होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नागरिकता लिन सात दिन पैदल
समाचार

नागरिकता लिन सात दिन पैदल

सदरमुकाम आउन समस्या भएपछि नाम्खा–६ लिमीका अधिकांश बासिन्दाले उमेर पुगे पनि नागरिकता लिएका छैनन्

  • नागरिक रैबार
नागरिकता लिन सात दिन पैदल

हुम्ला — नाम्खा गाउँपालिका–६ लिमीकी यङ्छो बुटी तामाङ भदौ दोस्रो साता चार दिन लगाएर हुम्ला सदरमुकाम सिमकोट पुगिन् । नागरिकता बनाउनैका लागि जिल्ला सदरमुकाम आएकी उनी घर भने तीन दिन हिँडेर पुगिन् । ‘उताबाट आउँदा चार दिन हिँड्नुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘यहाँबाट गाउँ जाँदा भने तीन दिनमा पुगिन्छ ।’ नागरिकता लिन एक साता पैदल हिँडेकी तामाङको १० हजार रुपैयाँ पनि खर्च भयो ।

उनीमात्र होइन नाम्खा गाउँपालिका–६ लिमीका बासिन्दा नागरिकता बनाउन सदरमुकाम जानुपर्ने भएकाले एक साता पैदल हिँड्न बाध्य छन् । यातायात सुविधा नहुँदा लिमीवासीलाई हिँडेरै सदरमुकाम पुगेर नागरिकता लिनुपर्ने बाध्यता भएको हो । सदरमुकाम सिमकोटदेखि नाम्खा गाउँपालिकासम्म सडकको ट्र्याक खोलिएको भए पनि गाडी चल्दैनन् । आउजाउ गर्न समस्या भए पनि जिल्ला प्रशासन कार्यालयमा एक घण्टामै नागरिकता बनेको तामाङले बताइन् ।

जति दुःख भए पनि लिमीवासीलाई नागरिकता लिन सदरमुकाम आउनुको विकल्प नभएको स्थानीय अगुवा गिरमेत लामाले बताए । ‘अरू सरकारी सेवा गाउँबाटै प्रवाह भए पनि नागरिकता लिन सदरमुकाम नै पुग्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘तर भौगोलिक विकटताका कारण विभिन्न सास्ती भोगेर सदरमुकाम पुग्न बाध्य छौं ।’ उनका अनुसार लिमीमा बर्सेनि झन्डै ७ महिना हिमपातले सदरमुकाम आउजाउ गर्ने बाटो रोकिन्छ । अरू समय हिउँले बाटो रोकिँदा असारदेखि कात्तिकसम्म मात्र सदरमुकाम आउजाउ गर्न सकिने उनले जनाए ।

विज्ञापन

सदरमुकाम आउन समस्या भएपछि लिमीका अधिकांश बासिन्दाले उमेर पुगे पनि नागरिकता लिएका छैनन् । विगत वर्षहरूमा लिमीमा अस्थायी शिविर राखेर नागरिकता वितरण गर्ने गरिए पनि ३ वर्षयता शिविर गएको छैन । कोभिड महामारीका कारण शिविर सञ्चालन गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यो वर्ष लिमीका दुई जनाले मात्र नागरिकता प्रमाणपत्र लिएका सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले बताए । ‘भर्खर लिमीका सेवाग्राही आउन थालेका छन्, नागरिकता लिन आउनेको संख्या यो वर्ष बढ्ने देखिएको छ,’ उनले भने, ‘कोभिडको जोखिम कम भएपछि लिमीमा शिविर राखेर नागरिकता वितरण गर्ने हाम्रो योजना छ ।’

यो वर्ष लिमीबाट राहदानी बनाउन आउनेको संख्या भने शून्य छ । ‘हिल्सा नाका खुलेको भए राहदानी बनाउनेको घुइँचो हुन्थ्यो,’ उनले भने, ‘नाका बन्द भएकाले यो वर्ष सेवाग्राही घटेका हुन् ।’ जिल्ला प्रशासन कार्यालयका अनुसार विगतमा नाम्खा गाउँपालिकाका झन्डै ५ हजार युवा रोजगारीका लागि बर्सेनि चीनका विभिन्न सहरमा जाने गरेका थिए । तर कोभिड महामारीका कारण चीनले नाका बन्द गरेपछि दुई वर्षयता त्यहाँ जाने युवाको संख्या शून्य छ । लिमीका बासिन्दालाई गाउँपालिकाको केन्द्र याल्वाङ पुग्नै पैदल दुई दिन लाग्छ । जाङ, हल्जी र तिल बस्ती गरी लिमीमा डेढ सय घर छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार