होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हिमालमा पढाइ दुई महिना मात्रै
समाचार

हिमालमा पढाइ दुई महिना मात्रै

कोरोना महामारी र हिमपातले विद्यालय प्रायः बन्द रहे, जिल्लाबाहिर बस्ने अधिकांश शिक्षक आएनन्

  • नागरिक रैबार
हिमालमा पढाइ दुई महिना मात्रै

सुर्खेत‚ मुगु‚ कालीकोट — कहिले कोरोना महामारी त कहिले हिमपात । हिमाली जिल्लामा यो वर्ष मुस्किलले दुई महिना मात्र पढाइ भएको छ । हुम्लाको नाम्खा, मुगुको मुगमकार्मारोङ, डोल्पाको छार्काताङसोङ, डोल्पोबुद्ध र शे-फोक्सुन्डोका अधिकांश विद्यालयका बालबालिकाले खासै पढ्न पाएनन् ।

गत वर्ष र अघिल्लो वर्ष पनि कर्णालीका हिमाली जिल्लामा शैक्षिक अवस्था यस्तै थियो । यहाँ बर्सेनि फागुनबाट शैक्षिक सत्र सुरु हुने भए पनि लगातार पढाइ बिग्रँदै आएको छ । कोरोना महामारीअघिसम्म कात्तिकमै वार्षिक परीक्षा लिइन्थ्यो । त्यसपछि झन्डै २ महिना जाडो बिदा दिएर फागुनमा नयाँ शैक्षिक सत्र सुरु हुन्थ्यो । यो वर्ष असारमा भर्ना लिइए पनि कर्णालीमा भदौबाट पढाइ सुरु भएको थियो । त्यसको एक महिना नबित्दै दसैं–तिहार बिदा भयो भने फेरि एक महिना चलेको पढाइ कोरोना महामारीका कारण ठप्प भयो ।

सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले शिक्षकहरू नआउँदा केही विद्यालयमा पढाइ सुरु हुन नसकेको बताए ।

विज्ञापन

‘नाम्खामा त अधिकांश विद्यालय हिउँले पुरिएका छन्,’ उनले भने, ‘सिमकोटलगायत आसपासका गाउँपालिकामा शिक्षकहरू आउँदै हुनुहुन्छ ।’ उनका अनुसार हुम्लाका अधिकांश सामुदायिक विद्यालयका शिक्षक जिल्लाबाहिरका छन् ।

शिक्षक नआएपछि विद्यार्थीले सदरमुकाममा ट्युसन पढ्न थालेका छन् । ‘स्कुलको पढाइले कोर्स सकिन सम्भव छैन,’ सिमकोटस्थित बालमन्दिर माविका ९ कक्षाका विद्यार्थी कपिल रोकायाले भने, ‘तैपनि जाँच त आइहाल्छ, त्यसै भएर ट्युसन पढ्न परेको छ ।’ उनले कोरोना महामारी र हिमपातका कारण सिकाइमा ठूलो असर परेको उनले बताए । हुम्लामा २ साताअघि बाक्लो हिमपात भएको थियो । अहिले नाम्खालगायत उच्च हिमाली क्षेत्रमा २ फिटसम्म हिउँ जमेको छ । नाम्खाका अधिकांश बस्ती प्राकृतिक सिलबन्दीमा परेको सहायक प्रजिअ राईले बताए । उनका अनुसार लिमी, हिल्सा, यालबाङ, मुचुलगायत बस्तीबाट एक गाउँबाट अर्को गाउँमा जान सक्ने अवस्था छैन ।

हुम्लाजस्तै माथिल्लो डोल्पामा पनि हिउँले अधिकांश विद्यालयको पढाइ सुरु हुन समस्या भएको छ । डोल्पोबुद्धका पेमाछिरिङ लामाले कहिले हिमपात र कहिले कोरोना महामारीका कारण शैक्षिक क्षेत्र डामाडोल भएको बताए । ‘अहिले त बालबालिकाले अघिल्लो कक्षामा पढेका कुरा पनि बिर्सिसके,’ उनले भने, ‘अर्को वर्ष पनि यहाँको शैक्षिक क्यालेन्डर बिग्रिने भयो ।’ उनले वर्षभरि नै पढाउँदा नसकिएको कोर्स १/२ महिनामा सकिन असम्भव हुने बताए । सबैभन्दा बढी एसईई दिने विद्यार्थी मर्कामा परेका छन् ।

मुगुका अधिकांश विद्यालयमा अर्धवार्षिक परीक्षासमेत सञ्चालन हुन सकेको छैन । अहिलेसम्म मुस्किलले ४० प्रतिशत मात्र पढाइ सकिएको मुगुमकार्मारोङ गाउँपालिकास्थित बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक टीकाप्रसाद उपाध्यायले बताए । ‘एक महिनापछि वार्षिक परीक्षा सञ्चालन गर्ने भन्छन्, कसरी कोर्स पूरा गर्ने ?’ उनले भने, ‘विद्यालय खुल्दै र बन्द हुँदै गरेपछि विद्यार्थीले पढेका कुरा बिर्सिएका छन् ।’ उनका अनुसार गाउँपालिकाको मुगु, डोल्फू, कार्ति, किम्री, चितैलगायत स्थानमा भारी हिमपातले गर्दा विद्यालय सञ्चालन गर्नै मुस्किल छ । उनले ती स्थानमा पालिकाले एक महिनाको जाडो बिदा दिएको बताए ।

सुधारिँदै गएको शैक्षिक स्थिति कोरोना र हिमपातले असर पुर्‍याएको कार्मारोङका प्रमुख प्रशासकीय अधिकृत सुवास रावल बताउँछन् । ‘विद्यालय खोल्ने तरखर गर्दागर्दै फेरि हिउँ पर्‍यो,’ उनले भने, ‘अत्यधिक जाडो हुने ठाउँमा एक महिना विद्यालय बन्द गरेका छौं ।’ राम्रोसित पढाइ नबुझेर यो वर्ष पनि विद्यार्थीले वार्षिक परीक्षा दिनुपर्ने अवस्था आएको जिल्ला शिक्षा समन्वय अधिकारी सूर्य खत्रीले बताए । ‘स्थानीय तह गठनपछि सामुदायिक विद्यालयमा केही राम्रा कामको सुरुवात भएको थियो,’ उनले भने, ‘कोरोनाले शैक्षिकस्तर पहिलेकै भन्दा झन् कमजोर बनायो ।’

यो वषै कोर्स सकिन मुस्किल भएपछि कालीकोटको माथिल्लो भेगका विद्यार्थी ट्युसन पढ्न सदरमुकाम मान्मा र सुर्खेत गएका छन् । कालीकोटको तिलागुफा–१ स्थित मालिका माविको कक्षा १० मा २३ जना भर्ना भएका छन् । अहिले विद्यालयमा पठनपाठन सञ्चालन भइरहेको छ । तर कक्षा १० मा एक जना पनि विद्यार्थी आउँदैनन् । ‘चिसो पनि भयो,’ शिक्षक प्रजापति चौलागाईंले भने, ‘सबै विद्यार्थी सुर्खेततिर ट्युसन पढ्न गए ।’

मावि तहका शिक्षकको दरबन्दी नहुँदा पढाइ नहुने भन्दै विद्यार्थी ट्युसन पढ्न सुर्खेत गएका हुन् । कतिपय विद्यार्थी अभिभावकसँग व्यापार गर्न पनि जाने गरेका छन् । कोरोना महामारी नहुँदासम्म हिउँदे बिदा हुने गरेको विद्यालयमा अहिले खुल्ने र बिदा हुने समय तालिका पनि निश्चित छैन । विद्यालयमा यो वर्ष भदौ १३ गतेदेखि पठनपाठन सञ्चालन भएको हो । ‘भदौमा विद्यालय खुले पनि बीचमा दसैंतिहार परेकाले बिदा भयो,’ अर्का शिक्षक वीरबहादुर बुढाले भने, ‘१० कक्षाका विद्यार्थी एसईईको तयारी गर्न बाहिर गएर ट्युसन पढिरहेका छन् ।’

विद्यालयमा विषयगत शिक्षक नभएपछि ऋण सापटी गरेर बालबालिकालाई ट्युसन पढाउन पठाएको अभिभावकको गुनासो छ । ‘विद्यालयमा अप्ठ्यारो विषयको पढाइ नै हुँदैन,’ अभिभावक नरेश बुढाले भने, ‘त्यसैले कर्जा काढेरै भए पनि ट्युसन पढ्न जिल्ला बाहिर पठाउनुपर्छ ।’ अभिभावकका अनुसार कालिका मावि छाप्रे, दुर्गा मावि रतडा, शिवालय मावि चिल्खाया, महादेव मावि फोइलका विद्यालयका विद्यार्थी पनि ट्युसन पढ्न सदरमुकाम मान्म र जिल्लाबाहिर गएका छन् । विद्यालय खुला भए पनि विद्यार्थी नियमितताको समस्या रहेको नगरप्रमुख रतनबहादुर शाहीले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार