होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • छवि र शिल्पा झगडाको मुख्य कारण ! शिल्पा आफैले खोलिन् रहस्य
समाचार

छवि र शिल्पा झगडाको मुख्य कारण ! शिल्पा आफैले खोलिन् रहस्य

  • नागरिक रैबार
छवि र शिल्पा झगडाको मुख्य कारण ! शिल्पा आफैले खोलिन्  रहस्य

काठमाडौं। (अभिनेत्री शिल्पा पोखरेल र उनका फिल्म निर्माता श्रीमान छवि ओझाबीच सतहमा आएको विवादको जरो घरेलु हिंसा भनिएको छ। शिल्पाले आफू असुरक्षित भएको भन्दै प्रहरी गुहारेपछि हामीले दुबै पक्षका भनाइ समेटेका थियौं। बिहीबार मात्रै प्रहरीसमक्ष निर्माता ओझाले माफी मागेको समाचार आएको छ। यसैबीच, घटना र यसको सरोफेरोमा रहेर शिल्पा पोखरेलले नेपाल लाइभ सहकर्मी अनिल यादवसँग लामो वृत्तान्त सुनाइन्। बाँकी शिल्पाकै शब्दमा) यो खबर अनिल यादवले नेपाल लाइभका लागि तयार पारेका हुन् ।
असार ८ गते बिहान १० बजेको थियो, म दुईजना साथीसँग ‘कबिर सिंह’ फिल्म हेर्न जान्छु भनेर छवीजीलाई भनिरहेकी थिएँ। त्यो पनि नाइट शो होइन, बिहान ११ बजेको शो फिल्म हेर्न जान्छु भन्ने बित्तिकै उहाँले मलाई सोध्नुभयो, ‘को-को जान लागेको?’ जवाफमा मैले विनिता दिदी र उहाँको मामाको छोरीसँग जान लागेको जानकारी दिएँ। ल, ठिकै छ भन्दै हुनुहुन्थ्यो, त्यतिबेलै उहाँको मोबाइलमा कसैको फोन आयो, एक्कासी अनुहारको रङ बदलियो।

उहाँले फोन काट्नुभयो अनि सोध्नुभयो, ‘तँ नगएको भए कोसँग जान्थ्यो तेरो साथी?’ म गएको भएपनि, नगएको भएपनि ऊ उसको मामाको छोरीसँग जान्थ्यो होला। त्यो तपाईंले सोध्ने कुरै होइन नि भनेर मैले भनेँ। ‘को कोसँग जान्छ भनेर किन सोध्या? बरु तपाईंको प्लान के छ त्यो भन्नु न,’ मैले भनेँ। तपाईं, म र पृथ्वी जाने हो भने जाऔं, म उनीहरुसँग जान्न भनेँ। त्यसपछि उहाँ ‘होइन, भन् न भन्’ भन्दै झर्किन थाल्नुभयो। ‘तँ कोसँग कहाँ जान्छस्, मैले जानकारी त पाउनुपर्‍यो नि!’ भन्न थाल्नुभयो।

त्यो जानकारी त तपाईंलाई छँदैछ नि! ‘फेरि तीन महिनादेखि उहाँले मलाई गाडी नलैजा’ भन्न थाल्नुभएको थियो। त्यसैले बिहान कतै छोड्दिनुपर्‍यो भने उहाँले नै छोड्दिनुहुन्थ्यो, पिकअप पनि उहाँले नै गर्नुहुन्थ्यो। ‘कहाँ जान्छु, के गर्छु त्यो त तपाईंलाई राम्रोसँग थाहा छ’ भनेर भनेँ मैले। त्यसपछि उहाँले एकदमै नराम्रो शब्द बोल्नुभयो। तँ र…, दिउँसै रंगौलिया मनाएर हिड्ने केटी। तँलाई मैले छोडिसकेपछि तँ कहाँ जान्छेस्, जान्छेस् नि! मलाई के थाहा?’ भन्दै नानाथरी बोल्न थाल्नुभयो।

विज्ञापन

यसरी नानाथरी गाली गरेपछि एउटा केटी मान्छेलाई रिस उठ्छ कि उठ्दैन? त्यो शब्दको अर्थ के हो भनेर सोधेँ मैले। ‘तैँले मलाई हेपेको? म तेरो लोग्ने हो, मैले तँलाई जहाँ जान्छेस् भन्छु, त्यहाँ जान्छेस्, जहाँ जान्नस् भन्छु त्यहाँ जान्नस्’ भन्दै झम्टिन थाल्नुभयो। म त दुईजना केटी साथीसँग पो जान लागेको हो त। त्यो पनि तपाईं आफैंले मलाई त्यो ठाउँमा छोड्दिँदै हुनुहुन्छ भने के-को समस्या? तैपनि तपाईंलाई समस्या हुन्छ भने तपाईं पनि हिड्नु न त’ भनेर भनेँ।

मेरो कुरा सुन्नै चाहनुभएन। तैंले मलाई हेपेको? तैले मलाई हेपेको? भन्दै गालामा झ्याम्म झापड हान्नुभयो। मेरो गाला तात्तियो। झननन भयो।। कानमा ठूलो आवाज बज्यो। त्यसपछि म थचक्क चकटीमा बसेँ। मैंले बाहिर ल्याउने भए बिहे गरेकै कुरा ल्याऔं। नत्र यो लभसभको कुरा नगरौँ भनेँ। नत्र म तपाईसँग इन्टरभ्यू नै दिन्न भनेँ। रिलेसनलाई किन बिकाउने भनेर प्रश्न गरेँ।

उहाँले यस्ता शब्दले बोल्नुभयो कि, त्यति गाली त मैले जिन्दगीमा कहिल्यै सुनेको पनि थिइनँ होला। उहाँ त्यतिमै रोकिनुभएन। ‘तैंले मलाई हेपेको? तैले मलाई हेपेको?’ भन्दै सिधै घाँटी निचोर्न आउनुभयो। त्यत्रो मोटो मान्छेले घाँटी थिचेपछि मलाई शरीर चलाउन पनि गाह्रो भयो।

त्यस्तो अवस्थामा चल्ने भनेकै खुट्टा रहेछ। मैले उहाँलाई लात्तले हाल्न बाँध्य भएँ। मार्ला नै जस्तो भयो। डरले थरथर कामेँ। त्यसैले केही नसोचिकन सिधै त्यहाँबाट भागेर सम्झना दिदी (रौनियार)को अफिस स्टारमलमा आइपुगेँ। त्यसदिन विकास दाई (रौनियार) र सम्झना दिदीकोमा नै बसेँ।

मेरो कपडा सबै घरमै छुटेको थियो। त्यसेले भोलिपल्ट विकास दाईले (रौनियार)ले ‘कपडा पनि लिएर आऊ, उसको रिएक्सन पनि हेरौँ न त’ भनेपछि म उहाँसँगै घर गएँ। उहाँले भनेजस्तो झगडाको दिन मलाई विकास दाई लिन आउनुभएको होइन। कपडा लिन गएको दिन उहाँले एक शब्द केही बोल्नुभएन।

उहाँले त्यतिबेला हानेको झापडले मेरो कानको जालीमा प्वाल पर्‍यो। डाक्टरले ‘हियरिङ’मा समस्या हुनसक्छ भनेको छ। साउन्ड चेक गराउन बाँकी छ। भोलि मैँले कान कम सुन्ने हो कि के हो, रिपोर्ट आउन बाँकी छ। अहिले पनि चिसो खाँदा, तातो खाँदा कान एकदमै दुख्छ। मलाई पहिल्यैदेखि उहाँले धेरै कुरामा रोक्दै आउनुभएको थियो। अहिलेको पल्ट त अलि बढी नै भएको कारणले मात्रै म प्रशासनमा जान बाध्य भएकी हुँ।

उहाँबाट मैले यस्तो यातना पहिलोपल्ट भोगेको होइन। बिहे गरेको एक महिनापछि नै उहाँको व्यवहार पूरै परिवर्तन भयो। जतिखेर पनि शंका गर्नुहुन्थ्यो। मलाई कुनै कामको अफर आउँदा छलफलका लागि छविजीकै कान्तिपुर फिल्म एकेडेमीमा बोलाउने गर्थें। त्योभन्दा अघि छविजीकै नमस्ते नेपालमा बोलाउने गर्थें। कतै रेष्टुरेन्टतिर गएर डिल गर्ने गरेको थिइनँ। किनकी मलाई थाहा थियो नि त, उहाँ शंका गर्नुहुन्छ भन्ने।

पछि उहाँले कान्तिपुर फिल्म एकेडेमी मैले बेचिसकेँ, अब त्यहाँ जाने होइन भन्न थाल्नुभयो। त्यसपछि म कहाँ जाने? कान्तिपुर फिल्म एकेडेमीकै छेउमा बुइँगलमा पनि क्याफे थियो। त्यहाँको म्यानेजर र छवीजीको राम्रो मित्रता थियो।

अर्को ठाउँमा जाँदा शंका गर्नुहुन्थ्यो, त्यसैले म त्यही ठाउँमा जान थालेँ। म्यानेजरले नदेखेको बेला पनि म आफैँ ‘सर के छ हालखबर?’ भन्दै बोलाउन जान्थेँ। ताकी भोलि छवीजीले शंका गर्ने बाटो नहोस् भनेर। तर, पनि उहाँले शंका गर्न छाड्नुभएन। बिहे गरेको एक महिनापछि उहाँको कस्तो–कस्तो रुप देखियो। त्यो त मलाई बाहेक कसलाई थाहा होला?

प्रिमियरमा कतै उहाँलाई बोलाएको छैन तर मलाई मात्र बोलाएको हुन्थ्यो भने त्यही झगडा सुरु हुन्थ्यो। ‘म इन्डस्ट्रीको पुरानो फिल्ममेकर तर मलाई नबोलाएर तँलाई मात्रै किन बोलायो? तेरो त्यो फिल्मको निर्माता र डिरेक्टरसँग त्यस्तो के सम्बन्ध छ?’ भन्दै झगडा गर्नुहुन्थ्यो।

उहाँबाहेक अरुको फिल्मको प्रमोसनमा हिड्दा पनि शंका गर्नुहुन्थ्यो। प्रमोसनमा जान्छु भन्दा ‘ए, एक महिनाको सुटिङमा तेरो लभ पर्‍यो त्यो सँग’ भन्दै नमिठो आरोप लाउनुहुन्थ्यो। त्यसैले मलाई डर लाग्थ्यो प्रमोसनमा हिँड्न। उहाँको फिल्मको प्रमोसनमा हिड्दा म खुलेर बोल्न पाउने, हिरोसँग पनि खुलेर बोल्न पाउने। तर अरुको काम गरेको मुभी रिलिज हुन लाग्दा हिड्न नपाउने? सधैँ मै मात्र नराम्रो हुनुपर्ने?

बिहे गर्नुअघिको छवी र बिहे गरेको १ महिनापछि छवीबीच मैले नसोचेको अन्तर पाएँ। त्यो देखेर म त छाँगाबाट खसेजस्तो फिल भयो। बिहेअघि एकदमै माया देखाउनुहुन्थ्यो। अफिसमा जाँदा जहिले पनि रेखा दिदी (थापा)को मात्रै नराम्रो कुरा हुन्थ्यो। जो आउँछ, रेखा दिदीकै नराम्रो कुरा गर्थ्यो। छवीजीलाई सबैले ‘पोजिटिभ’ देखाउँथे।

सबैको कुरा सुन्दा बिचरा छवीजीले यस्तो माया गर्दागर्दै रेखा दिदीले किन छोडेर गएको होला जस्तो फिल हुन्थ्यो। बिचरा यो मान्छे! कसरी बस्छ होला एक्लै, के खान्छ होला, यस्तो बिरामी छ, कसले हेरचाह गर्छ होला? यस्तैयस्तै… भन्ने लाग्न थाल्यो। एकदमै माया जाग्न थाल्यो उहाँप्रति। उहाँको व्यवहार नै त्यस्तो प्रेमिल थियो। तर बिहे गरेको एक महिनापछि उहाँको कस्तो–कस्तो रुप देखियो। त्यो त मलाई बाहेक कसलाई थाहा होला?

सामान्य झापड हान्ने, शंका गर्ने, तथानाम गाली गर्ने त ठिकै थियो। बिहे गरेदेखि तीन वर्षसम्म सहँदै आएकी थिएँ। फेरि आफूले भोगेको यातना बाहिर ल्याउन पनि डर लाग्थ्यो क्या मलाई। मैले यो कुरा बाहिर ल्याएँ भने सबै मिलेर मलाई नै दबाइदिन्छन् होला जस्तो लाग्थ्यो। किनभने उहाँ फिल्म क्षेत्रको पुरानो फिल्ममेकर हुनुहुन्थ्यो। सबैले उहाँकै सपोर्ट गर्छन् होला, सबै मेरै विरुद्ध खनिएलान् भनेर एकदमै डर लाग्थ्यो।

फेरि ‘तँ जहाँ गएपनि मलाई केही फरक पर्दैन। सबै मेरै सपोर्टमा छन्’ भनेर सधैँ भन्ने गर्नुहुन्थ्यो। यसले मेरो मनोबल झनै कमजोर बनाउँथ्यो । तर, कतिन्जेल यसरी बाँच्ने? भित्रभित्रै दबिएर, पीडा लुकाएर कतिन्जेल खुशी हुने? मलाई सबैभन्दा बढी चित्त नबुझेको त, उहाँ चलचित्र विकास बोर्डको सम्मान थाप्न जाँदाखेरी हो।

मलाई धेरैअघिदेखि गरिएको व्यवहार घरेलु हिंसा हो, यस्तो गर्दा कारबाही हुन्छ भन्ने ज्ञान पनि थिएन। कानुन छ, कानुनले मलाई न्याय दिन्छ भन्ने थाहा पाएपछि लाग्यो, ‘यो मान्छे सम्मान थाप्न लायकको हो र?’ भोलि मजस्तै धेरै युवती यसरी प्रताडित हुनुपर्ने हुनसक्छ। त्यसैले म कानुनको शरणमा जानुपर्छ भनेर जिल्ला प्रशासन कार्यालय उजुरी दिन गएँ।

उहाँको दोश्रो श्रीमती गीताञ्जली सुनुवारबारे सबैलाई थाहै छ। उहाँ त पूरै डिप्रेसनमा गएर आत्महत्या गर्न बाध्य हुनुभएको होला। अझ रेखा थापाबारे त थाहा नहुने को होला? उहाँसँग छुटिसकेपछि उहाँबाट पिल्सिएका कुरा रेखा दिदीले बाहिर ल्याउनुभएकै हो। तर, उहाँले छुट्टिनुअघि पिल्सिँदै गरेको अवस्थामै कानुनको शरणमा पुग्नुभएको भए आज मैले यस्तो दुःख पाउँदिनँ थिएँ कि जस्तो लाग्छ।

मैले घटना भएको १५ दिनसम्म किन उजुरी गरिनँ भन्ने प्रश्न पनि आयो। पाँच दिनसम्म त के गर्ने गर्ने भनेर मैले निर्णय लिन सक्ने अवस्थामा नै थिइनँ। यसरी मार्नै आउँछ होला भन्ने त मैंले सोचेकै थिइनँ। माया गर्छु भनेर मेरो ममीड्याडीसँग हात मागेको मान्छेलाई आज मलाई यस्तो गर्दा के भयो होला?

यो कुरा बाहिर ल्याएपछि मिडियाले मलाई सपोर्ट गर्ने हो कि होइन, मेरो कुरा सुन्ने हो कि होइन, म त पूरै डरमा थिएँ। त्यसपछि मैले सबैसँग सल्लाह लिन थालेँ। हस्पिटलमा कान जँचाएको रिपोर्ट देखाउन थालेपछि केही सोसियल वर्करले ‘तिमीले गल्ती गरेको छैनौँ भने तिमीले न्याय पाउँछौ, कानुनले न्याय दिन्छ’ भनेर सल्लाह दिनुभयो।

फेरि उता छविजीले मलाई बारम्बार ‘म आफू अगाडि नदेखिई पछाडिबाट मान्छे ल्याएर म तँलाई मार्छु, मार्छु’ भन्दै आइरहनुभएको थियो। त्यो भनेपछि मलाई शान्ति सुरक्षा चाहिएन त? भोलि मैंले यही फिल्डमा काम गर्नुपर्छ, मलाई गाह्रो हुँदैन त? त्यसैले मैले शान्ति सुरक्षाको माग गर्दै प्रशासन गुहार्न पुगेँ।

मैले यो १५ दिनको बीचमा मलाई फकाउन आउनुहोला कि, माफी माग्नुहोला कि भनेर धेरै पर्खिएँ। तीन वर्षदेखि सहेर सँगै बसेकी थिएँ, त्यसैले अझै पनि आशा थियो। माया त गर्नुहोला जस्तो लागेको थियो तर फकाउन आउनु त परको कुरा, एक कल फोन पनि गर्नुभएन। एकपल्ट कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरी दाईलाई पठाउनुभयो। उहाँले ‘पोलाइट वे’मा तपाईंको फिल्मी करिअर धरापमा पर्न सक्छ है’ भनेर जानुभयो।

त्यसपछि रेखा दिदी (थापा) पनि आउनुभयो मलाई सम्झाउन। ‘सानोतिनो झगडा हो भने मिल्नू’ भन्नुभयो। त्यसपछि मैले उहाँलाई सबै कुरा भनेँ। सबै कुरा भनेपछि उहाँले ‘ओहो, यो मान्छे त नसुध्रिने रैछ, गीतान्जलीको पालादेखि नै लागेको बानी रैछ, अब तिमी जे गर्छौ गर’ भनेर फर्किनुभयो। ‘मेरो स्वर्णिम नेपाल भन्ने संस्था पनि छ। चाहियो भने म मद्दत गर्न सक्छु’ भनेर आँट दिएर जानुभएको थियो मलाई।

धेरैको प्रश्न आउँछ, बिहे गरेको यत्रो वर्ष भइसक्दा पनि किन बाहिर सार्वजनिक नगरेको भन्ने। बिहे गरेको एक महिनापछि नै मैले उहाँको रुप देखिसकेको थिएँ। त्यसपछि मैले उहाँलाई सोधेको थिएँ, ‘हामीले बिहे गरेको कुरा सार्वजनिक गर्दा फिल्ममा केही घाटा हुन्छ कि हुँदैन?’ उहाँले ‘घाटा भइहाल्छ नि, बिहे गरेको थाहा पाएपछि हामी दुबैको करिअर धरापमा पर्न सक्छ, हाम्रो फिल्म पनि नचल्न सक्छ’ भन्नुभयो।

‘हाम्रो लभ परिरहेको छ, त्यही कुरालाई निरन्तरता दिऔं’ भन्नुभयो। मैंले बाहिर ल्याउने भए बिहे गरेकै कुरा ल्याऔं। नत्र यो लभसभको कुरा नगरौँ भनेँ। नत्र म तपाईसँग इन्टरभ्यू नै दिन्न भनेँ। रिलेसनलाई किन बिकाउने भनेर प्रश्न गरेँ। ल्याउने भए सत्य कुरा ल्याऔं। नत्र केही पनि गरौँ भनेँ। उहाँले मान्नुभएन। उहाँ अफेयरको कुरा चलाउँदै जानुभयो। म मिडियाबाट पन्छिन खोजेँ, त्यो विषयमा प्रवेश गर्न चाहिनँ। अन्तिममा केही नलागेपछि एक महिनाअघि मात्रै उहाँले बिहे स्वीकार गर्नुभएको हो।

बिहेअघि उहाँ मलाई ‘म्यूजिक भिडियो नगर्नू’ भन्नुहुन्थ्यो। तर बिहेपछि ‘आफ्नो खर्च जुटाउनका लागि गर्नू’ भन्नुभयो। किनभने उहाँले मलाई एक पैसा पनि खर्च दिनुहुन्नथ्यो। घरको आधा खर्च आफैं व्यहोर्नुपर्थ्यो। मैले म्यूजिक भिडियो नै गरिनँ भने मलाई खान मन लागेको, लाउन मन लागेको कुरा कहाँबाट ल्याउने? समस्या हुन्थ्यो। त्यसैले म आफैं कमाउँथे।

आज (बिहीबार) महानगरीय प्रहरी परिसर टेकुमा भएको छलफलको सुरुवातमा त उहाँले कुटपिट गरेको स्वीकार्नु भएको थिएन। ‘मैले होइन, मैले होइन’ मात्रै भनिरहनुभएको थियो। लामो सोधपुछबीच बीचबीचमा थाहै नपाई कुरा खोल्दै जानुभयो।

घरमा अलिअलि भाँडो त बझिहाल्छ नि। अलिअलि त भइहाल्छ नि। त्यसको लागि त मैले ‘सरी’ भनिसकेँ नि’ भन्न थाल्नुभयो। त्यसपछि डिएसपी सा’बले ‘तपाईले सरी कहाँ भन्नुभयो, मुखले भन्नुस् न’ भन्नुभयो। तैपनि छवीजीले ‘हैन, मैले भनिसकेँ’ भनेर जिद्दी गर्नुभयो। डिएसपी साबले ‘मैले सुनेकै छैन’ भनेपछि अन्त्यमा उहाँ माफी माग्न तयार हुनुभयो।

‘हो, मैले गल्ती गरेँ, म माफी माग्छु, आइन्दा म यस्तो गर्दिनँ, अब घर जानुहुन्छ भने पनि म राम्रैसँग राख्छु, दुःख दिन्न’ भन्नुभयो। त्यसपछि मैले डिएसपी साबलाई भनेँ, ‘म अन्तिम अवस्थामा अब मर्छु भनेपछि यहाँ आएको हो। यो तीन वर्षमा मैंले भोगेको यातना खुलाएर मैले निवेदन दिएको भए उहाँ कन्फर्म जेल पर्नुहुन्थ्यो।

तर, मैले चाहेकै ‘गल्ती गरेको स्वीकार्नुपर्‍यो र माफी माग्नुपर्‍यो’ र आइन्दा मलाई दुःख दिने, दुर्व्यवहार गर्ने, मार्छु भनेर धम्क्याउने काम हुनुभएन भन्नेमात्रै थियो। गल्ती गरेको मान्छेले माफी त माग्नुपर्‍यो नि त? ठूल्ठूला मान्छेलाई फोन गर्न लगाएर पुलिसलाई फकाउन लाएर त कहाँ हुन्छ?

उहाँले मलाई ‘तपाई, तपाई’ भनेर सम्बोधन गर्दा डिएसपी सा’बले त उहाँलाई गाली पनि गर्नुभयो, ‘यहाँ इन्टरभ्यू दिएजसरी कुरा नगर्नुस्, बुढा–बुढी हो, घरमा जसरी बोल्नुहुन्छ, त्यसरी बोल्नुस्। तपाईं त डबल स्टयान्डर्डको मान्छे हुनुहुँदो रहेछ। तपाईंले बीचबीचबाट खुस्काइसक्नुभयो तपाईंले गरेको गल्ती।’ त्यसपछि उहाँ डराउनुभयो। पुलिस भनेको त पुलिस हो नि। उहाँले त ‘पोइन्ट, पोइन्ट’ पक्रिनुभयो। त्यसपछि उहाँले ‘अबदेखि म यस्तो गर्दिनँ’ भनेर लिखित माफी माग्नुभयो।

यत्रो यातना भोगिसके पछि अब फेरि उहाँकै घर गएर म उहाँसँग बस्ने अवस्थामा छैन। उहाँसँग सँगै गएर बस्न मलाई पूरै डर लाग्छ। आज बल्ल मेरो ममी गाउँबाट मकहाँ आइपुग्नुभएको छ। उहाँसँग सल्लाह गर्छु। यसको अझै केही उपचार छ कि? भोलिका दिनमा अरु केटीहरुले दुःख नपाउन् भन्ने छ। मेरो दुःख, रेखा दिदीको दुःख, गिताञ्जली दिदीको दुःख अब फेरि नदोहोरियोस् भन्ने सामाजिक अभियन्ताहरुसँग सल्लाह लिँदैछु।

वकिलसँग पनि सल्लाह गर्छु। त्यसपछि मात्रै यो सम्बन्धलाई कसरी अघि बढाउने भनेर म भन्न सक्छु। हिजो रेखा दिदीहरु चुप लागेर बस्दा आज म पीडित भएँ। अब म पनि बोलिनँ भने भोलि अरु पिडीत हुने अवस्था देखियो। त्यसैले म बोल्न बाध्य भएको हो। रेखा दिदीलाई मैले एकपल्ट भनेको पनि थिएँ, ‘तपाई किन बोल्नुभएन त्यतिखेर।’

झन् उहाँलाई त अनुहारमा एसिड हाल्दिन्छुसम्म भनेको रहेछ। तैपनि उहाँ चुप लागेर बस्नुभयो। मैले रेखा दिदीलाई यो कुरा राख्दा उहाँले ‘हामी छोरी मान्छे हो, भोलि बेइज्जत हुन्छ, भोलि फिल्म इन्डस्ट्रीमा गाह्रो होला’ भन्नुभयो। गल्ती गरेको मान्छेले माफी त माग्नुपर्‍यो नि त? ठूल्ठूला मान्छेलाई फोन गर्न लगाएर पुलिसलाई फकाउन लाएर त कहाँ हुन्छ?

त्यसपछि मैले भनेँ, ‘दिदी हामी यही कारणले पछाडि परेको हो। तपाईंले त्यतिबेलै उजुरी दिएको भए मलाई पर्दैनथ्यो होला यस्तो अवस्था सहन। अब मचाँहि छोड्दिनँ है’ भनेको थिएँ मैले।

मैले उजुरी दिएपछि धेरैजना मकहाँ छवीजीको बचाउ गर्न आउनुभयो। नाम नलिऔं, तर धेरैजना ‘पोलाइट वे’मा ‘तेरो करिअर ड्यामेज’ हुन्छ भनेर डर देखाउन आउनुभयो। फकाईफकाई तर्साएकोजस्तो लाग्यो। मैले सबैलाई ‘करिअर ड्यामेज भए केही छैन, विराटनगरमा मेरो बुबाको बिजनेस छ, त्यही सम्हालेर बसौँला’ भनेर पठाइदिएको थिएँ।

अहिले छवीजी मैंले शिल्पाजीको लागि यस्तो गरेँ, उस्तो गरेँ भन्दै हिडिरहनुभएको रहेछ। मलाई चित्त नुबझेको कुरा चाँहि के भने उहाँले मलाई फिल्ममा ब्रेक दिएको भन्दैमा मैले कुटाई सहँदै आउने? लु मलाई मार्नु भनेर मैंले थापिरहने? मेरो शरीरमा लगानी गरेको हो र? एउटा फिल्ममा ब्रेक दिएको भन्दैमा शरीर नै किनेको ठान्ने?

धेरैले सम्पत्तिको लागि यस्तो गरेको पनि भनिरहेका छन्। सम्पत्तिको लागि यस्तो गरेको भए म किन तीन वर्षसम्म यातना सहेर बस्थेँ, एक वर्ष नपुग्दै डिभोर्स दिन्थेँ होला नि त। तीनटा श्रीमती बिहे गरिसकेको बुढोसँग किन गएको भनेर कमेन्ट गर्नेहरु पनि देखेँ। तर मलाई के थाहा त्यतिबेला उहाँ त्यस्तो हुनुहुन्छ भनेर। मलाई त उहाँ बहुत राम्रो व्यवहार गर्नुहुन्थ्यो। त्यतिबेला उहाँको प्रेम यति माथि थियो कि सायद रेखा दिदी आएर भनेको भए पनि म विश्वास गर्दिनँ थिएँ।

यस्ता छन् छवि ओझाका चार चमत्कार, पढ्नुहोस

फिल्म निर्माता छविराज ओझाको चौथो वैवाहिक जीवन पनि धरापमा परेको छ। यो खबर कृष्ण आचार्यले नेपालखबरमा लेखेका छन् । २०७३ सालमा गुपचुपरुपमा आफैले सिनेमामा भित्र्याएकी नायिका शिल्पा पोखरेलसँग उनले गोप्य रुपमा विवाह गरेका थिए।

लामो समयको प्रेम सम्बन्धपछि वैवाहिक जीवनमा बाँधिएको यो जोडीको सम्बन्धमा एकाएक दरार आउनुको कारण छवि आफैँ हुन्। शिल्पाले आफूमाथि कुटपिट भएको बताउँदै महानगरीय प्रहरी परिसरमा उजुरी दिएकी छन्। उनले छविको कुटाइबाट आफ्नो कानमा चोट लागेको बताइन्।

यो घटना १५ दिन अगाडि भए पनि बुधबार मात्रै सार्वजनिक भएको हो। शिल्पाले श्रीमाले आफूमाथि घरेलु हिंसा गरेका आरोप लगाएकी छन्। शिल्पासँग विवाह गर्नुपूर्व छविले तीन विवाह गरेका थिए। यसअधिका तीन श्रीमतीमध्ये रेखा थापा र हेमाले सम्बन्ध बिच्छेद गरे भने गितान्जली सुनुवारले आत्महत्या नै गरिन्। यसरी हेर्दा छविको पारिवारिक जीवन र श्रीमतीसँग सम्बन्ध खासै सुमधुर रहेको पाइँदैन। हामीले यसै सन्दर्भमा उनको विगत केलाउने प्रयास गरेका छौँः

हेमासँग दूरी बढेपछि…

छवि धरानमा जन्मिएका हुन्। उनले कक्षा ९ सम्म धरानको पब्लिक स्कुलमा पढेँ। भारतको बनारसमा गएर एसएलसी दिए। कुरा २०३५ सालको हो। त्यहाँ उनको हेमासँग भेट भयो। हेमा पनि धरानकै थिइन्। उनीहरुबीच निकटता बढ्दै गयो। यसरी चिनजान भएको ३ वर्षपछि उनीहरुको सम्बन्ध विवाहमा परिणत भयो। यसबीच २ वर्ष जति उनीहरुको प्रेम पनि बसेको थियो। पहिलो विवाह हुँदा छवि १९ वर्षका थिए।

उनीहरुको वैवाहिक जीवन राम्रैसँग बित्दै थियो। दुई छोरासमेत भइसकेका थिए। तर, विवाह भएको १० वर्षपछि उनीहरु छुट्टिए। उनीहरुको सम्बन्ध किन टुट्यो भन्ने आधिकारीक जानकारी कसैलाई छैन। उनीनिकट ब्यक्तिलाई आधार मान्ने हो भने छवि धरानमा छँदै फिल्म वितरकको रुपमा काम गर्थे। पछि काठमाडौं हानिए। बिहे भएको ४ वर्षपछि त उनी काठमाडौंमै रम्न थाले। फिल्म निर्माण (युगदेखि युगसम्म) निर्माण पनि गरे। हेमा भने धरानमै बस्थिन्। यसबीच उनीहरुको सम्बन्धमा खटपट भयो। काठमाडौंमा बसेर सिने दुनियामा रमाएपछि कतै छवि फेरिएर त उनीहरुको घरबार बिग्रिएको होइन? यो प्रश्न अहिले सान्दर्भिक हुन सक्छ।

त्यसपछि दोस्रो बिहे

२९ वर्षको उमेरमा छवि जीवनमा एक्लो भए। उनको फिल्म यात्रा भने रोकिएन। उनले दोस्रो फिल्म ‘नाता’ बनाउने भए। त्यसका लागि उनी नायिकाको खोजीमा थिए। त्यति नै बेला गीताञ्जली सुनुवारसँग भेट भयो। त्यसअघि गीताञ्जलीले अन्याय फिल्ममा ‘साइड रोल’ गरिसकेकी थिइन् । छवि उनीबाट प्रभावित भएर आफ्नो फिल्ममा नायिका बनाउने भए। विस्तारै छविको निकटता आफ्नै फिल्मकी नायिकासँग बढ्दै गयो। उनीहरु प्रेममा परे। लगत्तै बिहे भयो। अर्थात, हेमासँग सम्बन्धबिच्छेद भएको १ वर्षपछि २०५० सालमा उनले दोस्रो बिहे गरे।

उनीनिकटको भनाईलाई आधार मान्ने हो भने अन्तरजातीय विवाह गरेका कारण छवि र गीताञ्जली दुवै तनाबमा थिए। परिवार, आफन्त र समाजले हेर्ने दृष्टिकोण फरक थियो। जसका कारण गीताञ्जली मानसिक रुपमा कमजोर बनेकी थिइन्। यसैबीच छवि मुम्बईमा बस्न थाले। उनको नेपाल आउजाउ पनि कम हुन थाल्यो। यसैबीच यी दुईबीच सम्बन्ध बिग्रदै गयो। गीताञ्जली डिप्रेसनमा परिन्। छवि गीताञ्जली सम्बन्धबिच्छेद गरेपछि पनि उनको आत्महत्याको प्रयासका कारण केही समयसँगै बसेको बताउँछन्। तर, सम्बन्धबिच्छेद भएको हो वा होइन भन्ने एकिन छैन। बरु उनले विवाह भएको ५ वर्षमा आत्महत्या गरिन्। आत्महत्याको कारण पनि रहस्यमै छ। गीताञ्जलीको तर्फबाट एक छोरा छन्।

रेखा थापाको ‘इन्ट्री’

गीताञ्जलीले आत्महत्या गरेको केही समयपछि छविले केही साथीहरुसँग मिलेर नमस्ते नेपाल नामक कम्पनी दर्ता गरे। कम्पनीले पहिलो फिल्म ‘हिरो’ बनाउने भयो। नायिका चाहियो। छविको आँखा रेखा थापामाथि पर्यो। त्यतिबेला एक दैनिक पत्रिकामा छापिएको फोटो हेरेरै छवि रेखालाई फिल्ममा ल्याउन राजी भए। पुरानो बानेश्वरमा भेट भयो। दुवै पक्षबीच फिल्म खेल्ने सहमति जुट्यो। फिल्मको सुटिङ सकिनासाथ उनीहरुको बिहे भयो। कुरा २०५७ सालको हो। जतिबेला रेखा १६ वर्षकी थिइन्। छवि भने ३७ पुगिसकेका थिए।

रेखासँग बिहेको कुरा छविले आफैँ चलाएका थिए। बानोश्वरको एक बेकरी क्याफेमा भेटेर छवि र रेखाका बुबाबीच बिहेको कुरा चल्यो। घरसल्लाहमा उनीहरुको विवाह भयो। त्यतिबेला छविले अभिभावकीय भूमिका निर्वाह गर्ने शर्तमा रेखाको सिउँदो रंगाएका थिए। तर, उनीहरुको सम्बन्ध पनि धेरै लामो समय टिक्न सकेन। सम्बन्ध नटिक्नुमा दुवैले एकअर्कालाई दोषी देखाए। वास्तवमा गल्ती कसको थियो भन्ने यथार्थ प्रमाण भने दुवैले दिन सकेका छैनन्।

स्रोतका अनुसार आफूसँग बिहे गरेपछि छविको अन्य स्त्रीसँगको निकटता रेखालाई मन पर्दैनथ्यो। यसै विषयलाई लिएर धेरै पटक दुवैको तँ–तँ र म–म समेत चलेको थियो। यसरी उनीहरु जसोतसो १२ वर्षसम्म सँगै रहे। तर, त्यसपछि भने बोलचाल र हेराहेरसमेत बन्द भयो। मिडियामा आपसमै जाइलाग्न थाले। उनी शिल्पा पोखरेलसँग नजिक भएपछि रेखासँग २०७३ असारमा सहमतिमै डिभोर्स भयो।

छवि–शिल्पा कनेक्सन

रेखासँग डिभोर्स नहुँदै छवि शिल्पासँग नजिकिएका थिए। सन् २०१७ मा प्रदर्शनमा आएको चलचित्र ‘लज्जा’मार्फत छविले शिल्पालाई सिने क्षेत्रमा डेब्यू गराएका थिए। छविले शिल्पालाई लज्जाको सुटिङ सकिएलगत्तै ‘म तिमीलाई मन पराउँछु’ भनेर भनेका थिए। रोचक कुरा त के छ भने छविले गीताञ्जली, रेखा र शिल्पालाई फिल्ममा डेब्यू गराएर सुटिङका क्रममा निकट भई सुटिङ सकिएपछि प्रेम प्रस्ताव राखेका छन्। यसबाट छविको आँचरण बुझ्न सकिन्छ। जबकी शिल्पाले फिल्म रिलिज हुनुअघि उनलाई आफ्ना पिता सम्मान भनेकी थिइन्।

फिल्म रिलिज भएपछि उनीहरु निकट हुँदै गए। छविकै ब्यानरमा शिल्पाले ‘हवल्दार सुन्तली’, ‘आगो’ र ‘मंगलम्’ फिल्म खेलिन्। उनीहरु नजिकिँदै गए। लिभिङ टुगेदरको चर्चा चल्यो। मिडियामा समाचार बने। कैयौँ पटक छविले फिल्मको प्रमोसनका लागि शिल्पासँगको प्रेम र बिहेको प्रसंग निकाल्दै स्टन्ड गरे। यतिबेलासम्म दुवै एकअर्काको गहिरो प्रेममा परिसकेका थिए।

अहिले बन्द भइसकेको एक साप्ताहिकसँग २०७४ फागुनमा कुरा गर्दै दुवैले प्रेम सम्बन्धलाई स्वीकारेका थिए। शिल्पा छविभन्दा ३० वर्ष कान्छी हुन्।

आफूहरुले छिट्टै बिहे गर्ने बताउँदै शिल्पाले छविबारे भनेकी थिइन्, ‘छविजीले अहिलेसम्म ३ वटी श्रीमतीसँग जीवन बिताइसक्नुभएको छ। उहाँले विगतमा के कारणले श्रीमतीसँग छुट्टिएर बस्नुपर्यो, के कारणले मनमुटाव भयो, आफूले के गल्ती गरेँ, के कारणले श्रीमतीबाट टाढा भएँ भन्ने कुरा राम्रोसँग सोच्नुपर्छ। यसरी उहाँले नकारात्मक पक्षलाई सोचेर सुधार्नुभयो भने उहाँको र मेरो सम्बन्ध दिगो रहन्छ जस्तो लाग्छ।’

छविले पनि भनेकी थिए, ‘मैले यहाँभन्दा पहिला तीनवटी श्रीमतीसँग जीवन बिताएँ तर, तीनै जनासँग राम्रो घरजम हुन सकेन। अब शिल्पाजी र म विवाह बन्धनमा बाँधिदै छौँ। यसका साथै उहाँले मलाई करिब ५ वर्ष त अध्ययन गरिसक्नुभयो। मैले पनि उहाँलाई राम्रोसँग चिनेको छु। भोलिका दिनमा कुनै कमी–कमजोरी भयो भने सुधारेर अघि बढ्छौँ। तर, शिल्पाजीसँग सम्बन्धविच्छेद भने गर्दिनँ।’

शिल्पासँग सम्बन्धविच्छेद नगर्ने वचन दिएका छविले आखिर किन कुटे शिल्पालाई? के छवि श्रीमती सम्हाल्न सक्दैनन् या उनको कुनै कमजोरी छ। कि उनको श्रीमती बनेर आएकाहरुले नै आफ्नो भूमिका निभाउन सकेनन्। यो कुरा एकदिन पक्कै बाहिर आउनेछ।

शिल्पा र छविले प्रहरीसँग गरे यस्तो सहमति, अब के गर्लान ?

अभिनेत्री शिल्पा पोखरेल र छवि ओझाबीच अब झगडा नगर्ने सहमति भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार उनीहरुलाई सहमति गराएको हो।

बिहीबार दुबै पक्षलाई टेकुमा बोलाएर सहमति गराएको परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए। ‘शिल्पा पोखलेरले शान्ति सुरक्षाको माग गर्दै उजुरी दिनु भएको थियो, हामीले दुबै पक्षलाई राखेर सुनुवाइ गर्‍यौं’, प्रवक्ता बोगटीले भने,‘उहाँहरुबीच अब झगडा नगर्ने सहमति भएको छ ।’ सँगै बस्ने र नबस्ने उहाँहरुको व्यतिगत कुरा हो।’

शान्ति सुरक्षाको माग गर्दै शिल्पाले गत सोमबार छविविरुद्ध उजुरी दिएकी थिइन्। गोप्य रुपमा विवाह बन्धनमा बाँधिएका शिल्पा र छविको जोडीको विवाहको विषय गतवर्ष खुलेको थियो। नायिका रेखा थापासँग डिभोर्स भएपछि छवि शिल्पासँग सम्बन्धमा थिए।

शिल्पालाई म्युजिक भिडियोबाट ठूलो पर्दामा प्रवेश गराएका छविले विस्तारै आफ्नै घर भित्र्याएका थिए। विवाहअघि लामो समयसम्म सँगै बसेपनि उनीहरुले सम्बन्धबारे भने खुल्न चाहेका थिएनन्।

निर्माता छवि ओझाविरूद्ध शिल्पाले दिइन् प्रहरीमा उजुरी

निर्माता छविराज ओझाविरूद्ध पत्नी तथा अभिनेत्री शिल्पा पोखरेलले घरेलु हिंसाको उजुरी दिएकी छन्।

शिल्पाले काठमाडौं प्रहरी परिसरमा तीन दिन अगाडि घरेलु हिंसा गरेको उजुरी दिएको प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।

उजुरी परेपछि छलफलका लागि उनीहरू दुबैलाई बुधबार दिउँसो परिसर बोलाइएको छ। अभिनेत्री रेखा थापासँग डिभोर्स गरेपछि निर्माता ओझाले अभिनेत्री पोखरेलसँग २०७३ सालको दसैंमा विवाह गरेका थिए।

विवाह गरे पनि उनीहरूले सो विवाहलाई तत्कालै सार्वजनिक गरेका थिएनन्। गत वर्षमात्र उनीहरूले आफूहरूले विवाह गरेको सार्वजनिक रूपमा स्वीकार गरेका थिए।

उनीहरू निकट स्रोतका अनुसार विगत केही समययता दुवैको वैवाहिक जीवनमा खटपट रहँदै आएको छ। यस विषयमा बुझ्न खोज्दा दुबैको फोन उठेन।

उनीहरूबीच खटपटको विषयमा प्रहरीले घरेलु समस्या रहेको जानकारी दिएको छ। स्रोतकाअनुसार शिल्पाले छविसँग डिभोर्स मागेकी छन्। छविले शिल्पालाई ‘लज्जा’ सिनेमाबाट ब्रेक दिएका थिए। त्यसयता उनले छविको ब्यानरमा ‘मंगलम्’ तथा ‘हवल्दार सुन्तली’मा अभिनय गरेकी थिइन। सिनेमामा आउनु अघि शिल्पा म्यूजिक भिडियोमा चल्तीकी मोडल थिइन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार