होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ओलीको नियतमाथि प्रचण्ड–नेपालको आरोप- ‘केपी ओली पहिल्यैदेखि गणतन्त्र र संघीयताविरोधी’
समाचार

ओलीको नियतमाथि प्रचण्ड–नेपालको आरोप- ‘केपी ओली पहिल्यैदेखि गणतन्त्र र संघीयताविरोधी’

  • नागरिक रैबार
ओलीको नियतमाथि प्रचण्ड–नेपालको आरोप- ‘केपी ओली पहिल्यैदेखि गणतन्त्र र संघीयताविरोधी’

नेकपाको प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी ओली पहिल्यैदेखि लोकतान्त्रिक गणतन्त्र र संघीयताविरोधी भएको आरोप लगाएको छ । केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपालको राजनीतिक आन्दोलन र परिवर्तनप्रतिको ओलीको निष्ठामाथि प्रश्न उठाएका हुन् ।

संसद् विघटन गरेको र आफूनिकट मुख्यमन्त्री हटाउन खोजे प्रदेश सरकार पनि भंग गर्ने प्रधानमन्त्री ओलीको चेतावनी आइरहेका वेला विभाजित नेकपाको एउटा समूहका दुई अध्यक्ष र एक वरिष्ठ नेताले ओलीको नियतमाथि प्रश्न उठाएका हुन् । संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध प्रचण्ड–नेपाल नेकपाले राजनीतिक, कानुनी र संवैधानिक रूपमा प्रतिरोध गर्ने निर्णय गरिसकेको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली गणतन्त्र धरापमा पार्ने काममा लागे पनि सर्वोच्च अदालत र निर्वाचन आयोगसँग भने पूर्ण भरोसा रहेको बताए । ‘हामी जतिवेला गणतन्त्रका लागि लड्दै थियौँ, त्यतिवेला गणतन्त्र असम्भव भन्ने प्रधानमन्त्री नै अहिले लोकतान्त्रिक गणतन्त्र धरापमा पार्ने काममा लाग्नुभयो,’ प्रचण्डले भने, ‘तर अदालतप्रति हाम्रो पार्टीको भरोसा छ । अदालतले संविधानको मर्म र भावनाअनुसार प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक छ भन्ने फैसला गर्ने विश्वास लिएको छु ।’

विज्ञापन

प्रतिनिधिसभाको मुद्दा अदालतमा मात्र नभएर जनताको बीचमा र सडकमा पुगेको भन्दै प्रचण्डले पहिलो चरणको आन्दोलनबाट पनि सकारात्मक परिणाम नआए सशक्त आन्दोलनको अर्को घोषणा गर्ने बताए । ‘अदालतमा मात्र होइन, मुद्दा जनताको तहमा पनि गएको छ । सडकमा पनि पुगेको छ । संसद्मा प्रतिनिधित्व गर्ने दलहरूले पनि आन्दोलन घोषणा गरेका छन् । पहिलो चरणको आन्दोलनबाट पनि सकारात्मक परिणाम नआए सशक्त आन्दोलन घोषणा गर्छौँ,’ प्रचण्डले आन्दोलन लम्बिन सक्ने संकेत गरे ।

प्रचण्डले पार्टी एकताका वेला प्रधानमन्त्री ओलीसँग आलोपालो अध्यक्षता र प्रधानमन्त्रीमा सहमति गरे पनि उनको कुरा पत्याएर सहजै छाडिदिँदा उनमा झन् निरंकुश बन्ने र अहंकार पलाउने अवस्था बनेकाले अहिलेको परिस्थिति निम्तिनुमा आफ्नो पनि कमजोरी रहेको स्वीकार गरे । प्रचण्डले अर्का अध्यक्ष नेपालसँग ३५ वर्षदेखि लामो सहकार्य रहेकोले आफूहरू तत्कालीन एमालेसँगको ६बुँदे समझदारी, १२बुँदे दिल्ली समझदारी, शान्तिसम्झौता, गणतन्त्र घोषणा गर्ने ठाउँमा हामी एकै ठाउँमा उभिएकाले सहकार्यमा कुनै समस्या नहुने पनि प्रस्ट्याए । मूलभूत राजनीतिक मुद्दादेखि कार्यशैलीगत प्रश्नमा समेत नेपालसँग राम्रो सहकार्य रहेको प्रचण्डको प्रस्टोक्ति थियो ।

अर्का अध्यक्ष नेपालले पनि प्रधानमन्त्री ओली लोकतान्त्रिक गणतन्त्र र संघीयताविरोधी भएको आरोप लगाए । ‘केपी ओली कम्युनिस्ट विचार, आचरणबाट, कम्युनिस्ट शैलीबाट विचलनको, पतनको बाटोमा हिँड्नुभएको छ । कतै हाम्रो देशमा गोर्भाचोभको जन्म त भइरहेको छैन ? गोर्भाचोभले सोभियत संघलाई, कम्युनिस्ट आन्दोलनलाई सिध्याए । हेर्दै जानुहोला केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलन कुन दिन सिध्याइदिने हो ?’ नेपालले भने, ‘अहिले त उहाँ कमजोर पार्ने अभियानमा जुट्नुभो, कम्युनिस्ट आन्दोलनलाई मात्रै होइन, उहाँलाई गणतन्त्रप्रति पनि कुनै अपनत्वबोध छैन । किनभने उहाँ गणतन्त्रविरोधी मान्छे हो । यहाँ पूर्वएमालेबाट साक्षी जेएन खनाल र अमृत बोहरा नै हुनुहुन्छ ।’ नेपालले ओलीले तत्कालीन एमालेमा गणतन्त्रप्रति फरक मत राखेकोसमेत स्मरण गरे ।

पत्रकार सम्मेलनमा वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीलाई गोमन सापजस्तै इगो राख्ने व्यक्तिका रूपमा चित्रित गरेका थिए । ‘केपी ओली आठौँ महाधिवेशनमा मसँग धेरै मतान्तरले पराजित हुनुभएको थियो । वास्तवमा एउटा इगो बोकेर अरूमाथि बदला लिने भावनाले चल्नुहुँदोरहेछ । पार्टी एकताका क्रममा बनेको एकता संयोजन समितिमा उहाँले मलाई राख्नै चाहनुभएन, पछि वरीयतामा पनि त्यस्तै गर्नुभो, कुनै पनि कम्युनिस्ट त्यसरी चल्नुहुँदैन । तर, उहाँ गोमन सापजस्तो । गोमन सापलाई कसैले हिर्कायो र भाग्यो भने त्यतिवेला उसले देखेको कुरा दिमागमा परेको हुँदोरहेछ अनि कुनै पनि समयमा देखिहाल्यो भने डसिहाल्दोरहेछ । ओलीजी त्यस प्रकारको चरित्र भएको मान्छे हो,’ खनालले भने, ‘तर, हामी कम्युनिस्ट नेता नीति र विधिअनुसार चल्छौँ । तर, उहाँले चाहिँ बेठीक ढंगले वरीयता निर्धारण गरेर बदला लिनुभो ।’ उनले बोक्रा फेरिँदैमा रूख नढल्ने दृष्टान्त प्रस्तुत गर्दै बालुवाटारको केन्द्रीय कमिटी बैठकलाई बोक्रे भेलाको संज्ञासमेत दिए ।

‘संसद् विघटनको अवस्थामा विभाजनका लागि पनि केन्द्रीय कमिटीमा ४० प्रतिशत हुनुपर्छ । तर, उहाँहरूसँग त्यति संख्यै छैन, त्यसैले चोइटिने कुरा हुन सक्छ । रूखका बोक्रा फेरिन सक्छ, तर रूखका बोक्रा फेरिँदैमा रूख ढल्यो भन्न मिल्छ ? मिल्दैन । बालुवाटारमा भेला भएको बोक्रा मात्रै हो । त्यसैले हाम्रो पार्टी एकताबद्ध छ, राष्ट्रव्यापी रूपमा इनट्याक्ट छ । केही मान्छे चोइटिएर गए भने आवश्यकताअनुसार पुनर्गठन गर्छौँ,’ खनालले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार