होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • उम्मेदवार घरदैलोमा, किसान खेतमा
समाज

उम्मेदवार घरदैलोमा, किसान खेतमा

‘आफू व्यस्त भएकाले होला, चुनाव आएजस्तो पनि लाग्दैन’

  • नागरिक रैबार
उम्मेदवार घरदैलोमा, किसान खेतमा

बाजुरा — खेत गह्रामा गहुँ पाकेर पहेंलपुर भएका छन् । कतिले भित्र्याइसके, कतिको बाँकी छ । भित्र्याउन बाँकी परिवारलाई हरेक दिन बदली भइरहने मौसमसँगै असिनाले बर्बाद पार्ने झर्कोले सताइरहेको छ । यता, स्थानीय निर्वाचन आउन ११ दिन दिनमात्रै बाँकी रहेकाले उम्मेदवारहरू घरदैलो अभियानमा जुटिसकेका छन् । तर, किसानहरूलाई भने चुनाव र उम्मेदवारहरूको घरदैलोमा त्यति धेरै वास्ता छैन ।

‘उम्मेदवारहरू घरदैलो भन्दै भोट माग्न आइरहेका छन् । तर हामीलाई गहुँ चुटेर भित्र्याउनै ठिक्क छ,’ बुढीगंगा नगरपालिका ७ झालीका रमेश सार्कीले भने, ‘मौसम पनि ठीक छैन । असिना पर्‍यो भने बर्बाद हुन्छ ।’ आफूहरूलाई चुनावको खासै वास्ता नभएको उनको भनाइ् छ । गहुँ भित्र्याइसकेका परिवारलाई मकै, धान, कोदो छर्ने चटारो पनि सुरु भइसकेको छ । हल्का वर्षा भए पनि किसानहरूलाई धान, मकै छर्ने मौका भएको छ । ‘आफू व्यस्त भएकाले होला, चुनाव आएजस्तो पनि लाग्दैन,’ झालीकै अर्का किसान धर्म कटुवालले भने ।

दलहरूलाई आन्तरिक चुनौती

विज्ञापन

समयमै उम्मेदवार छनोट गर्न नसकेका बाजुराका प्रायः सबै दल र तिनका उम्मेदवारहरू आफूहरूसँग धेरै समय नभएको बताइरहेका छन् । एकातिर अधिकांश उम्मेदवारहरूलाई आफ्नै दलभित्रको आन्तरिक असन्तुष्टि व्यवस्थापन गर्नुपर्ने चुनौती छ । अर्कोतिर जित हात पार्नका लागि मतदाताको विश्वास जित्नै पर्ने भएकाले घरदैलो गर्नेपर्ने बाध्यता छ । बाजुरामा बुढीगंगा नगरपालिका स्थानीय निर्वाचनका क्रममा चर्चाको केन्द्र र धेरैको चासो भएको पालिकामध्ये मुख्य हो । बुढीगंगामा धेरैको चासो हुनुका पछाडिका कारणहरूमध्ये बाजुराका अधिकांश केन्द्रिय नेताहरू यही नगरका मतदाता हुन् । हाल प्रदेश प्रमुखसमेत रहेका कांग्रेसका नेता देवराज जोशी, एमाले स्थायी कमिटीका सदस्य एवं पूर्वमन्त्री कर्ण थापा, एमाले केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य लालबहादुर थापा र एमाले केन्द्रीय सदस्य एवं प्रदेश सरकारका पूर्वमन्त्री प्रकाशबहादुर शाह बुढीगंगा नगरपालिकाकै मतदाता हुन् । गत स्थानीय निर्वाचनमा झिनो मतान्तरले कांग्रेसले जितेको यस पालिकामा यसपालि जित फर्काउने दाउमा छन् एमाले नेताहरू । तर कांग्रेस भने आफू जित्नेमा ढुक्क छ ।

कांग्रेस र एमालेकै बीचमा मुख्य प्रतिस्पर्धा रहेको बुढीगंगामा दुवै दलभित्र टिकट वितरणको विषयलाई लिएर आन्तरिक असन्तुष्टिहरू पैदा भएका सम्बद्ध दलका कार्यकर्ताहरू बताउँछन् । कांग्रेसबाट प्रमुख पदमा पूर्वशिक्षक रंगबहादुर खातीले टिकट पाएका छन् । एमालेले गत निर्वाचनमा पराजित उम्मेदवार रामबहादुर बानियाँलाई टिकट दिएर मैदानमा उतारेको छ । कांग्रेसका एक कार्यकर्ताका अनुसार खातीको नाम जिल्ला कार्यसमितिबाट सिफारिसमै परेको थिएन । तर केन्द्रको दबाबमा रातारात उनको नाममा टिकट आएपछि आन्तरिक असन्तुष्टि चुलिएको थियो । कांग्रेसका अर्का एक कार्यकर्ताका अनुसार सुरुको दिनमा व्यापक असन्तुष्टि देखिएको भए पनि बिस्तारै मत्थर हुँदै गएको छ ।

एमाले उम्मेदवार छनोटका क्रममा पनि कांग्रेसजस्तै असन्तुष्टि पैदा भएको एमाले कार्यर्ताहरू बताउँछन् । जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रिय नेताहरू बुढीगंगाको टिकट वितरणमा अन्तिमसम्म एक मत हुन सकेका थिएनन् । अन्त्यमा अन्य आकांक्षीलाई उछिन्दै बानियाँले टिकट पाएका हुन् ।

नगर प्रमुखको टिकट वितरणमा न्यायिक नभएकोमा मात्रै हैन, वडा तहको टिकट वितरणमा पनि अन्याय भएको भन्दै दलभित्र असन्तुष्टि छ । हालसम्मको अवस्थामा टिकटका आकांक्षीहरू अत्यधिक रुष्ट देखिएका छन् । उनीहरू पार्टीले कार्यकर्तामाथि न्यायको नजरभन्दा नातागोता र पैसामा ध्यान दिएको आरोप लगाइरहेका देखिन्छन् । ‘सबै दलभित्र चरम असन्तुष्टि छ,’ कांग्रेसका एक कार्यकर्ताले भने ‘चुनावसम्म सकभर असन्तुष्टिहरू सामसुम हुन्छ होला ।’ कान्तिपुरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार