होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • फुटबल
  • विश्वकपमा आजदेखि क्वाटरफाइनल खेल : ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्याण्ड्स भिड्दै
फुटबल

विश्वकपमा आजदेखि क्वाटरफाइनल खेल : ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्याण्ड्स भिड्दै

  • नागरिक रैबार
विश्वकपमा आजदेखि क्वाटरफाइनल खेल : ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्याण्ड्स भिड्दै

दुई दिनको विश्रामपछि कतारमा जारी फिफा विश्वकप २०२२ मा आजदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन् । आज पहिलो र दोस्रो क्वाटरफाइनल खेल हुनेछ ।

पहिलो क्वाटरफाइनल क्रोएसिया र ब्राजिलबीच राति पौने ९ बजे सुरु हुनेछ । यो खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ । यस्तै मध्यराति पौने १ बजे सुरु हुने दोस्रो क्वाटरफाइनलमा नेदरल्याण्ड्स र अर्जेन्टिना आमने-सामने हुनेछन् । यो खेल लुसेल आइकोनिक स्टेडियममा हुनेछ । यी दुई क्वाटरफाइनलका विजेता सेमिफाइनलमा भिड्नेछन् ।

यस्तै अर्जेन्टिना र नेदरल्याण्ड्स बीचको खेल हुँदा विगतलाई सम्झाउनेछ । यी दुई टोली पछिल्लो पटक सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा सेमिफाइनलमा भिडेका थिए । जहाँ अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनल पुगेको थियो ।

विज्ञापन

त्यसपछि २०१८ मा नेदरल्याण्ड्स छनोट नै भएन । अर्जेन्टिना भने अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै बाहिरिएको थियो । पछिल्लो दुई विश्वकपमा अर्जेन्टिनालाई हराउने टिम नै च्याम्पियन बनेको छ ।

हुन त यसपटक विश्वकपको पहिलो खेलमै अर्जेन्टिनालाई स्तब्ध पारेको साउदी अरेबिया समूह चरणबाटै बाहिरिसकेको छ ।

अपराजित छ क्रोएसिया

क्रोएसिया फिफा वरीयतामा १२ औं स्थानमा छ । कतार विश्वकपमा अपराजित रहँदै क्रोएसिया क्वाटरफाइनल पुगेको हो भने ब्राजिल एक खेल पराजित भइसकेको छ ।

यी दुई टोलीबीच अहिलेसम्म चार खेल हुँदा भने ब्राजिल अपराजित छ । ब्राजिलले तीन खेल जित्दा एक खेल बराबरीमा सकिएको थियो । सन् २००२ मा पछिल्लो पटक विश्वकप जितेको ब्राजिल दोस्रो पटक एसियामा विश्वकप हुँदा त्यही इतिहास दोहोर्‍याउने दाउमा छ ।

चार वर्ष अघि रुसमा भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै क्रोएसिया फाइनल पुगेको थियो । तर फ्रान्ससँग पराजित हुँदै उपविजेता बन्यो । यसपटक पनि क्रोएसिया त्यही प्रदर्शनलाई दोहोर्‍याउन चाहन्छ । तर उसको यात्रा भने सहज छैन, कारण क्वाटरफाइनलमै पाँच पटकको विजेता ब्राजिलसँग क्रोएसियाको भेट हुँदैछ ।

कतार विश्वकपमा क्रोएसियाले समूह एफमा एक खेल जितेको थियो भने दुई खेल बराबरी खेल्दै समूह उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो ।

मोरक्को विरुद्ध गोलरहित बराबरी खेल्दै विश्वकप सुरु गरेको क्रोएसियाले क्यानडाविरुद्ध ४-१ को पुनरागमन जित निकालेको थियो भने बेल्जियमविरुद्ध पनि गोलरहित बराबरी खेलेको थियो ।

अन्तिम १६ मा १२० मिनेटको खेल १-१ को बराबरी भएपछि जापानलाई पेनाल्टी सुटआउटमा ३-१ ले हराएर क्रोएसिया क्वाटरफाइनलमा पुगेको हो ।

ब्राजिल : विश्वकपको सदाबहार दाबेदार

फिफा वरीयतामा विश्व नम्बर एक अनि विश्वकपको सदाबहार दाबेदार हो ब्राजिल । हरेक विश्वकपको दाबेदार रहेपनि ब्राजिलले २००२ पछि उपाधि जित्न भने सकेको छैन । चार वर्ष अघि रुसमा क्वाटरफाइनल पुगे पनि बेल्जियमसँग पराजित हुँदै ब्राजिल घर फर्केको थियो ।

पछिल्लो पटक एसियामै भएको विश्वकप जितेको ब्राजिल दोस्रो पटक एसियामा विश्वकप हुँदा उपाधिको पर्खाइलाई अन्त्य गर्न चाहन्छ ।

सन् २००२ मा जापान र दक्षिण कोरियामा भएको विश्वकपमा ब्राजिलले उपाधि जितेको थियो । त्यसपछि ब्राजिल फाइनल पनि पुग्न सकेको छैन । २०१४ मा घरेलु भूमिमै सेमिफाइनल पुगेको ब्राजिल २००६, २०१० र २०१८ मा क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।

नेदरल्याण्ड्स : तीन पटकसम्म विश्वकपको फाइनलमा हार

नेदरल्याण्ड्स फिफा वरीयतामा ८औं स्थानमा छ । तीन पटकसम्म विश्वकपको फाइनल पुगेर पनि उपाधि जित्न नसकेको नेदरल्याण्ड्स ८ वर्षपछि विश्वकपमा फर्कंदै क्वाटरफाइनल पुगेको हो ।

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा सेमिफाइनलसम्म पुगेको नेदरल्याण्ड्स अर्जेन्टिनासँग पराजित भएको थियो ।

आयोजक ब्राजिललाई हराएर नेदरल्याण्ड्स तेस्रो भएको थियो । ८ वर्षपछि क्वाटरफाइनल खेल्न लागेको नेदरल्याण्ड्सको भेट यस पटक पनि अर्जेन्टिनासँग हुँदैछ ।

जारी विश्वकपमा अपराजित चार मध्ये एक टिम हो नेदरल्याण्ड्स । नेदरल्याण्ड्स समूह चरणमा २ जित र १ बराबरी नतिजासहित समूह विजेता बनेको थियो ।

नेदरल्याण्ड्सले समूह चरणमा सेनेगललाई २-० र कतारलाई २-० ले पराजित गरेको थियो भने इक्वेडरसँग १-१ को बराबरी खेलेको थियो । नेदरल्याण्ड्सले अन्तिम १६ मा अमेरिकालाई ३-१ ले हराएको थियो ।

नेदरल्याण्ड्सका कोडी गाक्पोले विश्वकपमा ३ गोल गरिसकेका छन् र सर्वाधिक गोलकर्ताको होडमा छन् ।

अर्जेन्टिना : मेसीको अन्तिम विश्वकप सुखद बनाउने लक्ष्य

अर्जेन्टिना फिफा वरीयतामा तेस्रो स्थानमा छ । पहिलो खेल हारे पनि अर्जेन्टिनाले त्यसपछि लगातार दुई खेल जित्दै समूह ‘बी’ को विजेता बनेर नकआउट चरणमा स्थान बनाएको थियो ।

लिओनल मेसीको सम्भावित अन्तिम विश्वकपको रुपमा रहेको यस संस्करणमा अर्जेन्टिना च्याम्पियन बन्दै ३६ वर्षको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यमा छ ।

अर्जेन्टिना पनि ८ वर्षपछि क्वाटरफाइनल खेल्दैछ । सन् २०१४ मा फाइनल पुगेको अर्जेन्टिना २०१८ को विश्वकपमा अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै बाहिरिएको थियो ।

मेसीको अन्तिम विश्वकपलाई सुखद बनाउने लक्ष्यमा रहेको अर्जेन्टिनाले नेदरल्याण्ड्सविरुद्ध २०१४ को नतिजालाई निरन्तरता दिने लक्ष्य राखेको छ ।

२०१४ मा नेदरल्याण्ड्सलाई सेमिफाइनलमा हराएर अर्जेन्टिना फाइनल पुगेको थियो तर अतिरिक्त समयमा गोल व्यहोर्दै जर्मनीसँग पराजित हुँदा उपाधि नजिक पुगेर पनि टाढिएको थियो ।

यस पटक पहिलो खेलमै साउदी अरेबियाविरुद्ध अप्रत्यासित २-१ को हारपछि अर्जेन्टिना समूह चरणबाटै बाहिरिने हो कि भन्ने खतरा बढेको थियो । तर त्यसपछि मेक्सिको र पोल्याण्डलाई समान २-० को नतिजामा हराएर अर्जेन्टिना समूह विजेता बनेको थियो ।

अन्तिम १६ मा अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ ले हराएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार