो । तर, गिरोहले संगठित रूपमा धन्दा चलाएको पाइएपछि ठगीका अलावा संगठित अपराधको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीले स्वतन्त्र अनुसन्धान गरोस् : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार पार्टी पदाधिकारीको अनौपचारिक बैठकमा नेपालीलाई भुटानी शरणार्थी बनाउने भन्दै ठगी गर्ने गिरोहमाथि प्रहरीले कुनै दबाबबिना अनुसन्धान अघि बढाउनुपर्ने बताएका छन् ।

‘यो अपराधमा जो–जो तानिन्छन्, प्रहरीलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न दिनुपर्छ,’ दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि अनुसन्धानमा तानिएका एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई पक्राउ गर्न प्रहरीलाई कडा निर्देशन दिएको स्रोतले जनाएको छ ।

संसद् सचिवालयका एक अधिकारीले फौजदारी अभियोगमा कुनै पनि सांसदलाई पक्राउ गर्न अनुमति आवश्यक नपर्ने बताए । संविधानको धारा १०३ (६) मा ‘संघीय संसद्को कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिने छैन तर कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानुनबमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्‍याएको मानिने छैन’ भनिएको छ । तर, त्यसरी कुनै सदस्य पक्राउ गरिए सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त सूचना दिनुपर्नेछ ।

सांसदलाई हतकडी लगाउनु आवश्यक छैन : ओली

भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगीमा अनुसन्धान गरिरहेको प्रहरीले पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेका छन् । सिंहदरबार पुगेरै बिहीबार प्रधानमन्त्री दाहाललाई भेटेका ओलीले यो घटना रहस्यमय रहेको टिप्पणी गरेका छन् ।

एमाले अध्यक्ष ओलीले उपप्रधानमन्त्री भइसकेको बहालवाला सांसद रायमाझीलाई प्रहरीले बाटोबाटै समातेर हतकडी लगाउन खोजेको बताए । उनले पटक–पटक सांसद, मन्त्री र उपप्रधानमन्त्री भइसकेको बहालवाला सांसदलाई बाटोबाटै हतकडी लगाउनु आवश्यक नरहेको बताए । ‘एउटा बहालवाला सांसद, पटक–पटक मन्त्री, उपप्रधानमन्त्री भइसकेको मान्छेलाई बाटोबाटै हतकडी लगाउनु पर्दैन, ऊ भागेर कतै जाँदैन,’ उनले भने । ओलीले यस प्रकरणमा दोषीलाई छाड्न नहुने तर निर्दोषलाई फसाउन पनि नदिइने बताए ।

‘यसमा को–को दोषी हुन् ? नियतवश तानिएको हो कि तनाइएको हो, हामी पनि अध्ययन गर्दै छौं,’ उनले भने, ‘यसमा निर्दोषलाई फसाउन खोजियो भने हामी चुप लागेर बस्दैनौं ।’ पूर्वऊर्जामन्त्री रायमाझीविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरिएको हो । उनका छोरा सन्दीप त्यही प्रकरणमा बुधबार साँझ बुटवलबाट पक्राउ परिसकेका छन् । कान्तिपुरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार