होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • २५ वर्षीया सुमिना नगर प्रमुख उम्मेदवार
समाचार

२५ वर्षीया सुमिना नगर प्रमुख उम्मेदवार

  • नागरिक रैबार
२५ वर्षीया सुमिना नगर प्रमुख उम्मेदवार

धनकुटा — भर्खरै उच्च शिक्षा सकेकी २५ वर्षीया सुमिना तामाङ धनकुटा नगरपालिकाको प्रमुखको उम्मेदवार बनेकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले उनलाई उम्मेदवार अघि सारेको हो ।

पढाइपछि जागिर वा रोजगारको खोजीमा जुट्ने अधिकांश युवा पुस्ता भन्दा फरक रोजाइमा छिन् तामाङ । अबको राजनीति युवा पुस्ताले थाम्नु पर्ने भएकोले आफू सक्रिय राजनीतिमा प्रवेश गरेको उनी बताउँछिन् । धनकुटा नगरपालिका १ हिले बजारकी बासिन्दा उनी यसअघि उच्च शिक्षाको लागि चीनमा थिइन् ।

पढाइ सकेर फर्किएपछि पुस्तौनी रुपमा राजनीतिमा लाग्दै आएको परिवारको बाटोलाई आफूले रोजेको बताइन् । निर्वाचनमा उम्मेदवार नै बन्ने उनको परिवारमा उनी तेस्रो पुस्ताकी हुन् । यसअघि उनका हजुरबुवा जीतबहादुर २०४५ सालको निर्वाचनमा तत्कालीन धनकुटा नगरपञ्चायत सदस्य बनेका थिए ।

विज्ञापन

यस्तै, २०६३ सालमा बाबु रत्नबहादुर धनकुटा नगरपालिकाका उपप्रमुख बनेका थिए । आमा ताराकुमारी राप्रपाबाटै यसअघिको स्थानीय तह निर्वाचन २०७४ मा उपप्रमुखको उम्मेदवार बनेकी थिइन् । बाबुआमा उम्मेदवार बन्दा सक्रिय रुपमा भोट माग्दै गाउँबस्ती पुग्दा नै पार्टी राजनीतिमा चाहना जागेकोले त्यही रहरले यति बेला सार्थकता पाएको उनले बताइन् ।

आफ्नो उपस्थितिलाई युवा पुस्ताको समग्र प्रतिनिधित्व रहेको उनको ठम्याइ छ । ‘हारजित स्वभाविक हो, तर राजेन्द्र लिङ्देन नेतृत्वको पार्टीबाट मेयरको उम्मेदवार बन्न पाउँदा गौरव लागेको छ’ उनले भनिन्, ‘पार्टी राजनीतिमा सक्रिय बन्दै सिक्दै अगाडि बढ्ने छु ।’ उनका बुवा रत्नबहादुरले छोरीको उत्साहा देखेर खुसी लागेको बताए । ‘कम उमेर मै प्रमुख पदको उम्मेदवार बन्ने मौका पाएकी छोरीको उत्साहले निकै खुसी मिलेको छ’, उनले भने, ‘भविष्यमा निखारपन अवश्य आउने विश्वास छ।’

शाही शासनकालको निर्वाचनमा रत्नबहादुर उपप्रमुखमा विजयी भएका थिए । नगर प्रमुखमा उम्मेद्वार बन्ने कम उमेरकामध्ये सुमिना पनि एक रहेको जिल्ला निर्वाचन सुचना अधिकारी जयराम श्रेष्ठ बताउँछन् । उनले भने, ‘प्रमुख पदमा उम्मेद्वार बन्ने कान्छी उमेरकामध्ये तामाङ् पनि हुन् ।’

सुमिना आफूले महिलासँगै जनजाति र युवा पुस्ताको पनि प्रतिनिधित्व गर्ने बताउँछिन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार