होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • मृत्युको मुखबाट जोगिएका आमाहरू
स्वास्थ्य-जीवनशैली

मृत्युको मुखबाट जोगिएका आमाहरू

तीन वर्षमा प्रसूतिको जटिलतासँग जुधिरहेका बाजुराबाट १९, अछामबाट २३ र बझाङबाट ३३ महिलाको उद्धार हेलिकोप्टरमा

  • नागरिक रैबार
मृत्युको मुखबाट जोगिएका आमाहरू
तस्बिर : वसन्तप्रताप सिंह/कान्तिपुर

बाजुरा। बाजुराको बुढीनन्दा–६ की मनीषा भण्डारीलाई असार १७ को राति ११ बजेतिर सुत्केरी बेथाले च्याप्यो । उनी छटपटाइन् । तर मध्यरात, अविरल झरी, त्यसमाथि स्वास्थ्यचौकी टाढा । परिवारका सदस्यले भोलिपल्ट बिहान मात्रै गाउँनजिकको कोल्टी स्वास्थ्य केन्द्र पुर्‍याए ।

स्वास्थ्य केन्द्रले अवस्था जटिल भएको भन्दै अन्तै लैजान सुझायो । पाँच घण्टा दूरीमा सदरमुकाम मार्तडी तर निरन्तरको झरीका कारण बाटो पनि बन्द थियो । ‘विकल्प नदेखेर हार खाइसकेको थिएँ, श्रीमती र बच्चा बचाउन सक्दिन कि भन्ने डर थियो,’ श्रीमान् नहकुल रोकायाले भने, ‘तर धन्न साँझ साढे ५ बजे कोल्टीबाट हेलिकोप्टरमा सुर्खेत पठाउने व्यवस्था मिल्यो ।’

सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालमा शल्यक्रिया भएपछि आमा र बच्चा दुवैको ज्यान जोगियो । सुरुमा त रोकायालाई डाक्टरहरूले अस्पताल ढिला ल्याएकाले बच्चाको आशा छाड्नुस् भनेका थिए । त्यतिबेला उनको ओठतालु सुकेको थियो । रोकायाले सुनाए, ‘हेलिकोप्टरमा ल्याउन सकेकाले बच्चा र आमा दुवैको ज्यान जोगियो भनेर डाक्टरले बधाई दिए ।’

विज्ञापन

जिल्लाभित्र सुविधा सम्पन्न अस्पताल नहुँदा र भएकामा पनि समयमै पुग्न नसकिने भौगोलिक विकटता छ । त्यसैले सुदूरपश्चिमका कैयन् आमाहरू समयमै प्रसूति सेवा नपाएर मृत्युको मुखमा पुग्ने गरेका छन् । मनीषा तिनै आमाहरूकी प्रतिनिधि पात्र मात्रै हुन्, जसको उद्धार हुन सकेकाले ज्यान जोगियो । उनले भनिन्, ‘कालकै मुखबाट बाँचेको महसुस भयो । मर्न लागेकी मान्छे बाँचेकी छु ।’

बैतडीको दुर्गम सिगास–६ लेकमकी धना साउदको कथा पनि फरक छैन । बेथा लागेर नजिकैको लेकम प्रसूति केन्द्रमा पुगेकी उनी अनमी पार्वती बोहराले जाँच गर्दागर्दै सुत्केरी भइन् । बच्चा जन्मेपछि भने लगातार रगत बग्न थाल्यो । प्रसूति केन्द्रको सबै उपचारले रक्तस्राव नरोकिएपछि अनमी बोहराले जिल्ला अस्पताल बैतडीमा सम्पर्क गरिन् । सेनाको हेलिकोप्टर आएर साउदलाई नेपालगन्ज पुर्‍यायो । ज्यानै जोखिममा परेकी उनको तीन घण्टाभित्रै उद्धार भएको अनमी बोहरा सम्झन्छिन् । लगातार बगेको रगतले आँखासम्म खोल्न नसक्ने भएकी साउद नेपालगन्जमा भएको उपचारपछि सञ्चो भएको उनले बताइन् । ‘अवस्था गम्भीर भइसकेको थियो । ब्लडप्रेसर घटिसकेको थियो । धेरै ढिलो भएको भए ज्यानको भर थिएन,’ अनमी बोहराले भनिन् ।

सुत्केरी भएको केही समयपछि आफू बेहोस भएको र केही थाहा नभएको साउदले सुनाइन् । ‘म त कालकै मुखबाट बाँचें नि,’ उनले भनिन्, ‘उता अस्पताल पुगेको धेरैपछि थाहा पाएँ । हेलिकोप्टरबाट उद्धार नभएको भए म बाँच्दैनथें ।’

गत वर्ष भदौमा बैतडी डिलासैनी–७ की २० वर्षीया मञ्जु कार्की पनि सुत्केरी बेथा लागेर नजिकैको हाडाकोट स्वास्थ्यचौकीमा पुगिन् । चौकीमै सुत्केरी गराइएकी उनको साल अड्कियो । ‘हामीले सक्ने जति प्रयास गर्‍यौं,’ स्वास्थ्यचौकी इन्चार्ज वीरेन्द्र बोहराले भने, ‘डाक्टरहरूको सल्लाहमा काम गर्दा पनि सकिएन । सुत्केरीको अवस्था जटिल हुन थालेपछि जिल्ला प्रशासनको समन्वयमा हेलिकोप्टरबाट सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍यायौं ।’ अस्पतालमा साल निकालेपछि उनको ज्यान जोगिएको बोहराले बताए । समयमै उद्धार हुँदा आफू बाँचेको कार्कीको अनुभव छ । ‘महिलाको जिन्दगीको त केही भरै नहुने रहेछ,’ उनले भनिन्, ‘म बाँचेर अहिले बच्चा काखमा खेलाउन पाएकी छु ।’ बाँच्ने आशा मारिसकेको अवस्थामा हेलिकोप्टरबाट गरिएको उद्धारले नयाँ जीवन पाएको अनुभव हुने उनले बताइन् ।

सुदूरपश्चिमका बैतडी, बाजुरा, अछाम, डडेलधुरा, दार्चुला, बझाङ र डोटीमा स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेका र सुत्केरी भएपछि जटिल अवस्था आएका महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । यो काम राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत भएको हो । यसले दुर्गम पहाडी क्षेत्रका धेरै महिला ‘मृत्युको मुखबाट’ जोगिएका छन् । गएका तीन वर्षमा सबैभन्दा बढी बझाङबाट ३३ महिलाको उद्धार गरिएको छ । बाजुराबाट १९, अछामबाट २३, दार्चुलाबाट ३ जना, डोटीबाट २ र बैतडीबाट २ जना महिलाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन् । अर्को पहाडी जिल्ला डडेलधुराबाट भने उद्धार गर्नुपरेको छैन ।

योसँगै सुदूरपश्चिम प्रदेश सरकारले पनि गर्भवती, सुत्केरी र ज्यान जोखिममा परेका बिरामीलाई हवाई उद्धार गर्ने कार्यक्रम राखेको छ । यो कार्यक्रमबाट तीन वर्षमा नौ जनाको उद्धार गरिएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य, शिक्षा अधिकृत हेमराज खड्काले बताए । ‘सुदूरपश्चिमका सबै जिल्लामा यो कार्यक्रम लागू गरिएको छ,’ उनले भने । राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट केही समस्या परेर उद्धार नभएका गर्भवती र सुत्केरीलाई प्रदेशको कार्यक्रमबाट उद्धार गरिएको उनले बताए ।

पहाडी जिल्लामा धेरैजसो बस्तीबाट स्वास्थ्य संस्था पुग्नै घण्टौं लाग्छ । केही पालिकाबाट जिल्ला अस्पताल पुग्न दुई दिनसम्म हिँड्नुपर्ने दूरी छ । स्वास्थ्य उपचारको सुविधा भएको धनगढी, महेन्द्रनगर पुग्न एकदेखि तीन दिनसम्म लाग्छ । त्यसैले विकट क्षेत्रका बासिन्दाका लागि हेलिकोप्टरबाट उद्धार कार्यक्रम प्रभावकारी भएको जिल्ला अस्पताल बाजुराका डा. प्रकाश जोशी बताउँछन् । बिरामी भएकै स्थानबाट उद्धार हुने भएकाले गर्भवती र सुत्केरीलाई हवाई उद्धारले धेरै सजिलो भएको उनले बताए । नजिकैका स्वास्थ्य संस्था वा जिल्ला अस्पतालमा उपचार हुन नसकेका गर्भवती र सुत्केरीलाई हवाई उद्धार गरिएको जिल्ला अस्पताल बझाङका प्रमुख डा. नवराज जोशीले बताए । ‘गर्भवती र सुत्केरीलाई सक्दो छिटो उपचार चाहिन्छ, हवाई उद्धारबाट सुविधायुक्त अस्पतालमा लैजान पाउँदा सजिलो भइरहेको छ,’ उनले भने, ‘हवाई उद्धार भएकै कारण ज्यान बचाउन सकिएको छ ।’ कान्तिपुरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै