


नागरिक रैबार/बाजुरा १६ असार । मालपोत कार्यालय बाजुराका कार्यालय प्रमुख जंगवीर सुनार चार दशकभन्दा लामो सरकारी सेवा पूरा गरी आइतबारदेखि उमेरहदका कारण अनिवार्य अवकाशमा गएका छन्। कार्यालयले आइतबार एक कार्यक्रमका बीच उनलाई सम्मान तथा मायाको चिनो प्रदान गर्दै औपचारिक रूपमा विदाइ गरेको हो।
बाजुराको बुढीनन्दा नगरपालिका–७ (साबिक कोटिला गाविस) स्थायी घर भएका सुनार २०८३ असार १५ गतेदेखि सरकारी सेवाबाट अनिवार्य अवकाशमा गएका हुन्। उनका बुवा कर्थे सुनार र आमा काली सुनार हुन्। पाँच दाजुभाइमध्ये माइला छोरा रहेका उनी २०२५ सालमा जन्मिएका हुन्।
विज्ञापन


सुनारले २०४७ सालमा एसएलसी उत्तीर्ण गरी बझाङस्थित जयपृथ्वी क्याम्पसमा उच्च शिक्षा अध्ययन गरेका थिए। अध्ययनसँगै भविष्यमा सरकारी सेवामार्फत समाज र राष्ट्रको सेवा गर्ने लक्ष्य बोकेका उनले २०४९ सालमा जिल्ला हुलाक कार्यालय बाजुरामा अस्थायी कर्मचारीका रूपमा सरकारी सेवाको यात्रा सुरु गरेका थिए।
सरकारी सेवामा प्रवेश गरेको केही वर्षपछि उनले लोक सेवा आयोग दिपायलबाट लिएको परीक्षामा सफलता हासिल गर्दै २०५४ सालमा मुखिया पदमा स्थायी नियुक्ति पाए। त्यसपछि उनले विभिन्न कार्यालयमा रहेर इमान्दारी, निष्ठा र जिम्मेवारीपूर्वक सेवा प्रदान गर्दै अनुभव बटुलेका थिए।
२०६५ सालमा राजपत्र अनङ्कित प्रथम श्रेणी (नायब सुब्बा) मा बढुवा भएका सुनारले २०६६ सालदेखि जिल्ला हुलाक कार्यालय बाजुराको कार्यालय प्रमुखको जिम्मेवारी सम्हाले। त्यस अवधिमा कार्यालयको सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा नागरिकलाई सहज सेवा उपलब्ध गराउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए।
पछिल्लो समय उनी शाखा अधिकृत पदमा बढुवा भई भूमि प्रशासन मालपोत कार्यालय बाजुराको कार्यालय प्रमुखका रूपमा कार्यरत थिए। सरकारी सेवाको सुरुवात जिल्ला हुलाक कार्यालय बझाङबाट गरेका सुनारले आफ्नो सेवा यात्राको अन्तिम जिम्मेवारी भने भूमि प्रशासन (मालपोत) कार्यालय बाजुराबाट पूरा गरेका हुन्।
सरकारी सेवामा रहँदा उनले विभिन्न सम्मान तथा पुरस्कारसमेत प्राप्त गरेका छन्। २०७० सालमा निजामती सेवा पुरस्कारबाट सम्मानित भएका थिए त्यस्तै, २०७६ सालमा अन्तर्राष्ट्रिय हुलाक दिवसको अवसरमा उत्कृष्ट कार्यसम्पादन गरेवाफत सम्मान तथा पुरस्कार प्राप्त गरेका सुनार २०७७ सालमा नेपाल सरकारकाे जनसेवा श्री पञ्चम विभूषणमा राष्ट्रपतिबाट पनि सम्मानित भएका थिए।
जंगवीर सुनार बाजुरा जिल्लामा दलित समुदायबाट पहिलो पटक सरकारी सेवामा प्रवेश गर्ने कर्मचारी मात्र नभई दलित समुदायबाट पहिलो कार्यालय प्रमुख बन्ने व्यक्तिका रूपमा समेत परिचित छन्। उनले आफ्नो मेहनत, लगनशीलता र इमान्दारितामार्फत पछिल्लो पुस्ताका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्।
उनको पारिवारिक पृष्ठभूमि पनि उत्तिकै प्रेरणादायी छ। उनका परिवारका सदस्यहरू पनि विभिन्न सरकारी सेवामा आबद्ध छन्। जेठी छोरी सुनिता सुनार बडीमालिका नगरपालिकामा अधिकृत छैटौँ तहका रूपमा कार्यरत छिन्। माइलो छोरा सुन्दर सुनार पाँचौँ तहका इन्जिनियर हुन् भने कान्छो छोरा सुनिल सुनार नेपाली सेनामा क्याप्टेन पदमा कार्यरत छन्। सुनारकाे परिवारमा उनिमात्रै नभइ उनकी छाेरी सुनिताका श्रीमान चन्द्रमनी सुनार मालिका नमुना माविका स्थायी शिक्षक छन् । त्यस्तै उनकाे माइलाे छाेरा सुन्दरकी श्रीमति करिष्मा सुनार त्यस्तै स्टाप नर्स हुन् । पारिवारीक पृष्ठभुमि नै सरकारी सेवामा कार्यरत हुनुले सुनार परिवारको शिक्षा, अनुशासन र सार्वजनिक सेवाप्रतिको समर्पणलाई झल्काउँछ।
आइतबार भुमि प्रशासन मालपाेत कार्यालय बाजुराद्वारा आयोजित विदाइ कार्यक्रममा सहकर्मी कर्मचारीहरूले सुनारको इमान्दार, अनुशासित र सेवामुखी कार्यशैलीको प्रशंसा गर्दै उनको आगामी जीवन सुखद, स्वस्थ र सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए। करिब चार दशक लामो सरकारी सेवाबाट अवकाश लिएसँगै जंगवीर सुनारले बाजुरा जिल्लाको सार्वजनिक प्रशासनमा एउटा प्रेरणादायी इतिहास कायम गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु