
वाग्मती नदीको उर्लिंदो बाढीले शुक्रबार राति कीर्तिपुरस्थित सुन्दरीघाटको राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर निमेषभरमै जलमग्न बनाइदियो । लगातारको वर्षाले नदीको बहाब बढेपछि रातको एक बजेतिर होल्डिङ सेन्टरभित्र पानी पस्न सुरु गरेको थियो ।


हेर्दाहेर्दै पानीको सतह माथिसम्म आइपुग्यो, जसका कारण त्यहाँ आश्रय लिइरहेका १५४ जना सुकुमवासीको बिचल्ली भयो । रातको समयमा ज्यान जोगाउनु कि सरसामान निकाल्नु ? सुकुमवासी अन्योलमा रहे । जसको पहुँच जता छ त्यतै फोन गर्न थाले । रातको दुई बज्नै लाग्दा एकाएक होल्डिङ सेन्टरमा रहेका सुकुमवासी राजकुमार माझी सम्पर्कमा आए । आत्तिंदै फोन गरेका उनले पानी घुँडासम्म आइसकेको र यसले आफूहरूको बिजोग भएको बताए । ‘एक–डेढ घण्टादेखि पानी पसेर होल्डिङ सेन्टर डुबेको छ । घुँडाभन्दा माथिसम्म पानी भइसकेको छ ।
हामी त सुतिरहेका थियौं, सबै जलमग्न भएपछि मात्रै थाहा पायौं’, माझीले अनलाइनखबरसँग भनेका थिए, ‘बाढी आउँदैछ भनेर पनि कसैले पहिले नै सचेत गराएर बाहिर निस्किन भनेन । अहिले सुरक्षाकर्मीहरू डुङ्गासहित आएका छन् । हामी अहिले कीर्तिपुरको मुख्य सडकमा निस्किएका छौं ।’ यद्यपि, केही समयमा डुंगासहित प्रहरीको टोली त्यहाँ पुग्यो । सुकुमवासीका छटपटीबीच सुरक्षाकर्मीको संयुक्त टोलीले ५४ जनालाई उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरको स्मृति भवनमा सार्यो । तर, धेरैको बन्दोबस्तीका सामान, अन्नपात र लुगा कपडा बाढीमै डुबे । कतिपय आफन्त कहाँ शरण लिन पुगेका छन् भने कतिपय अहिले पनि सेन्टरकै आसपासमा ओत लागेर बसिरहेका छन् । बाढीले जलमग्न भएको त्यो क्षेत्र अहिले लेदो र हिलाम्मेमा परिणत भएको छ । जताततै हिलो र गन्ध फैलिएको छ । तर पनि आकाश शान्त छैन ।
विज्ञापन


लगातार पानी परिरहेकाले नदी फेरि उर्लेर आउने हो कि भन्ने त्रासमै सुकुमवासी छन् । तर, उपाय के नै छ र ! थापाथली, गैरीगाउँ लगायतका सुकुमवासीबाट जेनतेन जोगाएर ल्याएका सामान फेरी नष्ट भए । त्यसमै पनि केही अझै जोगाउन सकिन्छ कि भनेर उनीहरू प्रयासरत देखिन्छन् । हिलोमा पुरिएका, भिजेका आफ्ना सरसामानहरू खोतलेर निकाल्ने प्रयास गरिरहेका छन् । कोही भने आफ्ना सबै पुरेका सरसामान हेर्दै टोलाएर बसिरहेका छन् । होल्डिङ सेन्टर डुबेसँगै उनीहरू थप अन्योल र चिन्तामा छन् । पहिले राज्यको डोजर र अहिले प्राकृतिक विपत्तिको दोहोरो मारमा परेको भन्दै कतिपय सुकुमवासी आक्रोशित पनि सुनिन्छन् । सरकारले आफूहरूमाथि अपराध गरिरहेको बताउँछन् । मेनुका गुरुङ जस्तो, कीर्तिपुरकै होल्डिङ सेन्टरमा बस्दै आएकी मेनुका गुरुङ गएको रात सम्झँदै भक्कानिन्छिन् । एक बजेतिर पालभित्र पानी पस्न थालेपछि अलिबेर त अन्योल र तनाव नै भयो । तर, केहीबेर पछि ‘केही भाइहरू‘ले डुङ्गा ल्याएर केही सामान बाहिर निकाल्न सकेको उनले बताइन् । तर पनि चिउरा, चामल, बिस्कुट र लुगाफाटा सबै पानीभित्रै नष्ट भएका छन् ।
यतिसम्म कि, भोलिपल्ट बिहान केटाकेटीलाई खुवाउन भनेर जोगाएर राखेको अलिकति भात र तरकारी पनि सुकुलसँगै डुबेको देख्दा उनको मन पोलेको छ । ‘पहिला हामी जहाँ बसेका थियौं, बरु ठिक थियो । तयारीबिना यसरी किन यहाँ ल्यायो । हामीलाई त मारेसरह भइसक्यो,‘ मेनुकाले भनिन्, ‘त्यहाँ बाढीबाट जोगाउन भनेर यहाँ ल्याएको होइन ? खोइ यस्तो बिजोग झेल्नुपरेको छ त ?’ प्रशासनले आफूहरूलाई साविकको बस्तीबाट हटाउँदा प्रहरी र आर्मी लगाएर जबरजस्ती उठाएको, बन्दुक र गोलीगट्ठा देखाएर भत्केको ठाउँ हेर्नसमेत नदिएको मेनुकाको अनुभव छ । डरैडरले गर्दा आफ्नो दुईचार पैसा आउँछ कि भनेर कबाडीलाई बेच्न ठिक्क पारेको सामान समेत उठाउन पाइनन् । अहिले फेरि भएका केही सामान पनि नष्ट भएर बिजोग बनाइदिएको सरकारसँग उनको आक्रोश छ । आफूहरू पनि यही देशको नागरिक भएको र नागरिकता, राष्ट्रिय परिचयपत्र सबै सरकारी नै भएको उल्लेख गर्दै उनी प्रश्न गर्छिन्, ‘हामीले एउटा मान्छे मार्यौँ भने सरकारी कानुन लाग्छ, तर आज हामीलाई यसरी दिनदिनै मारिरहेको छ । यो सरकारलाई के हुन्छ ?’ आफूमात्र होइन, आफूपछिको छोरा, नाति र सिंगो परिवारको बिजोग भयो भन्दै मेनुका भक्कानिन्छिन् । बाँचुन्जेल देश र जनताका लागि राम्रो काम गरेर इतिहासमा नाम कमाउन र गरिबलाई रुवाएर, आँसु र रगतमा डुबाएर नहिँड्न उनी सरकारलाई बिन्ती गर्छिन् ।
हिलाम्मे होल्डिङ सेन्टरको कुनामा टोलाएर बसेकी उनले सरकारसँग सुरक्षित स्थानमा उचित व्यवस्थापन मागेकी छन् । ‘हामीलाई जस्तो व्यवस्थापन गर्छु भनेर ल्याएको थियो, त्यो गर्नुपर्यो । केही गर्न नसक्ने भए किन त्यहाँबाट उठाएको ?,‘ मेनुकाको प्रश्न छ । गीता लामा त्यस्तै, सुकुमवासी गीता लामा पनि तनावमा छिन् । राति पानी पस्दा उनी मस्त निद्रामै थिइन् । जब बिउँझिइन्, सबै बर्बाद भइसकेको थियो । पछि पुलिसहरू आएर उद्धारमा साथ त दिए, तर सरसामान केही पनि निकाल्न पाइनन् । बाढीबाट जोगिन साविकको बस्ती भत्काएर यहाँ ल्याइएका उनी पनि अन्ततः त्यही बाढीको चपेटामा परिन् । अहिले सामान कता छ, मान्छे कताकता छन् – केही अत्तोपत्तो छैन । ओढ्ने र ओछाउने कपडा, जाँतो, चुलो र खाने भाँडाहरू सबै हिलो र पानीले नष्ट बनाइदिएको छ । यो प्राकृतिक विपत्तिबीच गीताको काँधमा सामान जोगाउने मात्र होइन, आफ्ना बिरामी श्रीमान् र सानो बच्चालाई सम्हाल्नुपर्ने जिम्मेवारी छ । डिप्रेसन र अन्य बिरामीको समस्यासँग जुधिरहेका उनका श्रीमान् आफ्नै सुरमा यताउता गरिरहेका छन् । तर, उनलाई खुवाउने दबाई अब छैन । पानीले बिहान औषधिको लागि भनेर राखिएको खाजा र औषधि दुवै नष्ट गरिदियो । अब श्रीमानको औषधि कुन थियो भन्ने ठ्याक्कै भेउ पनि उनलाई छैन । दबाइ किनेको पुर्जा पनि आफूसँग रहेन । ‘बुढा डिप्रेसनमा हुनुहुन्छ, केही गर्न सक्ने अवस्था छैन’, गीताले भनिन्, ‘यस्तो बेला बच्चा स्याहार्नु कि सामान स्याहार्नु ? ज्यान त बच्यो, तर अरू सबै थोक सखाप भयो ।’ श्रीमानका लागि नियमित खुवाउनुपर्ने डिप्रेसनका औषधिहरू अब हिलोबाट निकाल्नसक्ने अवस्था छैन । निकाले पनि केही काम आउँदैन । अब भोलिदेखि ती औषधि कहाँबाट ल्याउने र श्रीमानको स्वास्थ्य कसरी जोगाउने भन्ने चिन्ता उनमा थपिएको छ । ‘गर्मी यस्तो छ, त्रिपालमुनि सहेर बस्नुको विकल्प छैन । त्यसमाथि यो खोला कुन दिन उर्लेर सबै बगाउला भन्ने डर छ ।
अब सरकारले यसबारे किन सोच्दैन म जान्दिनँ’, उनले भनेकी थिइन् । नभन्दै त्यस्तै भयो, अब उनीसँग आफ्नो र परिवारको ज्यानबाहेक केही सकुशल छैन । कमाएर जोड्न पनि थापाथली सुकुमवासी बस्तीबाट विस्थापित भएसँगै काम छुटेको छ । कीर्तिपुरबाट धाउन गाह्रो भएपनि पुरानो साहुले कामबाट छुटाइदिएको थियो । यसले उनी थप चिन्तामा छिन् । होल्डिङ सेन्टरमा बस्दै आएको रस्मिला उप्रेती पनि चिन्तामा छिन् । उनी आफैं बिरामी छिन् । रगतमा इन्फेक्सन भएर औषधि खाइरहेकी छिन् । तर, शुक्रबार राति पसेको बाढीले उनको पनि औषधि बगायो । रातको समयमा बाढी पस्यो उनले औषधिसहितका सामान निकाल्न पाइनन् । त्यस्तै, त्यहीँ रहेका सुकुमवासी राजकुमार माझीको तनाव पनि उस्तै छ । अझ उनको त औषधि खाने समय र सरकारले दिने खान नमिलेर आफ्नै सुरले पकाउँदै खाने गरेका थिए । सोही अनुसार सामानको जोहो गरेका थिए । तर, त्यो पनि गएरातको बाढीले बगाएको छ । अब उनीसँग न खानेकुरा छ, न औषधि । औषधि किनेर खाइहाल्न पनि आर्थिक अवस्था सहज छैन । यसले आफूहरुलाई थप तनाव दिएको उनको अनुभव छ । ‘बरु सिधै मारिदिए हुन्थ्यो । यसरी किन तड्पाइ तड्पाइ सताइरहेको हो थाहा छैन’, विरक्त हुँदै उनले भने, ‘यदि केही तयारी थिएन भने किन यसरी बस्ती भत्काएर बिचल्ली बनाएको ? अब त हुँदाहुँदा २५ हजार लिएर तिमीहरु जाओ भन्छ । पछि व्यवस्थापन गरिदिने रे भन्छ । यस्तो अवस्थामा हामी कहाँ जाऔँ ? हामीलाई कसले पत्याउँछ ?’

फेसबुक प्रतिक्रियाहरु