होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • देशका लागि सित्तैमा खेल्न तयार
खेलकुद

देशका लागि सित्तैमा खेल्न तयार

  • नागरिक रैबार
देशका लागि सित्तैमा खेल्न तयार

हरारे : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट निलम्बनमा परेपछि यतिबेला जिम्बाबेको क्रिकेट अप्ठ्यारो मोडमा उभिएको छ। घरेलु क्रिकेटमा सरकारले अनावश्यक हस्तक्षेप गरेको कारण देखाउँदै आईसीसीले जिम्बाबेलाई आफ्नो सदस्यताबाट निलम्बन गर्ने निर्णय लिएको हो। आईसीसीको निलम्बनका कारण देशको क्रिकेट अप्ठ्यारोमा परेपछि यतिबेला जिम्बाबेका खेलाडीले आफूहरू सित्तैमा क्रिकेट खेल्न तयार रहेको बताएका छन्।

‘आवश्यक परे देशको क्रिकेट बचाउन हामी पारिश्रमिक नलिई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न तयार छौं’, जिम्बाबेका एक वरिष्ठ क्रिकेटरले भनेका छन्। खेलाडीहरूले निकट भविष्यमा आयोजना हुने टीट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायर (विश्वस्तरीय छनोट) प्रतियोगिता यतिबेला सबैको चासोको विषय भएको बताएका छन्। ‘अहिले हाम्रो सबैभन्दा पहिलो दायित्व टीट्वेन्टी विश्वकपको छनोट प्रतियोगिता हो। देशको क्रिकेट बचाउन म बिना पारिश्रमिक त्यो प्रतियोगिता खेल्न तयार छु। भविष्यमा पारिश्रमिक पाए पनि नपाए पनि कुनै फरक पर्दैन। टोलीका अन्य खेलाडीको धारणा पनि यस्तै छ’, ती खेलाडीले भनेका छन्। टीट्वेन्टी विश्वकपको छनोट प्रतियोगिता अक्टोबरमा आयोजना हुँदैछ।

जिम्बाबे आईसीसीको निकै पुरानो सदस्य र टेस्ट मान्यता प्राप्त राष्ट्र हो। निलम्बनमा परेपछि जिम्बाबेले आईसीसीबाट पाउँदै आएको आर्थिक सहयोग रोक्का गरिएको छ। जिम्बाबेलाई आईसीसीले आयोजना गर्ने कुनै पनि गतिविधिमा सहभागी हुन रोक लगाइएको छ। गत महिना जिम्बाबेको सरकारले त्यहाँको क्रिकेट संघलाई निलम्बन गरेको थियो।

विज्ञापन

त्यसपछि जिम्बाबे सरकारले आफ्नै पहलमा अन्तरिम क्रिकेट संघ गठन गरेको थियो। आईसीसीले जिम्बाबे सरकारको त्यो कार्यप्रति असहमति जनाउँदै आएको थियो। आईसीसीले जिम्बाबेलाई सदस्यताबाट निलम्बन गर्ने निर्णयको आगामी अक्टोबरमा बस्ने बोर्ड बैठकमा पुनः छलफल गरिने पनि जनाएको छ।

यसअघि सन् २००४ को जुनमा आईसीसीले जिम्बाबेको टेस्ट मान्यता खोस्ने निर्णय गरेको थियो। जिम्बाबे क्रिकेट बोर्ड र खेलाडीबीचको चर्को विवादका कारण आईसीसीले यस्तो निर्णय लिएको थियो। त्यसको केही समयपछि आईसीसीले जिम्बाबेको टेस्ट मान्यता पुनः फिर्ता गरेको थियो। सन् २००५ मा जिम्बाबेले आठवटा टेस्ट खेलेको थियो। त्यसपछि सन् २०११ सम्म जिम्बाबेले एउटा पनि टेस्ट खेलेन।

जिम्बाबे हालै इङ्ल्यान्ड र वेल्समा सम्पन्न १२औं विश्वकप क्रिकेटमा पनि छनोट हुन सकेन। गत मार्चमा आर्थिक अनियमितता गरेको आरोपमा जिम्बाबे क्रिकेटका पूर्वनिर्देशक एनोक इकोपेमाथि १० वर्षको प्रतिबन्ध लगाउने निर्णय गरिएको थियो। यसैगरी सन् २०१८ को मार्चमा खेल मिलेमतो गरेको आरोपमा जिम्बाबेका पूर्वक्रिकेट अधिकारी राजन नायरमाथि पनि २० वर्षको प्रतिबन्ध लगाइएको थियो। पछिल्लो समय जिम्बाबेको क्रिकेट एकपछि अर्को संकटमा पर्दै आएको छ।

देशको क्रिकेट निलम्बनमा परे पनि जिम्बाबेले प्राविधिक रूपमा आईसीसीको पर्यवेक्षणमा रहेर द्विपक्षीय शृंखलाहरू खेल्न पाउने सम्भावना भने कायम छ। यसका लागि आईसीसीले आफ्नो छुट्टै म्याच अफिसियल नियुक्त गर्नेछ। त्यस्ता द्विपक्षीय शृंखलाका लागि आईसीसीले भने खर्च उपलब्ध गराउने छैन। खेलाडीहरूले पनि बिना पारिश्रमिक नै खेल्नु पर्ने हुन्छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार