होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २८, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • मुगु अस्पताल औषधिविहीन
देश/प्रदेश

मुगु अस्पताल औषधिविहीन

  • नागरिक रैबार
मुगु अस्पताल औषधिविहीन

मुगु — मुगुमकार्मारोङ गाउँपालिका–८ माग्रीगाउँकी ८६ वर्षीया छिरिङमिन्डिक तामाङ दुई सातादेखि जिल्ला अस्पतालमा उपचाररत छिन् । कडा ज्वरो आउने, टाउको दुख्ने र बान्ता हुनेलगायत समस्या देखिएपछि एक दिन हिँडेर अस्पताल आएकी उनले आफ्नो उपचारमा लाग्ने सबै औषधि निजी मेडिकलबाट ल्याउनुपरेको छ ।

‘डाक्टरले चेक गर्छन्, अनि औषधि ल्याउन मेडिकल पठाउँछन्,’ उनका पति छेवाङ छेजुम्ले भने, ‘७५ वर्षमाथिका सबै बिरामीको निःशुल्क उपचार हुन्छ भनेर आएको थिएँ, ऋण गरेर श्रीमतीको उपचार गर्नुपरेको छ ।’ उनले पत्नीको उपचारमा अहिलेसम्म १२ हजार रुपैयाँ खर्च भएको बताए ।

गमगढी बजारकी मेदोमफुटिक तामाङले पनि ७७ वर्षीय श्रीमान् फुर्वा तामाङलाई दमको उपचार गराउन जिल्ला अस्पताल ल्याए पनि औषधि मेडिकलबाट किन्नुपर्‍यो । ‘सिटामोलसमेत नपाइने यो अस्पताल नाम मात्रकै छ,’ उनले भनिन्, ‘निःशुल्क औषधि त सरकारको नारामै सीमित रहेछ ।’ उनले तीन दिनमा ४ हजारको औषधि किन्नुपरेको गुनासो गरिन् ।

विज्ञापन

जिल्ला अस्पतालमा अहिले ज्वरो, रुघाखोकी, टाइफाइट, दम, झाडापखालालगायत रोगका बिरामी बढे पनि औषधिको अभाव भएपछि विपन्न बिरामी मर्कामा परेका छन् । पैसा बोकेर आएका बिरामीले मेडिकलबाट औषधि ल्याएर उपचार गर्ने गरेको र रकम नभएकाहरू रोग नै बोकेर घर फर्कनुपरेको स्थानीय युवा गेहेन्द्र मल्लले बताए । अस्पतालमा औषधिको हाहाकार भएपछि चिकित्सक र स्वास्थ्यकर्मीलाई उपचार गर्न समस्या भएको छ । ‘औषधि छैन, कसरी बिरामीको उपचार गर्ने ?,’ जिल्ला अस्पतालका डा. अमिरराज गिरीले भने, ‘यहाँ चेकजाँच गर्छौं, औषधि किन्न कुरुवालाई मेडिकल पठाउने गरेका छौं ।’ अस्पतालले चालु आर्थिक वर्षमा खरिद गरेको सबै औषधि सकिएको उनले बताए । उनका अनुसार अस्पतालमा स्लाइन, जीवनजल, सुईद्वारा दिइने सिटामोल, एम्पिसिलिन, दमरोगका बिरामीका लागि चाहिने आस्थालिन, ब्रोफन, सिट्रोजन, मेट्रोजन, ग्यास्टिक रोगमा प्रयोग हुने एसिलकलगायत औषधि छैनन् ।

दुई महिनादेखि औषधिको अभाव भएको उनले बताए । ‘मौसम परिवर्तनसँगै चिसो बढेपछि विभिन्न रोगका बिरामी बढेका छन्,’ डा. गिरीले भने, ‘तर औषधि नहुँदा बिरामीलाई रित्तो हात फर्काउनुपरेको छ ।’ उनले दैनिक ७० जनासम्म बिरामी उपचारका लागि आइरहेको जानकारी दिए । अस्पतालमा औषधिसँगै जनशक्तिको पनि अभाव छ । एक्सरे शाखामा ३ जनाको दरबन्दी भए पनि स्वास्थ्यकर्मी दिपेश मल्ल मात्र कार्यरत छन् ।

विशेषज्ञ चिकित्सक सिद्धार्थध्वज खाती घर गएपछि शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता छ । चालक नहुँदा अस्पतालको एम्बुलेन्ससमेत थन्किएको छ । त्यस्तै प्रसूतिसेवामा कार्यरत चिकित्सकहरू डबल मल्ल, मीना चौंलागाईं र नहकुल शाहीको अवधि सकिएपछि जटिल प्रकारका गर्भवतीको शल्यक्रियामा समस्या भएको छ । बिरामीको उपचारमा समस्या भएपछि क्षेत्रीय मेडिकल स्टोरबाट औषधि ल्याउन पहल थालिएको जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक ज्ञानसिंह बुढाले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार