
प्रेम वि.क.
काठमाडौं, साउन ११।
नेपालको पहिलो व्यावसायिक सडक सुरुङ नागढुङ्गा–सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। काठमाडौंको नागढुङ्गाबाट धादिङको सिस्ने खोलासम्म निर्माण गरिएको २.६८८ किलोमिटर लामो सुरुङमार्गले नौबिसे–काठमाडौं सडकखण्डको यात्रा करिब ३ किलोमिटर छोटो बनाउनेछ।
भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ले सुरुङमार्गको उद्घाटन गर्दै नेपालमा आगामी दिनमा पनि विभिन्न स्थानमा सुरुङमार्ग निर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्। उनले आधुनिक पूर्वाधार विकासले मुलुकको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
सुरुङमार्ग आयोजना निर्देशक सौजन्य नेपाल का अनुसार सुरुवाती चरणमा आपत्कालीन सेवाका सवारीसाधनलाई मात्र सुरुङ प्रयोग गर्न दिइनेछ। त्यसपछि दोस्रो चरणमा कारसहितका हलुका चारपाङ्ग्रे सवारीसाधनलाई अनुमति दिइनेछ भने अन्तिम चरणमा सार्वजनिक तथा ठूला सवारीसाधनका लागि पनि सुरुङमार्ग खुला गरिनेछ।
सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले सरकारले तोकेको टोल शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ। शुल्क संकलन आधुनिक टोल प्रणालीमार्फत गरिने जनाइएको छ।
जापान सरकारको सहयोग संस्था JICA को सहुलियतपूर्ण ऋण सहयोगमा करिब २२ अर्ब रुपैयाँ लागतमा निर्माण भएको यस आयोजनाको निर्माण जापानी कम्पनी Hazama Ando Corporation ले सम्पन्न गरेको हो। निर्माण सम्पन्न भएपछि सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी चिनियाँ कम्पनीलाई दिइएको छ, जसले प्रारम्भिक चरणमा सुरुङको सञ्चालन, मर्मत तथा प्राविधिक व्यवस्थापनको जिम्मा सम्हाल्नेछ।
यस परियोजनाको ऋण सम्झौता २०७३ साल मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका पालामा भएको थियो। २०७६ मंसिर १६ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ले निर्माण कार्यको शिलान्यास गरेका थिए। करिब सात वर्षपछि यो आयोजना औपचारिक रूपमा सञ्चालनमा आएको हो।
सुरुङमार्गमा अत्याधुनिक भेन्टिलेसन प्रणाली, सीसीटीभी निगरानी, अग्नि नियन्त्रण प्रणाली, आपत्कालीन निकास सुरुङ, सञ्चार प्रणाली र नियन्त्रण कक्ष जडान गरिएको छ। आयोजना सञ्चालनमा आएपछि नागढुङ्गा क्षेत्रमा हुने ट्राफिक जाम घट्नुका साथै यात्राको समय, इन्धन खर्च र ढुवानी लागतमा उल्लेख्य कमी आउने अपेक्षा गरिएको छ।


विज्ञापन



फेसबुक प्रतिक्रियाहरु