होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • ट्रेण्डिङ नबुझ्ने गायक पुष्पन
मनोरञ्जन

ट्रेण्डिङ नबुझ्ने गायक पुष्पन

  • नागरिक रैबार
ट्रेण्डिङ नबुझ्ने गायक पुष्पन

भारतको पश्चिम बङ्गालस्थित डुवर्समा जन्मिएका पुष्पन प्रधान नेपाली गीत-संगीतमा एक नक्षेत्र बनेका छन् । उनका गीतहरू दर्शक/स्रोतामाझ लोकप्रिय छन् । उनका गीतले धेरैको मन छोएको छ, आँखा रसाएका छन् ।

सानो उमेरदेखि नै पुष्पनलाई गीत-संगीत निकै प्यारो लाग्थ्यो । उनी प्राय: गीत सुनिरहन्थे, गुनगुनाइरहन्थे । बजाउने बाजा नभएकाले अगाडि जे देख्थे, त्यसैलाई बाजा सम्झेर बजाउँथे ।

‘म खाना नखाई बस्न सक्थेँ होला, तर गीत नगाई वा बाजा नबजाई बस्न सक्दिनथेँ’, पुष्पनले विगत सम्झिए ।

विज्ञापन

संगीतमा यतिका मोह हुँदा पनि पुष्पनले गायक बन्छु भन्ने सपना देखेका थिएनन् । उनलाई गायक बन्ने रहर थिएन । परिवारको रुचिअनुसार उनी शिक्षक वा डाक्टर बन्छु भन्थे ।

जब पुष्पन उच्च माध्यमिक शिक्षाका लागि कालिङपोङमा रहेको ‘कामुदिनी होम्स’ पुगे, तब उनको बाटोले सांगीतिक मोड लियो ।

कामुदिनी होम्समा वार्षिक उत्सवको तयारी भइरहेको थियो । त्यहाँ रहेका विद्यार्थीले अडिसन दिएर मात्रै गीत गाउन पाउने थिए । पुष्पनको विज्ञान संकायबाट पनि धेरै जनाले अडिसन दिए । कोही छनोट भएनन् ।

अडिसन दिन नगएका पुष्पनलाई उनकै एक जना साथीले जबर्जस्ती अडिसन दिने ठाउँसम्म लगेर भने, ‘सर, पुष्पनले राम्रो गाउँछ…।’

केही डराएका पुष्पनले सरहरूलाई गीत सुनाए । पुष्पनको स्वर सुनेपछि सरहरू छक्क परे, ‘कस्तो मीठो गाएको । लु तिमीले कार्यक्रममा गाउनुपर्छ ।’

पुष्पनले उक्त वार्षिक उत्सवमा गीत गाए । धेरैको हुटिङ सुनियो, धेरैको ताली बज्यो । पुष्पन दंग परे ।

अब पुष्पनलाई लाग्यो, ‘म त गायक पो बन्नुपर्ने रहेछ ।’

उनले रियाज सुरु गरे । गीत संगीतको विषयमा खोज्न थाले, पढ्न थाले ।

पढाइमा अब्बल पुष्पनको पढाइ बिग्रियो । उनलाई उच्च माध्यमिकमा विषय लाग्यो । पुन: परीक्षा दिए र पासचाहिँ भए ।

पढाइ सकेर गाउँ फर्किएका पुष्पनलाई एल्बम निकाल्ने रहर जाग्यो । आफ्नो बुबालाई अनुरोध गरे । बुबाकै सहयोगमा उनले ‘मन’ एल्बम निकाले ।

आफ्नो पहिलो एल्बमलाई उनी गल्तीको उपनाम दिन्छन् । पुष्पन भन्छन्, ‘त्यो मेरो गल्ती थियो । सोही गल्तीबाट पाठ सिक्दै यस स्थानसम्म आइपुगेँ ।’

पुष्पन र उनका साथीहरूको एउटा ब्याण्ड थियो- ‘वाणी’ । सोही ब्याण्डले नेपाल आएर ‘आह्वान’ नामक एल्बम बनायो । यस एल्बममा ‘पन्छी’, ‘धिनधिना’लगायतका गीत समावेश थिए ।

त्यो समय ‘पन्छी’ गीतको भिडियो निकै खराब बन्यो । प्रचार-प्रसार पनि राम्रो हुन पाएन । धिनधिनाको भने भिडियो पनि राम्रो बन्यो, प्रचार पनि राम्रै भयो ।

‘धिनधिना’ कान्तिपुर एफएमको ‘हटसट’मा परेको थियो । यसै गीतबाट पुष्पनले इमेज अवार्डसमेत पाए ।

यिनै गीतका कारण पुष्पनले ‘कृपा अनप्लग्ड’मा गीत गाउने मौका पाए । त्यहाँ उनले ‘पन्छी’ गीत गाए । त्यसपछि पन्छीको चर्चा चुलियो ।

‘कृपाबाट पन्छीले अर्को जन्म पाएको थियो’, पुष्पन बताउँछन् ।

विरक्तिएर डुवर्स फर्के

कृपामा गीत गाउँदा पुष्पन डुर्वस र नेपाल आवत-जावत गरिरहन्थे । उनका बुबा बिरामी भएका कारण पनि उनी डुवर्स पुगिरहन्थे । उनीमाथि पारिवारिक जिम्मेवारी थपिएको थियो ।

त्यो समय पुष्पनले धेरै गीत गाए । कुनै मन परेर गाए, कुनै कमाइका लागि पनि गाए । यसो गर्दा पुष्पनको मन खुसी भएन । उनलाई लाग्यो, ‘म पैसाका लागि गीत गाउन आएको होइन । मलाई केही राम्रो गर्नु छ ।’

उता बुबाको स्वास्थ्य स्थिति कमजोर बनिरहेको, यता गीत-संगीतबाट शान्ति नमिलिरहेको । पुष्पन आफैँसँग विरक्तिएर डुवर्स फर्किए ।

‘यदि कुनै दिन मैले गाएका गीतका कारण मेरो खोजी भएछ भने म नेपाल फर्किनेछु…’, पुष्पनले यही भनेर नेपाल छोडेका थिए ।

डुवर्स पुगेर उनले आफ्नो बुबाले देखेको सपना पूरा गरे । आफ्नो पढाइअनुसार उनले प्राथमिक तहमा पढाउने शिक्षकमा नाम निकाले । तर, आफ्नो परिवारलाई समेत नचिन्ने बिमारीले च्यापेका बुबाले पुष्पन शिक्षक बनेको पत्तो पाएनन् ।

 

पुष्पन आफ्नै दुनियाँमा थिए । यता नेपाल आइडलको दोस्रो सिजनमा ‘पन्छी’ गीत गुञ्जियो । प्रतियोगी अमित बरालले उक्त गीत गाएर जजलाई मात्र होइन, दर्शकलाई समेत रुवाए । फेरि पुष्पनको खोजी सुरु भयो ।

पुष्पन ‘नेपाल आइडल- २’ मा प्रस्तुति दिनैका लागि नेपाल आए । त्यहाँ उनले आफ्नो विचार राखे, गीत सुनाए । उनको विचार र स्वरले धेरैको मन जित्यो ।

नेपाल आइडलबाट ‘पन्छी’ र पुष्पन दुवैको चर्चा चुलियो । ‘अमित बराल त मेरो जीवनमा विधाता बनेर आइदिए’, पुष्पन भन्छन्, ‘उनले पन्छी गीतलाई मैले सुरुमा चाहेको दर्शक/स्रोतासम्म पुर्‍याइदिए । यस गीतले पाएको माया देखेर म दंग परेको थिएँ ।’

पुष्पनको सांगीतिक यात्राले गियर बढायो । उनले तत्कालै फिल्म ‘समर लभ’का लागि शब्द तथा संगीत तयार गरे । फिल्मका लागि तयार भएका गीतहरू पनि रुचाइए ।

शिक्षक पुष्पनको विद्यालयमा पढाउन जानैपर्ने । उनी पुन: डुवर्स फर्किए । उता पुगेर पनि गीत-संगीतलाई बिर्सिएनन् ।

पुष्पन इज ब्याक

नेपाल आइडलमा आएको करिब साढे दुई वर्षपछि पुष्पनले नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नो जन्मदिनको अवसरमा पुष्पनले ‘काली’ गीत सार्वजनिक गरेका हुन् । जसमा शब्द, संगीत तथा स्वरमात्र होइन, भिडियोको कथा तथा कन्सेप्ट पनि पुष्पनले तयार गरेका हुन् ।

केही दिनअगाडि मात्रै सार्वजनिक भएको यस गीतलाई धेरैले रुचाएका छन् । म्युजिक भिडियोले राम्रो भ्युजसँगै उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ ।

पुष्पन दंग छन् ।

 

‘मैले सबैभन्दा बढी आस गरेको गीत हो, काली । यस गीतले अहिले धेरैको माया पाइरहेको छ । म निकै खुसी छु’, पुष्पनले भने ।

पुष्पनलाई एउटा आरोप थियो- जहिल्यै समाजको दुःख सुनायो ।

यसपालि पुष्पनलाई त्यो आरोपबाट बाहिरिन मन लाग्यो । त्यसैले ‘रोमान्टिक स्याड’ गीत कोरे । पुष्पन भन्छन्, ‘आरोपबाट बच्न पनि कालीलाई रोमान्टिक शैलीमा बनाएको हुँ ।’

पुष्पन अब केही समय नेपालमा नै बसेर संगीत गर्ने पक्षमा छन् । गीत-संगीत र शुभचिन्तकले पाएको माया देखेर उनलाई संगीतलाई समय दिन मन लागेको छ ।

पुष्पन भन्छन्, ‘मैले पाएको जति माया वर्षौंदेखि यहीँ बसेर संघर्ष गरिरहनुभएका स्रष्टा/सर्जकहरूले पाउनुभएको छैन । मैले कम काम गरेर पनि यत्तिका माया पाएको छु । अब भने केही समय यतै बसेर उहाँहरूका लागि काम गर्नेछु ।’

पुष्पन १२ वटा गीत निकाल्ने सोचमा छन् ।

 

ट्रेण्डिङ बुझ्दैनन् पुष्पन

पछिल्लो समय गीतको सफलता वा असफलता युट्युबमा पाएको भ्युज र ट्रेण्डिङले मापन गरिन्छ । धेरै भ्युज पाए वा ट्रेण्डिङमा परे सफल मान्नेहरूको जमात बाक्लो छ । तर, यो हुलबाट निकै टाढा छन् पुष्पन । उनी यस्ता गायक हुन्, जसले ट्रेण्डिङ नै बुझ्दैनन् ।

उनी भन्छन्, ‘साँच्चिकै भनेको मैले यो ट्रेण्डिङ नै राम्रोसँग बुझेको छैन । कसरी आउँछ ट्रेण्डिङमा ?’

पुष्पन आफूलाई भ्युज र ट्रेण्डिङसँग खासै सरोकार पनि नभएको बताउँछन् । ‘आफ्नो गीत धेरैले हेरोस्/सुनोस् भन्ने त भइहाल्छ । तर, भ्युज आएन वा ट्रेण्डिङमा परेन भन्ने कुरामा मलाई खासै मतलब छैन’, पुष्पनले सुनाए ।

पुष्पन आफ्नो मनबाट काम गर्छन् । आफूलाई मन परेको वा मन छोएको गीतमात्रै बनाउँछन्, बजारमा ल्याउँछन् । कारण, उनलाई संगीतको व्यवसाय गर्नु छैन ।

पुष्पन भन्छन्, ‘मैले पैसाका लागि संगीत गर्छु भनेर सोच्दिनँ । मलाई मन छोयो भने मात्र म त्यस गीतमा काम गर्छु । नत्र कामै गर्दिनँ । यदि मेरै मन छोएको छैन भने अरुको मन कसरी छोला ?’

पुष्पनलाई गीतको शब्द तयार गर्न वा संगीत भर्न खासै समय लाग्दैन । केही समयको छटपटीमा नै उनले गीत कोरिदिन्छन्, लय भरिदिन्छन् ।

‘बच्चा जन्मिनुपूर्व आमालाई जुन किसिमको प्रसव पीडा हुन्छ नि, मलाई पनि गीत लेख्नुपूर्व त्यस्तै हुन्छ’, पुष्पन भन्छन् ।

पुष्पन मनबाट जे फुर्छ, त्यसैलाई गीत बनाउँछन् । अलिकति पनि तोडमोड गर्दैनन् उनी । किनकी, तोडमोड गर्‍यो भने उनको मन छुँदैन । र, मन नछुने काम पुष्पनबाट हुँदैन ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार