होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
समाचार

जहाँ मतदान हुँदैन

बागलुङको तमानखोला–६ मा सधैं सर्वसम्मतिमा जनप्रतिनिधि चयन

  • नागरिक रैबार
जहाँ मतदान हुँदैन

बागलुङ — २०७४ को स्थानीय निर्वाचनमा तमानखोला गाउँपालिका–६ मा निर्वाचन भएन । स्थानीयले भेला बसेर निर्विरोध वडाध्यक्ष र सदस्य चुने । निर्वाचनको दिन उनीहरूले वडा ६ बाट गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि मात्रै मतदान गरे । यसपालि पनि स्थानीय सर्वसम्मत नेतृत्वका लागि छलफल गरिरहेका छन् ।

गएको निर्वाचनमा वडामा कांग्रेसबाट अध्यक्षमा कुलबहादुर छन्त्याल र सदस्यमा लोकबहादुर छन्त्याल, माओवादीबाट थमप्रकाश रसाइली तथा निर्मला विक र एमालेका तर्फबाट मैनदेवी छन्त्याल सदस्यमा निर्विरोध भएका थिए । वडाभित्रको मतभारका आधारमा पद विभाजन गरिएको थियो । त्यसअघि १५ वर्षसम्म जनप्रतिनिधि नहुँदा पनि अध्यक्ष र सदस्य तोकिएको थियो । उनीहरूले त्यति बेला सामाजिक क्षेत्रका काम गर्थे । अध्यक्ष भने कुलबहादुर नै अध्यक्ष थिए । ‘मैले लगातार २० वर्ष काम गरें,’ उनले भने, ‘अब भने मलाई बस्ने मन छैन, नयाँ नेतृत्वका लागि छलफल हुँदै छ ।’

उनले युवालाई नेतृत्वमा ल्याउने तयारी रहेको जानकारी दिए । मिलेर काम गर्दा सफल भएको उनको अनुभव छ ।

विज्ञापन

अहिलेको वडा नं ६ स्थानीय तहको संरचनामा जानुअघि खुंखानी गाविस थियो । २०५४ मा खुंखानीमा कर्मबहादुर छन्त्याल अध्यक्ष र हिरामान विक उपाध्यक्षमा निर्विरोध चुनिएका थिए । २०४९ को स्थानीय निर्वाचनमा पनि जंगबहादुर छन्त्याल अध्यक्ष र हिरामान विक उपाध्यक्षमा सर्वसम्मत छानिएका थिए । ‘बाबुबाजेको पालामा गाउँभेलाबाटै अध्यक्ष/प्रधानपञ्च तोक्ने चलन थियो,’ ५५ वर्षीय कुलबहादुर छन्त्यालले भने, ‘अहिलेसम्म निर्वाचन भएको मलाई थाहा छैन ।’

वडा नं ६ मा नर्जाखानी, भित्रीवन र पात्ले गरी ३ वटा बस्ती छन् । तीनवटै वस्तीमा बर्थिङ सेन्टरसहितको सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिएको छ । वडाकै बजेटमा सामुदायिक स्वास्थ्य इकाइमा महिला स्वास्थ्यकर्मी राखेर उपचार र सेवा प्रवाह भइरहेको स्थानीय थमप्रकाश छन्त्यालले बताए । वडाकै बजेटमा पालिका र भूकम्प पुनर्निर्माण प्राधिकरणको बजेट मिलाएर विद्यालय भवन बनाइएका छन् ।

गाउँमा बालविवाहविरुद्ध अभियान चलेको छ । वडाध्यक्ष कुलबहादुरले कर्मचारीले स्थानीय तह सञ्चालन गरेका आफूहरू सामाजिक क्षेत्रमा बढी केन्द्रित भए पनि पाँच वर्षयता सडक, स्वास्थ्यचौकी, खानेपानी जस्ता विकासका काम गर्न पाएको बताए । ‘अहिले केही रकम वडालाई नै तोकिएर आउँछ, त्यसैले विकास गर्न सम्भव भयो,’ उनले भने, ‘टोलसम्म स्तरीय सडक बनेका छन् ।’

यसअघिका जनप्रतिनिधिले स्वयंसेवा गरेका थिए, अहिले तलब तोकिएको छ । तलबका कारण कतिपयले निर्विरोधको चलन हटाउनुपर्ने धारणा राख्न थालेका छन् । बूढापाकाले भने यो पटक पनि निर्विरोध जनप्रतिनिधि छान्नुपर्नेमा जोड दिइरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार