होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • राष्ट्रपति पदबाट हटेपछि डोनाल्ड ट्रम्प जेल जान सक्छन् ?
देश/प्रदेश

राष्ट्रपति पदबाट हटेपछि डोनाल्ड ट्रम्प जेल जान सक्छन् ?

यस्तो छ उनका सामु कानुनी झमेला

  • नागरिक रैबार
राष्ट्रपति पदबाट हटेपछि डोनाल्ड ट्रम्प जेल जान सक्छन् ?

वासिंटन । अमेरिकी राष्ट्रपतीय निर्वाचनको परिणाम आइसकेको छ । अमेरिकी जनताले जो बाइडेनलाई राष्ट्रपति चयन गरेका छन् । डोनाल्ड ट्रम्पले राष्ट्रपतिका रुपमा दोस्रो कार्यकाल सम्हाल्ने अवसर प्राप्त गरेनन् । राष्ट्रपतीय निर्वाचनमा पराजित भएसँगै उनले आगामी दिनमा ठुला संकटको सामना गर्नुपर्ने हुन सक्छ ।

विशेषज्ञहरुका अनुसार ट्रम्पको कार्यकालमा भएका कथित घोटालाहरुको जाँचपछि उनले आगामी दिनमा आपराधिक कारवाहीका अतिरिक्त कठिन वित्तीय स्थितिको पनि सामना गर्नुपर्ने स्थिति निम्तिन सक्छ । किनकि राष्ट्रपति पदमा रहेको अवस्थामा उनीविरुद्ध आपराधिक कार्यका सम्बन्धमा मुद्दा चलाउन मिल्दैन ।

मुद्दा र कारोबारमा चुनौती

विज्ञापन

पेस विश्वविद्यालयमा संवैधानिक कानुन सम्बन्धी विषयका प्रोफेसर बेन्नेट गर्शमेनले भने, ‘डोनाल्ड ट्रम्पविरुद्ध आपराधिक मामिला अघि बढ्ने सम्भावना देखिएको छ ।’न्यूयोर्कमा एक दशकदेखि अभियोक्ताका रुपमा सेवा दिँदै आएका उनले भने, ‘राष्ट्रपति ट्रम्पमाथि बैंकिङ कसुर, कर छली, कालो धनलाई वैध बनाएको, चुनावलाई प्रभावित गरेकोजस्ता आरोप लाग्न सक्छन् । उनका कामसँग जोडिएका जति पनि जानकारी मिडियामा आएका छन्, ती सबै वित्तीय मामिलाका छन् ।’

मामिला यहीँसम्म मात्र सीमित छैन । अमेरिकी मिडियामा प्रकाशित रिपोर्टअनुसार डोनाल्ड ट्रम्पले ठुलो वित्तीय संकट पनि सामना गर्नुपर्ने हुन सक्छ । यसमा ठुलो परिमाणमा निजी ऋण र उनको कारोबारमा समस्या सामेल छन् ।

न्यूयोर्क टाइम्सका अनुसार आगामी चार वर्षमा ट्रम्पले ३० करोड डलरभन्दा बढी ऋण चुक्ता गर्नुपर्ने हुन्छ, त्यो पनि उनको निजी लगानीको अवस्था कमजोर भएको समयमा । उनलाई ऋण भुक्तानीका लागि ताकेता पनि बढ्न सक्छ । ट्रम्पका आलोचकहरुका अनुसार राष्ट्रपति पद उनलाई कानुनी तथा वित्तीय समस्याका लागि कवच बनेको थियो । पदमा नरहेपछि उनका लागि संकटपूर्ण दिन आउन सक्ने उनीहरुको भनाइ छ ।

आरोप अस्वीकार

राष्ट्रपति ट्रम्पले आफू दुश्मनहरुको षड्यन्त्रको शिकार भएको बताउँदै आएका छन् । राष्ट्रपति बन्नु अघि र राष्ट्रपति भइसकेपछि पनि अपराध गरेको भनेर उनीहरुले आफूमाथि झुटो आरोप लगाएको ट्रम्पको भनाइ छ । उनले आफूविरुद्ध लगाइएका सबै आरोपलाई प्रस्ट रुपमा अस्वीकार गरेका छन् ।

आफ्नो प्रशासनमाथि लगाइएको घोटालाको आरोपबारे न्याय विभागको जाँच र यसै वर्षको सुरुवातमा आफूविरुद्ध लगाइएको महाभियोगबाट सफलतापूर्वक बरी भएको ट्रम्पको जिकिर छ ।तर विश्लेषकहरु ती सबै जाँच र प्रक्रियाहरु राष्ट्रपतिलाई प्राप्त सुरक्षा सुविधाबाट निर्देशित रहेको बताउँछन् । न्याय विभागले पनि बहालवाला राष्ट्रपतिविरुद्ध आपराधिक मुद्दा लगाउन नमिल्ने बारम्बार प्रस्ट पार्दै आएको छ । त्यसैले ती जाँच प्रक्रियालाई चुनौती दिएर ट्रम्पविरुद्ध कानुनी कारवाहीको आधार बनाउन सकिने विश्लेषकहरुको भनाइ छ ।

बेन्नेट गर्शमेन भन्छन्, ‘हामीलाई पहिलादेखि नै थाहा छ, ट्रम्पविरुद्ध मतदातालाई धोका दिएको आरोप लगाउन सकिन्छ किनकि मेनहटनका लागि अमेरिकी न्यायाधिवक्ताले ट्रम्पलाई माइकल कोहेनसँग षड्यन्त्रमा सामेल रहेको भनिसकेका छन् ।’

विशेषज्ञहरु ट्रम्पका पूर्व वकिल माइकल कोहेनविरुद्ध भएको जाँचको पनि स्मरण गराउँछन् । सन् २०१८ मा कोहेनलाई चुनावी धाँधलीमा दोषी पाइएको थियो । उनीमाथि डोनाल्ड ट्रम्पसँग अफेयर रहेको दावी गर्ने पोर्न एक्ट्रेस स्टर्मा डेनियल्सलाई सन् २०१६ को चुनावमा पैसा दिएको आरोप लागेको थियो ।

माइकल कोहेनका बारेमा गरिएको जाँचमा आधिकारिक रुपमा भनिएको थियो कि राष्ट्रपति पदका एक उम्मेदवार (यसका लागि ‘इन्डिभिजुअल– वान’ शब्द प्रयोग गरिएको थियो) आपराधिक गतिविधिमा कथित रुपमा संलग्न थिए । अमेरिकी मिडियाले भने ती उम्मेदवार डोनाल्ड ट्रम्प रहेको उल्लेख गरेका थिए ।

मूलरको प्रतिवेदन

बेन्नेट गर्शमेनका अनुसार ट्रम्पमाथि कथित मूलर रिपोर्टको नतिजालाई ध्यानमा राखेर न्यायमा बाधा सिर्जना गरेको आरोप पनि लाग्न सक्छ । सन् २०१९ मा स्पेशन काउन्सिल रोबर्ट मूलरले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रुसको हस्तक्षेपबारे अनुसन्धान रिपोर्ट बुझाएको थियो । उक्त रिपोर्टमा ट्रम्पलाई सफाइ दिइएको थियो । ट्रम्पको प्रचार टीम र रुसका बीच कुनै प्रकारको साँठगाँठको प्रमाण नभेटिएको उक्त रिपोर्टमा उल्लेख थियो ।

तर रिपोर्टमा यो पनि भनिएको थियो कि ट्रम्पले अनुसन्धानमा बाधा सिर्जना गर्ने प्रयास गरेका थिए । ट्रम्पले मूलरलाई पदबाट हटाउने प्रयाससमेत गरेका थिए । मूलरले त्यतिबेला भनेका थिए, ‘न्यायमा बाधा सिर्जना गर्न खोजेकोमा डोनाल्ड ट्रम्पमाथि महाभियोग लगाउने वा नलगाउने भन्नेबारे अमेरिकी संसदले निर्णय गर्नुपर्छ । किनकि राष्ट्रपतिविरुद्ध न्यायको सामान्य माध्यमबाट अभियोग लगाउन सकिँदैन ।’

त्यतिबेला अमेरिकी संसदले ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव नल्याए पनि निकै पछि अर्को एक मामिलामा उनीविरुद्ध महाभियोग लगाइयो । उनले आफ्नो राजनीतिक प्रतिद्वन्द्वी जो बाइडेनमाथि जाँच सुरु गर्नका लागि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई दबाब दिएका थिए । तर ट्रम्पले उक्त आरोपलाई पनि लगातार अस्वीकार गर्दै आएका छन् ।

डिसेम्बर २०१९ मा डेमोक्रेटको बहुमत रहेको हाउस अफ रिप्रेजेन्टेटिभमा उनीविरुद्ध अभियोग अघि बढाइयो । फेब्रुअरीमा रिपब्लिकनको बहुमत रहेको सिनेटले उनलाई अपराधमुक्त करार गरिदियो ।  ट्रम्प तेस्रो यस्ता अमेरिकी राष्ट्रपति हुन्, जसले महाभियोगको सामना गर्नु प¥यो ।

स्थानीय र संघीय आरोप

राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्प संघीय कानुन उल्लंघनका सम्बन्धमा आफूलाई आफैले माफ गर्न सक्छन् । तर अमेरिकाको इतिहासमा यस्तो स्थिति कहिल्यै आएन ।कुनै राष्ट्रपतिले पदबाट बाहिरिएपछि आपराधिक मामिला सामना गर्नुपर्ने सम्भावना देखिएको अवस्थामा नयाँ राष्ट्रपतिले उनलाई माफी दिएको अवस्था भने अमेरिकी इतिहासमा पाइन्छ ।

सन् १९७४ मा पूर्वअमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले वाटरगेट काण्डपछि राजीनामा दिए । त्यतिबेला उनको सरकारमा उपराष्ट्रपति रहेका जेरल्ड फोर्ड राष्ट्रपति चुनिए र निक्सनलाई माफी दिए ।

कन्जरभेटिभ पोलिटिकल रिसर्च सेन्टर अमेरिकन इन्टरप्राइज इन्स्टिच्युटमा विशेषज्ञ रहेका नर्मन अर्नस्टीन भन्छन्, ‘डोनाल्ड ट्रम्पमाथि संघीय आरोप लाग्ने सम्भावना निकै कम छ किनकि उनले आफैलाई माफी दिन सक्नेछन् ।’

तर चुनाव हारिसकेका कारण अब उनले त्यो सुविधा नपाउने अर्काथरीको भनाइ छ । जानकारहरुका अनुसार उनले आफ्नो बचाउ गर्न सक्ने एउटा अति काल्पनिक अवस्था बाँकी छ, त्यो भनेको उनले २० जनवरी २०२१मा आफ्नो कार्यकाल पुरा हुनु अघि नै पदबाट राजीनामा दिने र मौजुदा उपराष्ट्रपति माइक पेन्सलाई राष्ट्रपति बनाउने, त्यसपछि माइक पेन्सले ट्रम्पलाई संघीय अपराधका लागि माफी दिन सक्नेछन् ।

बेन्नेट गर्शमेनका अनुसार अमेरिकी मिडियामा डोनाल्ड ट्रम्पले संघीय आरोपका अतिरिक्त स्थानीयस्तरमा आपराधिक आरोप पनि झेल्नुपर्ने सम्भावना औंल्याउन थालिएको छ । उनीमाथि राष्ट्रपति हुनुअघि रियल स्टेट कारोबारमा गडबडीको आरोप छ । स्थानीय स्तरका मामिलामा भने संघीय मामिलामा जस्तो राष्ट्रपतिले माफी पाउने छैनन् ।

एक राजनीतिक निर्णय
विशेषज्ञहरु ट्रम्पविरुद्ध पर्याप्त प्रमाण भए पनि उनीमाथि कारवाही नहुन पनि सक्ने सम्भावनालाई समेत औंल्याइरहेका छन् । राजनीतिक निर्णयका आधारमा उनलाई माफी दिन सकिने उनीहरुको भनाइ छ ।वाटरगेट काण्डमा पनि सरकारले रिचर्ड निक्सनविरुद्ध मुद्दा चलाइएको खण्डमा उक्त काण्ड लहरो तानिँदै जाने भन्दै त्यस्तो अवस्था आउन नदिनका लागि माफी दिइएको तर्क गरेको थियो ।

ट्रम्पका सवालमा ६ अगस्टमा एक अन्तरवार्तामा जो बाइडेनले भनेका थिए, ‘म राष्ट्रपति बनेँ भने डोनाल्ड ट्रम्पविरुद्ध आपराधिक मुद्दा प्रक्रियालाई म विरोध पनि गर्दिनँ र त्यसलाई प्रोत्साहन पनि गर्दिनँ । त्यो विषयलाई म पूर्ण रुपमा न्याय विभागको जिम्मा लगाउने छु ।’

बेन्नेट गर्शमेनका अनुसार मुद्दाका चापका कारण सुनुवाई सुरु हुन महिनौँमात्र नभई वर्षौँ लाग्न पनि सक्छ । ट्रम्पमाथि लगाइएका आरोप प्रमाणित भएको अवस्थामा भने उनलाई वर्षौँको जेल सजाय हुन सक्ने जानकारहरु बताउँछन् । नर्मन अर्नस्टीनका अनुसार न्युयोर्कका अभियोक्ताले ट्रम्पविरुद्धको आफ्नो जाँचलाई जारी राख्नेछन् । अहिले ट्रम्पको अवस्था कमजोर छ र यो अवस्थालाई उनले बुझेका छन् ।
–बीबीसी हिन्दी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार