होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आत्महत्या गर्नेमा पुरुष धेरै
समाचार

आत्महत्या गर्नेमा पुरुष धेरै

  • नागरिक रैबार
आत्महत्या गर्नेमा पुरुष धेरै

काठमाण्डाै – घटना १. रामेछापको मन्थली नगरपालिका ३ का ३४ वर्षीय सुनबहादुर कार्कीले दुई वर्ष पहिले सिप्रदी ट्रेडिङ कम्पनीबाट किस्तामा पैसा तिर्ने गरी टिप्पर किने ।

लकडाउनमा टिप्पर रामेछापमै थियो । मर्मत गर्नुपर्ने भएपछि जिल्ला प्रशासन कार्यालयबाट पास बनाएर सुनबहादुरले असार ५ गते टिप्पर काठमाण्डौ ल्याए र कम्पनीको ग्यारेजमा राखे ।

असार ७ गते गाडी मर्मत गरे । गाडी मर्मत गर्नेबित्तिकै किस्ता नतिरेको भन्दै सुनबहादुरको गाडी कम्पनीले लियो ।

विज्ञापन

लकडाउनमा किस्ता तिर्न नसक्दा कम्पनीले गाडी लिएपछि सुनबहादुर ठूलो पीडामा परे । यही पीडामा रहेका सुनबहादुरले असार ९ गते बिहान जडीबुटीको तरकारीबजार नजिकै रहेको मनोहरा खोलामा हाम फालेर आत्महत्या गरे ।

घटना २. गएको जेठमा अछामको बयलपाटा अस्पतालले ३२ जना कर्मचारीलाई कामबाट निकाल्यो । लकडाउनको समयमा कामबाट निकालिँदा कामदार चिन्तित बने । यस्तै चिन्तामा रहेका अछामको भागेश्वर गाउँपालिकाका २२ वर्षीय सिद्धार्थ आउजीले जेठ २६ गते आफ्नै शरीरमा पेट्रोल छर्केर आत्महत्या गरे ।

घटना ३. गएको असार ३ गते अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाका देवबहादुर विकले आत्महत्या गरे । नगरपालिकाकाे वडा नम्बर ५ मा रहेको हरि माविमा रहेको क्वरेण्टीनमा बसेका विकले नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरे ।

४३ वर्षीय आउजी गएको जेठ १० गते भारतको पञ्जाबबाट फर्केका थिए ।

लकडाउनयता १ हजार ८ सयले आत्महत्या गरे, पुरुष बढी

प्रहरी प्रधान कार्यालय नक्सालकाअनुसार लकडाउन सुरु भएको चैत ११ गतेदेखि असार २० गतेसम्म एक हजार आठ सय जनाले आत्महत्या गरेका छन् । यस अवधिमा आत्महत्या गर्नेमा सबैभन्दा धेरै पुरुष रहेका छन् । लकडाउनमा एक हजार ३४ पुरुषले आत्महत्या गरेका छन् ।

यसै अवधिमा सात सय ६६ जना महिलाले आत्महत्या गरेका छन् । तीमध्ये एक सय १७ बालिका र ८० जना बालक रहेकाे प्रहरीको तथ्याङ्कले देखाएको छ ।

लकडाउनभन्दा पहिले पनि आत्महत्या गर्नेमा पुरुषको सङ्ख्या नै धेरै रहेको प्रहरीको तथ्याङ्कले देखाउँछ । माघदेखि चैत १० गतेसम्मको तथ्याङ्कअनुसार चार सय ३३ जनाले आत्महत्या गरेका छन् । यसमध्ये दुई सय ४८ जना पुरुष र एक सय ८५ जना महिला छन् ।

आत्महत्या गर्नेमा किन पुरुष धेरै ?

मनोविद् नानी थापा
आत्महत्या गर्नुका पछाडि विभिन्न कारणहरु हुन्छन् । अरु समयभन्दा लकडाउनमा आत्महत्या गर्नेको सङ्ख्या बढेको देखिन्छ । त्यसमा पनि पुरुषको सङ्ख्या धेरै छ । धेरै पुरुषले आफ्नो चिन्ता, पीरबाहिर देखाउन सक्दैनन् । अहिले पनि हाम्रो समाजमा महिलाले घरको काम गर्ने र पुरुषले बाहिरबाट पैसा कमाएर ल्याउनुपर्छ भन्ने मान्यता छ ।

घर धान्न छोराछोरी, श्रीमती, आमाबुवा सबैको आर्थिक भारको जिम्मा पुरुषलाई हुन्छ । अहिले लकडाउनका कारण आयआर्जनको बाटो नै बन्द हुँदा पनि पुरुषले आत्महत्या गरिरहेका छन् ।

लकडाउन नहुँदा कतिपयले भारी बोक्दै परिवारको खर्च धानिरहेका थिए । कतिपयले होटलमा काम गर्दै परिवार पालिरहेका थिए । तर अहिले सबै काम बन्द छ ।

काम बन्द हुँदा पैसा आउने बाटो रोकियो, जसले गर्दा चरम आर्थिक सङ्कट उत्पन्न भयो । आयआर्जनको बाटो बन्द हुँदा र अन्य विकल्प नहुँदा धेरै पुरुष मानसिक समस्यामा जान्छन् र आत्महत्या गर्नसमेत पुग्छन् ।

अर्को कुरा लकडाउनले गर्दा व्यापार, व्यवसाय र कारोबार ठप्प छ । कुनै ठाउँमा धेरै ऋण लिएर व्यापार गरिरहेको र लकडाउनमा कारोबार गर्न नपाउँदा लगानी डुब्छ । अब के गर्ने भन्दै पुरुषआत्तिन्छ र आत्महत्याको बाटो रोज्छ ।

आत्महत्या भनेको शरीरको हत्या हो, आत्माको हैन । यो समस्याको समाधान पनि हैन । कुनै पनि कुराले आफूलाई चिन्ता थपिएको छ, खान मन लाग्दैन, निद्रा लाग्दैन भने यस्ता कुराहरु आफन्तसँग शेयर गर्नुपर्छ । साथीभाइलाई पनि भन्नुपर्छ । यस्ता कुरा कसैलाई नभनेर यत्तिकै बस्ने हो भने मान्छे डिप्रेसनमा पुग्छ र पछि गएर मानसिक रोगको सिकार नै हुन्छ ।

मरेर आफू त समस्याबाट उम्कन सकिएजस्तो लाग्ला तर यसले परिवार, साथीभाइ र आफन्तलाई पछिसम्मको पीडा दिन्छ । समस्यासँग डराउने भाग्ने हैन, यो सँग जुध्नुपर्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार