
आगामी निर्वाचनलाई लक्षित गर्दै बाजुरा जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। विगतका घटनाक्रम र जिल्लाको संवेदनशील अवस्थालाई मध्यनजर गर्दै सुरक्षाकर्मीहरूलाई रणनीतिक रूपमा परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ।


मतदान केन्द्रहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली खटाइएको छ। सुरक्षा निकायका अनुसार मतदान स्थल वरपर कडा चेकजाँच, गस्ती तथा निगरानी बढाइएको छ भने आकाशबाट निगरानीका लागि ड्रोन तयारी अवस्थामा राखिएको छ।
आपतकालीन अवस्था सिर्जना भएमा तत्काल उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि हेलिकप्टर समेत स्ट्यान्डबाइमा राखिएको प्रशासनले जानकारी दिएको छ। दुर्गम भौगोलिक बनावटका कारण कुनै अप्रिय घटना भएमा शीघ्र हस्तक्षेप गर्न हवाई माध्यम प्रयोग गर्ने तयारी गरिएको बताइएको छ।
विज्ञापन


प्रशासनले मतदातालाई निर्धक्क र शान्तिपूर्ण रूपमा मतदान गर्न अपिल गर्दै अफवाहमा नलाग्न आग्रह गरेको छ। राजनीतिक दलहरूलाई समेत निर्वाचन आचारसंहिता पालना गर्न र वातावरण शान्त राख्न अनुरोध गरिएको छ।
यसअघि बाजुरामा निर्वाचनका बेला केही तनावपूर्ण घटना भएका कारण यसपटक सुरक्षा रणनीति थप कडा बनाइएको बताइएको छ।
विगतमा झडप, बुथ कब्जा र फर्जी मतदानका घटना दोहोरिँदै आएकाले यसपटक बाजुरामा निर्वाचन उच्च सुरक्षा निगरानीमा हुने भएको हाे। स्थानीय प्रशासनले जिल्लालाई विशेष सुरक्षाका साथ पहिलाे प्राथमिकतामा राखेको जनाएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार जनशक्ति थप गरी ड्रोन र सीसीटीभीमार्फत मतदानस्थलको निगरानी गरिनेछ। शंकास्पद गतिविधि देखिएमा तत्काल नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ।
आवश्यक परेमा उद्धार तथा द्रुत हस्तक्षेपका लागि हेलिकप्टरसमेत तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ। प्रशासनले मतदातालाई निर्धक्क भएर मतदान गर्न आग्रह गरेको छ।

फेसबुक प्रतिक्रियाहरु