होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सानो उमेरमै गायनमा लोभलाग्दो सफलता पाउँदै
समाचार

सानो उमेरमै गायनमा लोभलाग्दो सफलता पाउँदै

  • नागरिक रैबार
सानो उमेरमै गायनमा लोभलाग्दो सफलता पाउँदै

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा बालगायक-गायिकाहरुले पनि राम्रै चर्चा पाउने गरेका छन् । यसअघि प्रेम परियार, कमला घिमिरे, अशोक दर्जी लगायतले सानो उमेरमै सांगीतिक क्षेत्रमा राम्रो चर्चा पाइसकेका छन् । यतिबेला पनि केही बालगायक–गायिकाहरुले सांगीतिक क्षेत्रमा राम्रो चर्चा कमाइरहेका छन् ।

त्यसमध्ये कोही रियालिटी शोबाट चर्चामा आएका छन् भने कोही लाइभ दोहोरीका कारण पनि चर्चामा आएका छन् । पछिल्लो समय चर्चामा आएका बालगायक–गायिकामध्येमा पर्छन्, सुप्रिम मल्ल ठकुरी, रुक्सना लिम्बू, पूजा देवकोटा । यतिबेला उनीहरुका एकपछि अर्को गीत सार्वजनिक भइरहेका छन् भने रेकर्डिङमा पनि उनीहरुको व्यस्तता उत्तिकै छ ।

बालगायक सुप्रिम मल्ल आगामी वैशाखमा १० वर्ष पुग्दैछन् । तर उनले यति सानो उमेरदेखि नै सांगीतिक क्षेत्रमा लोभलाग्दो सफलता पाउँदै गएका छन् ।

विज्ञापन

‘बिजुली’, ‘बिछोडको करौंतीले’, ‘ताराबाजी लै छोरा’, ‘देउसी भैलो’जस्ता गीत गाएपछि सुप्रिम ‘द भ्वाइस किड्स नेपाल’मा सहभागी भएका थिए । त्यसपछि भने उनको स्वरको चर्चा निकै चुलियो । उनी ‘भ्वाइस अफ नेपाल’को फाइनलसम्म पुग्न सफल भए ।

त्यसपछि उनलाई लिएर गीत रेकर्ड गराउनेहरु बढे । ‘द भ्वाइस किड्स नेपाल’मा सहभागी भएपछि उनले डेढ दर्जन बढी गीतमा स्वर दिइसकेका छन् । जसमध्ये ‘मेरो बाबा सुपरम्यान’, ‘देउरालीलाई भेटी’, ‘सम्झिराख है साथी’, ‘फोटो सिरानी’जस्ता गीत लोकप्रिय छन् । चर्चित गीत ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ र ‘फोटो फिरिममा’को चाइल्ड भर्सन सुप्रिमको स्वरमा रेकर्ड भइसकेको छ । केही दिनमै यी गीतहरु सार्वजनिक हुने सुप्रिमले जानकारी दिएका छन् ।

लाइभ दोहोरीमा पनि सुप्रिम उत्तिकै व्यस्त छन् । उनले स्वर दिएका गीतभन्दा धेरै संख्यामा लाइभ दोहोरी सार्वजनिक भइसकेका छन् । बाजुरामा जन्मिएका सुप्रिम यतिबेला बाबाआमाका साथ काठमाडौंमा बस्छन् । उनी कक्षा ४ मा अध्ययनरत छन् ।

यता, झापाकी आठ वर्षीया बालगायिका रुक्साना लिम्बू ‘द भ्वाइस किड्स’मा गएपछि चर्चामा आएकी हुन् । ‘भ्वाइस किड्स’को फाइनलसम्म पुगेकी उनको स्वरलाई निकैले मन पराएका थिए । दुई साताअघि प्रमोद खरेलसँगको स्वर र अभिनयमा ‘नोगेन’ बोलको गीतलाई श्रोता–दर्शकले निकै रुचाए । त्यसयता रुक्सानाका ‘उडनु छ’, ‘सेल्फी खिचौं न’, ‘सम्झिराख है साथी’, ‘चोरी भो २’, ‘नाकैमा ढुङ्ग्री’ लगायतका गीत सार्वजनिक भइसकेका छन् । आइतबार मात्रै पनि रुक्सानाको ‘मेरी आमा’ शीर्षकको गीत सार्वजनिक भएको छ । सार्वजनिक हुन बाँकी गीतहरु पनि थुप्रै छन् ।

कैलालीकी पूजा देवकोटाले तीन वर्षअघि पहिलो गीत रेकर्ड गराएकी हुन् । पूजाकै शब्द रहेको ‘न साथमा बाबा छन्’ बोलको गीतमा वसन्त सापकोटाले संगीत दिएका थिए । पहिलो गीत गाएपछि भने अध्ययनलाई निरन्तरता दिएका कारण उनी सांगीतिक क्षेत्रमा देखिइनन् । यसै वर्ष भने उनी लाइभ दोहोरीबाट निकै चर्चामा आइन् ।

लाइभ दोहोरीबाटै चर्चामा आएपछि उनले थुप्रै गीतमा स्वर दिइसकेकी छन् । त्यसमध्ये केही गीत सार्वजनिक हुन बाँकी रहेको उनी बताउँछिन् । केही दिनअघि मात्रै सार्वजनिक उनको स्वर रहेको ‘सराङकोटको डाँडैमा’ले पनि यतिबेला श्रोता-दर्शकको माया पाइरहेको छ ।

लाइभ दोहोरीमा उनको व्यस्तता निकै देखिन्छ । उनले गाएका थुप्रै लाइभ दोहोरीहरुले युट्युबमा राम्रो भ्युज पाएका छन् । १३ वर्षकी पूजा हाल कक्षा ७ मा अध्ययनरत छिन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार