होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • लद्दाखमा भारत-चीन झडप : २० भारतीय सैनिकको मृत्यु
अन्तर्राष्ट्रिय

लद्दाखमा भारत-चीन झडप : २० भारतीय सैनिकको मृत्यु

चीनतर्फ पनि हताहत भएको अनुमान

  • नागरिक रैबार
लद्दाखमा भारत-चीन झडप : २० भारतीय सैनिकको मृत्यु

नयाँदिल्ली — भारत र चीनबीच एक महिनादेखि कायम तनाव बढेर हिंसात्मक झडपमा परिणत भएको छ । भारतीय र चिनियाँ सेनाबीच सोमबार राति पूर्वी लद्दाखको गलवान उपत्यकामा भएको झडपमा परी भारतीय सेनाका एक जना अधिकृत (कर्णेल) सहित २० जनाको मृत्यु भएको छ ।

दुई देशका सेनाबीचको भिडन्तपछि कश्मीरस्थित बालटालबाट मंगलबार गलवानतर्फ प्रस्थान गर्नुअघि भारतीय सेनाका ट्रक । तस्बिर : रोयटर्स

सुरुमा भारतीय सेनाले झडपमा एक जना कर्णेलसहित ३ जना भारतीय सैनिककाे मृत्यु भएको बताएको थियो । मंगलबार राति भारतीय सेनाले एक वक्तव्यमार्फत झडपमा गम्भीर घाइते भएका अन्य १७ जना सैनिकको मृत्यु भएको जानकारी दिएको हो ।

विज्ञापन

चिनियाँतर्फको क्षति भने यकिन हुन सकेको छैन । भारतीय सञ्चारमाध्यमले भारतीय सुरक्षा स्रोतलाई उद्धृत गर्दै चिनियाँ पक्षबाट ठूलो संख्यामा हताहत भएको उल्लेख गरेका छन् । घटनालाई लिएर भारत र चीन दुवैले एकअर्कालाई दोषारोपण गरेका छन् ।

करिब १४ सय फिटको उचाइमा रहेको लेह–लद्दाख क्षेत्रमा सीमा विवादका कारण दुई छिमेकी आमनेसामने भएका हुन् । एसियाका दुई ठूला आणविक मुलुकबीच यो स्तरको हिंसात्मक झडप विगत ४५ वर्षकै पहिलो हो । यो घटनाले दुई देशबीच युद्ध हुन सक्ने भय पनि सिर्जना गरेको छ ।

चीनले एकतर्फी रूपमा ‘यथास्थितिको अवस्था’ मा परिवर्तन गर्न खोज्दा सोमबार साँझदेखि रातिसम्म हिंसात्मक झडप भएको भारतले जनाएको छ । झडपमा कर्णेलसहित तीन जनाको तत्कालै र गम्भीर घाइते १७ सैनिकको पछि मृत्यु भएको भारतीय सेनाले विज्ञप्तिमार्फत जानकारी दिएको छ । शून्यभन्दा कम तापक्रम र हाई अल्टिच्युडका कारण घाइतेहरूको मृत्यु भएको सेनाले जनाएको छ । ‘माथिल्लो तहमा भएको सहमतिलाई चिनियाँ पक्षले इमानदारीपूर्वक पालना गरिदिएको भए दुवै पक्षमा हताहत हुने गरी भएको झडप रोक्न सकिन्थ्यो,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

चीनले भने भारतीय पक्षले अनधिकृत रूपमा निषेधित क्षेत्रमा प्रवेश गरेर सहमति उल्लंघन गरेकाले झडप भएको दाबी गरेको छ । चिनियाँ सेना पीएलएका पश्चिम क्षेत्र कमान्डका प्रवक्ता झाङ सुइलीले भारतीय सेना गलवन उपत्यकामा ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ (एलएसी) नाघेर सुनियोजित रूपमा उत्तेजक आक्रमणमा ओर्लेकाले भीषण झडप भएको जनाएका छन् । कालापानी क्षेत्रको सीमा विवादलाई लिएर नेपालसँगको सम्बन्धमा तनाव खेपिरहेको भारतको सीमाकै विषयलाई लिएर अर्को छिमेकी चीनसँगको सम्बन्ध पनि तनावपूर्ण बनेको छ ।

दुई देशका सेनाबीचको भिडन्तपछि कश्मीरस्थित बालटालबाट मंगलबार गलवानतर्फ प्रस्थान गर्नुअघि भारतीय सेना । तस्बिर : रोयटर्स

भारत र चीनबीच चार हजार किलोमिटरभन्दा लामो सीमा छ । केही भूभागमा दुई मुलुकबीच दशकौंदेखि विवाद रहँदै आएको छ । सीमालाई नै लिएर सन् १९६२ मा दुई देशबीच युद्धसमेत भएको थियो । करिब आधा दर्जन क्षेत्रमा दुई देशबीच सीमालाई लिएर चर्को विवाद छ । कतिपय भूभाग दुवै देशले आफ्नो दाबी गर्दै आएका छन् । भारतका तर्फबाट संवेदनशील क्षेत्रमा भारतीय सेनाले निगरानी गर्छ भने अन्य ठाउँमा इन्डो तिब्बत बोर्डर पोलिस (आईटीबीपी) ले नै सीमा सुरक्षा हेर्दै आएको छ ।

जम्मु–कश्मीर र लद्दाख क्षेत्रमा सीमालाई लिएर भारतको चीनसँग पनि लामो समयदेखि विवाद रहँदै आएको छ । भारतले चीन नियन्त्रित अक्साई–चीन र पाकिस्तानले चीनलाई दिएको गिलगिट पाकिस्तानको उत्तरी भूभागमा पनि आफ्नो दाबी गर्दै आएको छ । त्यही अक्साई–चीन क्षेत्रको चीन र भारतबीचको विवादास्पद सीमालाई एलएसीबाट छुट्याइएको छ । दुवै मुलुकबाट बेलाबखत एलएसीको उल्लंघन हुँदै आएको छ । यस पटकको विवाद पनि त्यही एलएसीको उल्लंघनलाई लिएर भएको हो । त्यसमा पनि केही महिनायता गलवन उपत्यका, तातो पानी र प्यानगङ ताल क्षेत्रमा तनाव थियो ।

लद्दाखको गल्वान उपत्यका फाइल तस्बिर : सटरस्टक

तनाव बढ्ने क्रमसँगै दुवै मुलुकले त्यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति पनि बढाउँदै लगेका थिए । भारतले भारतीय सेना सँगै आईटीबीपीको ठूलो संख्यालाई लद्दाखको एलएसी क्षेत्रमा पठाएको छ । भारतले चीनको सैन्य उपस्थिति बराबर बनाउन लद्दाखको अतिरिक्त फौजबाहेक पनि जम्मु–कश्मीरबाट पनि थप सैनिक पठाएको थियो । पछिल्लो विवादमा चीनले भारतमाथि आफ्नो भूमिमा अनधिकृत रूपमा प्रवेश गरेको र सीमासम्बन्धी पूर्वाधार निर्माण गरेको आरोप लगाएको छ ।

भारतले भने आफ्ना सैनिक आफ्नैपट्टि रहेको बताएको छ । तर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले विभिन्न स्रोतबाट प्राप्त स्याटेलाइट तस्बिरहरूलाई आधार बनाउँदै दुवै पक्षबाट एलएसीको नजिकै सडक र टेन्ट बनाइरहेको खुलासा गरेका छन् । भारतीय सञ्चारमाध्यमहरूले लद्दाखका तीनवटा स्थानमा दुई देशका सैनिकबीच झडप भएको उल्लेख गरेका थिए । त्यसैगरी सिक्किमको नाकुला क्षेत्रमा पनि दुई देशका सैनिकबीच झडप भएको बताइएको छ । यसअघि विवादका कारण सीमामा खटिएका सैनिकहरूबीच हिंस्रक झडप भएका तस्बिर सार्वजनिक भए पनि त्यसको आधिकारिक पुष्टि भएको थिएन ।

तनाव भए पनि सैनिक र कूटनीतिकस्तरबाट अवस्था सामान्य पार्ने कोसिस भइरहेको थियो । दुवै पक्षबीच औपचारिक र अनौपचारिक संवाद पनि भइरहेका थिए । भारत र चीनबीच सीमामा आइपर्ने तनावसम्बन्धमा छलफल गर्न सैनिक अधिकारीहरूको नेतृत्वमा एउटा विशेष संयन्त्र नै गठन गरिएको छ । पछिल्लो समय पनि उक्त संयन्त्रमार्फत दुई देशका सैनिक अधिकारीहरूबीच छलफल भएको थियो । गएको ६ जुनमा सैनिक अधिकृत तहमा पाँच घण्टा लामो बैठक भएको थियो । उक्त बैठकमा सीमामा तनाव कम गर्न नेतृत्व तहबाट भएको सहमति कार्यान्वयनमा लैजाने समझदारी गरिएको थियो ।

तर सोमबार फेरि अचानक दुई पक्ष आमनेसामने भएका हुन् । यो घटना भने पूर्वी लद्दाखको गलवन उपत्यकाको हो । भारतीय रक्षा स्रोतको भनाइमा कर्णेल सन्तोष बाबु एउटा सानो टुकडीसहित सोमबार साँझ गलवन उपत्यकाको १४ नम्बर बिन्दुमा परिस्थिति अवलोकन गर्न पुगेका बेला चिनियाँ पक्षले घेराउ गरेर आक्रमण गरेको थियो । त्यसपछि सहयोगका लागि भारतीय पक्षबाट थप जवान पुगे र दुई पक्षबीच हिंसात्मक झडप हुन पुगेको हो । स्रोतका अनुसार झडप छ घण्टासम्म चलेको थियो । त्यसक्रममा केही भारतीय सैनिक भीरबाट खसेको बताइएको छ । भारतले चीनतर्फबाट पनि ठूलो संख्यामा हताहत भएको दाबी गरे पनि मंगलबार साँझसम्म यकिन हुन सकेको छैन ।

लद्दाखतर्फ जाँदै गरेको भारतीय सेनाका गाडीहरु तस्बिर : रोयटर्स

घटनाको समीक्षा गर्न मंगलबार दिनभरि नै दिल्लीमा उच्चस्तरीय बैठकहरू चलेका थिए । रक्षा मन्त्री राजनाथ सिंहको अध्यक्षतामा चिफ अफ डिफेन्स स्टाफ विपिन रावत, भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे, प्रमुख सुरक्षा सल्लाहकार अजित डोभलले विभिन्न चरणमा बैठक गरेका हुन् । भारतीय सञ्चारमाध्यमहरूले ती बैठकमा परिस्थितिको समीक्षा गरिएको उल्लेख गरेका छन् । ‘पूर्वी लद्दाख क्षेत्रको सीमा क्षेत्रमा देखिएको तनावलाई मत्थर पार्न भारत र चीनबीच सैनिक र कूटनीतिक तहमा छलफल चलिरहेको छ,’ विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवद्वारा जारी विज्ञप्तिमा भनिएको छ । भारतले सीमा क्षेत्रको विवादलाई वार्ताबाट हल गर्दै शान्ति कायम गर्न सकिनेमा विश्वस्त रहेको समेत जनाएको छ । सँगै भारतको सार्वभौमिकता र भौगोलिक अखण्डताको सुनिश्चित गर्न पनि दृढ प्रतिबद्ध रहेको समेत विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

सन् १९६२ मा दुई मुलुकबीच सीमालाई लिएर युद्ध भएपछि लामो समयसम्म दुई मुलुकबीच सामान्य कूटनीतिक सम्बन्धसमेत थिएन । सन् १९८८ मा भारतका तत्कालीन प्रधानमन्त्री राजीव गान्धीले चीनको भ्रमण गरेर दुई देशबीचको सम्बन्धमा ‘आइस ब्रेक’ गरेका थिए । त्यसपछि यी दुई मुलुक आर्थिक र कूटनीतिक रूपमा नजिकिँदै गए । दुई देशबीचको व्यापार बढेर नब्बे अर्ब डलर नाघिसकेको छ । र, शीर्ष तहको राजनीतिक भेटघाट पनि बाक्लो बन्दै गएको थियो । तर सन् २०१७ मा भुटानको दोक्लम क्षेत्रको त्रिदेशीय विन्दुलाई लिएर दुई देशबीच तनाव सिर्जना भएको थियो । त्यतिबेला दुई देशका सैनिकहरूबीच ७३ दिनसम्म घम्साघम्सी परेको थियो । अन्तत: उच्च राजनीतिक तहमा वार्ता भएपछि स्थिति मत्थर भयो । त्यसयता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वुहान र ममाल्लापुरम अनौपचारिक शिखर वार्तासमेत भइसकेको छ ।

चीन र भारतबीचको हालको तनावलाई भूराजनीतिक द्वन्द्वका रूपमा हेरिएको छ । पछिल्लो समय भारतले अमेरिकालगायत मुलुकहरूसँग हिमचिम बढाउँदै लाँदा चीन असन्तुष्ट बन्दै गएको थियो । आफूलाई घेर्ने उद्देश्यका साथ ल्याइएको इन्डो–प्यासिफिक रणनीतिमा अमेरिकासँगै अस्ट्रेलिया, इन्डोनेसियालगायतसँग नजिकिएकामा चीन भारतसँग पछिल्लो समय असन्तुष्ट रहँदै आएको थियो । त्यसमाथि ५ अगस्ट २०१९ मा जम्मु–कश्मीर र लद्दाखलाई छुट्याएर नयाँ नक्सा सार्वजनिक गरेपछि चीन भारतसँग थप रुष्ट भएको थियो ।

आफ्नो नियन्त्रणमा रहँदै आएको अक्साई–चीनलगायत क्षेत्र नयाँ नक्सामा समावेश गरेको भन्दै चीनले तत्कालै विरोध जनाएको थियो । भारतीय विश्लेषकहरूले चीनले सीमा विवादलाई लिएर बढी आक्रामक रूप लिनुका पछाडि भारतप्रतिका यिनै असन्तुष्टिको नतिजाका रूपमा हेरेका छन् । र, पछिल्लो घटनाक्रमले यी दुई छिमेबीचको अविश्वास थप बढाउने उनीहरूको दाबी छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन
समाचार
विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने वातावरण बनाउन निर्देशन दिएका छन् । व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले कब्जामा लिएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत प्रयोजनका लागि अतिरिक्त मोबाइल ल्याउने वातावरण बनाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ । विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका […]

  • १ year अगाडि