होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विज्ञ भन्छन्- संक्रमण घटेजस्तो लागे पनि जोखिम कायमै
समाचार

विज्ञ भन्छन्- संक्रमण घटेजस्तो लागे पनि जोखिम कायमै

  • नागरिक रैबार
विज्ञ भन्छन्- संक्रमण घटेजस्तो लागे पनि जोखिम कायमै

काठमाडौँ — सरकारले जारी निषेधाज्ञा खुकुलो पार्ने मोडालिटी तयार पारिरहँदा कोरोना परीक्षण ह्वात्तै घटेको छ । जसका कारण परीक्षण दर घट्नुका साथै सक्रिय संक्रमितको ग्राफ पनि कम देखिएको छ । तर ग्राफकै आधारमा कोरोना संक्रमणको अवस्था सामान्य बन्दै गएको भन्न नमिल्ने विज्ञ चिकित्सकहरु बताउँछन् ।

पाल्पाको तानसेन नगरपालिकाले मंगलबार टुँडिखेल परिसरमा एन्टिजेन परीक्षणका लागि स्वाब संकलन गर्दै जेठ महिनाको तथ्यांक हेर्दा ७ गते सबैभन्दा धेरै २२ हजार ३५३ पीसीआर परीक्षण भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्यांक केलाउँदा परीक्षण संख्या निरन्तर ओरालो लागेको छ । जेठ १ गते १० हजार ४७१ पीसीआर परीक्षण गरिएकोमा २९ गते (शनिबार) यो संख्या घटेर ८ हजार ५०६ मा सीमित भएको छ ।

सहरी क्षेत्रमा संक्रमण कम देखिए पनि ग्रामीण क्षेत्रमा परीक्षणको दायरा विस्तार नहुँदा र कन्ट्याक्ट ट्रेसिंगसमेत नहुँदा जोखिमपूर्ण अवस्थाउस्तै रहेको विज्ञ बताउँछन् ।

विज्ञापन

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोेजक डा. शेरबहादुर पुनले परीक्षण पहिलेभन्दा कम भएको मानिए पनि यकिनका साथ घटेको भन्न नसकिने बताए । ‘पहिलेझैं अझै पनि बिरामी भए वा परिवारका सदस्य बिरामी भए मात्र परीक्षणका लागि आउने गर्छन् । पहिलेभन्दा साँच्चिकै तीव्र गतिमा सायद संक्रमण नदेखिएको पनि हुन सक्छ,’ उनले भने, ‘संक्रमण घटेजस्तो लागे पनि जोखिम भने कायमै छ भनेर बुझ्नुपर्छ ।’ उनका अनुसार कन्ट्याक्ट ट्रेसिङ नभएकाले संक्रमितको संख्या त्यो भन्दा बढी पनि हुन सक्छ । ‘धेरै जना संक्रमित भइसकेर निको पनि भइसके होला त्यसैले पनि परीक्षण नगराएका होलान्,’ उनले भने ।

डा. पुन हालको अवस्था हेर्दा संक्रमण अझै बढ्न सक्ने सम्भावना कम देखिरहेको बताउँछन् । आगामी हप्ता दिनमा संक्रमण अपेक्षाकृत घट्न सक्ने उनको भनाइ छ । ‘गाउँको अवस्था भन्न सकिन्न तर सहरी क्षेत्रमा भने आगामी हप्ता कम हुनुपर्छ । जति संक्रमित हुनुपर्ने थिए, ती सबै भइसकेका छन् जस्तो लाग्छ । किनकी अहिले मानिसबीच भेटघाट छैन ।’

पहिलो लहरमा पनि केही हप्तासम्म संक्रमणको लहर उक्लिदा पछि ओरालो लागेको थियो । आगामी दिनमा यो भन्दा पनि खराब भेरिएन्ट आयो भने, बेलैमा खोप नपाउने हो भने वा जनस्वास्थ्यको मापदण्ड पालना नगर्ने हो भने अर्को लहर नआउला भन्न नसकिने उनले बताए ।

भाइरोलोजिस्ट डा. लुुना भट्ट निषेधज्ञाले मानिसहरु परीक्षण गराउन नगएकाले परीक्षण कम भएको हुन सक्ने बताउँछिन् । मानिसहरुलाई परीक्षण गराउन प्रोत्साहन गर्नुपर्नेमा उनले जोड दिइन् । ‘साँच्चिकै संक्रमण घटेको हो भने किन भनेर सरकारले खुलाउनुपर्‍यो । जबर्जस्ती संक्रमण दर घट्यो भनेर लुकाउन भएन,’ उनले भने ।

हाल धेरैले खोपको पूरा डोज लगाइसकेका छैनन् । झन् त्यसले जोखिम बढाइरहेको हुन सक्ने विज्ञ बताउँछन् । ‘अहिले डेल्टा भेरिएन्टको भाइरस एकदमै संक्रामक मानिएको छ । हाम्रोमा पनि भित्र–भित्रै म्युटेसन भइरहेको होला । भाइरसले आफूलाई फाइदा हुने हिसाबमा म्युटेसन गर्न सक्छ । यसले त झन् महामारी सिद्धिने होइन झन् बढ्न सक्छ,’ डा. भट्टले भनिन् । राजनीतिक अस्थिरताका कारण पनि तेस्रो लहरसँग जुध्न पूर्वतयारीका लागि विज्ञहरुसँग सल्लाह गरेर अघि बढ्न उनले सुझाव दिइन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले परीक्षण घट्नुमा विभिन्न कारण रहेको बताउँछन् । ‘धेरैजना सामान्य लक्षण भएर परीक्षणमा गएका छैनन् । अर्को, अझै पनि परीक्षण गर्न जाने कुरामा हिच्किचाहट छ,’ उनले भने, ‘पीसीआर मात्रै घट्नुमा एन्टिजेन परीक्षण गाउँगाउँमा पुग्नु पनि हो ।’

तथ्यांक हेर्दा संख्यात्मक हिसाबले धेरै कम भए पनि नियन्त्रणमा आइनहालेको र जोखिमकै अवस्था रहेको उनले बताए । ‘टेस्ट पोजिटिभिटीमा ठाउँ अनुसार भेरिएसन छ । काठमाडौं उपत्यका लगायतमा यो दर घट्दो छ,’ उनी भन्छन्, ‘समुदायमा जहाँ आउटबे्रक भएको छ, एन्टिजेन टेस्ट गर्दा अझै पनि उच्च पोजिटिभ छन् । तर अहिलेको ट्रेन्ड हेर्दा संक्रमणको दोस्रो लहर केही घट्दै छ कि भन्ने देखाइरहेको छ ।’

परीक्षणको संख्या अनुसार संक्रमित देखिने दर (पर्सेन्ट पोजिटिभ रेट, पीपीआर) ५ प्रतिशत भन्दा तल नगएसम्म निषेधाज्ञाका धेरै प्रावधान खुलाइहाल्न नहुने उनले बताए । हाल नेपालको पीपीआर २८ प्रतिशत रहेको छ । उक्त संख्यालाई ५ प्रतिशतमा पुर्‍याउनलाई अझै धेरै मिहिनेत गर्नुपर्ने उनले बताए ।

‘अहिलेको हालतमा धेरै क्षेत्र खोलिहाल्ने अवस्थामा छैनौं । आइसियु र संक्रमित राख्ने वार्डको अवस्था, टेस्ट पोजिटिभिटी र अर्को र्‍यान्डम टेस्ट गर्दा कति संक्रमित पत्ता लागे त्यो पनि हामी हेर्छौँ,’ उनले भने, ‘तथ्यांकलाई हेरेर ठाउँको जोखिम हेर्दै निषेधाज्ञा बारे सीसीएमसीले निर्णय गर्नेछ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार