होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • राष्ट्रिय सभा अध्यक्षमा माओवादीको दाबी, उम्मेदवार को ?
देश/प्रदेश

राष्ट्रिय सभा अध्यक्षमा माओवादीको दाबी, उम्मेदवार को ?

  • नागरिक रैबार
राष्ट्रिय सभा अध्यक्षमा माओवादीको दाबी, उम्मेदवार को ?

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा सत्तारूढ दल नेकपा(माओवादी केन्द्र)ले आफ्नै उम्मेदवार उठाउने निर्णय गरेपछि गठबन्धन अप्ठ्यारोमा परेको छ । बुधबार सम्पन्न माओवादीको स्थायी समिति बैठकले आगामी निर्वाचनमा अध्यक्षका लागि उम्मेदवारी दिने निर्णय गरेको हो ।

प्रवक्ता अग्निप्रसाद सापकोटाले एकल उम्मेदवार उठाउने विषय रणनीतिक नभई कार्यनीतिक विषय भएकाले गठबन्धनमा कुनै असर नपर्ने दाबी गरे । कार्यनीतिक विषय अन्तिम चरणमा उम्मेदवारी फिर्ता लिने हो वा अन्य दलसँग तालमेल गर्ने भन्ने विषयमा उनले केही खुलाउन चाहेनन् । भविष्यमा संवैधानिक शून्यता नहोस् भनेर दीर्घकालीन सोचअनुसार पार्टीले निर्णय गरेको उनको भनाई थियो ।

राष्ट्रिय सभाका वर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ६ वर्षे कार्यकाल पुरा गरी फागुन २० गते बिदाइ हुँदैछन् । अध्यक्षका लागि फागुन २९ गते निर्वाचन गर्ने संसद् सचिवालयको तयारी छ ।

विज्ञापन

कोशीमा आफ्ना उम्मेदवार पराजित भएपछि कांग्रेसको भूमिकालाई लिएर माओवादी सशंकित देखिएको छ । यसअघि कांग्रेसभित्र भएको विद्रोहका कारण गठबन्धनबाट मुख्यमन्त्रीका उम्मेदवार रहेका इन्द्रबहादुर आङ्बो पछि हट्न बाध्य भएका थिए । त्यसैले स्थायी समिति बैठकमा अधिकांश नेताहरूले कांग्रेस गठबन्धनको मर्म र भावना बमोजिम नचलेको भन्दै आलोचना गरेका थिए । यसैगरी कुनैपनि हालतमा अध्यक्ष नछाड्न सम्पूर्ण सदस्यहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि खबरदारी गरेका थिए ।

तथापि पुस २१ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा राष्ट्रिय सभा अध्यक्ष कृष्णप्रसाद सिटौलालाई दिने भद्र सहमति भएको कांग्रेस नेताहरूले दाबी गरेका छन् । तर माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेलले भने सिटौलालाई अध्यक्ष बनाउने कुनै औपचारिक सहमति नभएको दाबी गरेका छन् । बिहीबार रातोपाटीसँग कुराकानी गर्दै उनले भने, ‘सिटौलाजीलाई अध्यक्ष बनाउन औपचारिक निर्णय भएको छैन । अध्यक्षजीले सहमति गरेको भन्ने कुरा मैले पनि सुनेको हुँ ।’

तर सचिव गणेश साहले भने पार्टीको निर्णय कार्यान्वयन हुनेमा आशङ्का व्यक्त गरेका छन् । प्रचण्डले सिटौलालाई पहिले नै अध्यक्ष बनाउने सहमति दिएको हुन सक्ने उनले पनि सङ्केत गरे । ‘बैठकमा अध्यक्ष नछाड्न सबैको दबाब आएपछि अध्यक्षले हुन्छ भन्दिनुभयो । तर निर्णय कार्यान्वयन हुनेमा मलाई विश्वास छैन,’ साहले भने ।

माओवादीले जित्ने सम्भावना कति ?
राष्ट्रिय सभामा माओवादी ठुलो दल भए पनि अध्यक्ष जित्न आवश्यक मत छैन । तथापि मुख्य दल कांग्रेस र एमालेले पनि उम्मेदवार उठाएको अवस्थामा साना दल तटस्थ बस्ने अवस्थामा बहुमतका आधारमा जित्ने सम्भावना रहन्छ । कि एमालेबाहेक एकीकृत समाजवादी, जसपा, लोसपा, राष्ट्रिय जनमोर्चाले माओवादीलाई मत दिनुपर्ने हुन्छ । नभए एमालेले माओवादीको उम्मेदवारलाई सहयोग गर्नुपर्ने हुन्छ ।

५९ सिटमध्ये माओवादी १८ सिटसहित पहिलो दल छ । यस्तै कांग्रेसको १६, एकीकृत समाजवादीको ८, जसपाको ३, लोसपाको १ र जनमोर्चाको १ सदस्य छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट १ जना मनोनीत गर्न बाँकी छ । विपक्षी एमालेको १० सिट रहेको छ । राष्ट्रपतिबाट मनोनीत वामदेवको भूमिका के हुन्छ भन्ने खुल्न सकेको छैन । बहुमतका लागि ३० सिट आवश्यक पर्छ ।

माघ ११ गते भएको निर्वाचनमा माओवादीले कोशीमा एक सिट गुमाएर पाँच सिटमा विजयी भएको थियो । गठबन्धनबाट माओवादीले पनि उम्मेदवार दिने निर्णय गरेसँगै पार्टीभित्र सम्भावित उम्मेदवारको चर्चा हुन थालेको छ । यद्यपि उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा पार्टीले निर्णय नगरिसकेको उपमहासचिव पोखरेलले बताए । यस विषयमा पार्टीले पछि निर्णय गर्ने उनले जानकारी दिए ।

‘राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने पार्टीको सर्वसम्मत निर्णय हो । तर कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा निर्णय भएको छैन । यस विषयमा पार्टीले निर्णय गर्छ । कुनै दलसँग तालमेल गर्ने/नगर्ने विषयमा त्यतिबेलाको परिस्थितिमा भर पर्छ,’ उनले भने ।

संवैधानिक भावनालाई बुझेका अनुभवी व्यक्तिलाई पार्टीले उम्मेदवार बनाउने पोखरेलको भनाइ छ । उम्मेदवारी दिनका लागि वर्तमान उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिन सक्ने उनले बताए ।

‘अध्यक्ष बन्न योग्य राष्ट्रिय सभामा धेरै छन् । उर्मिलाजीले राजीनामा दिन पनि सक्छिन् । झक्कुजी हुनुहुन्छ, मायाप्रसाद शर्मा, नारायण दाहालजी पनि छन् । कसलाई बनाउने भन्ने विषयमा पार्टीले पछि आवश्यक निर्णय गर्छ,’ उनले भने ।

राष्ट्रिय सभामा २०७४ मा निर्वाचित माओवादीका सदस्यहरू यही २० गतेबाट बिदाइ हुनेछन् । आगामी ६ वर्षका लागि श्रीकृष्ण अधिकारी, मनरुपा शर्मा, झक्कुप्रसाद सुवेदी, विष्णुबहादुर विक र रेणु चन्द निर्वाचित भएकी छिन् । नयाँ निर्वाचित सदस्यबाट उम्मेदवार बनाएमा झक्कु बन्ने सम्भावना रहेको नेताहरूले स्वीकारेका छन् ।

तर अध्यक्षमा नारायण दाहालले दाबी गरेको बुझिएको छ । उनी २०७८ सालमा राष्ट्रपतिबाट मनोनीत सदस्य हुन् । उनको कार्यकाल २०८४ मा सकिँदैछ । यदि २०७८ को ब्याचबाट उम्मेदवार बनाएमा वर्तमान उपाध्यक्ष उर्मिला आउने सम्भावना रहेको छ । २०८४ मा कार्यकाल पुरा हुनेमा उर्मिला, नारायणसहित, जगतबहादुर पार्की, नरबहादुर विष्ट, भुवनबहादुर सुनार, सुरेश आलेमगर रहेका छन् ।

यस्तै २०७६ मा निर्वाचन जितेका सबैभन्दा हाइ प्रोफाइलका नारायणकाजी श्रेष्ठ रहेका छन् । उनी अहिले उपप्रधानमन्त्री एवं गृहमन्त्री छन् । श्रेष्ठबाहेक त्यतिबेला निर्वाचित हुनेमा गंगा बेल्वासे, जगप्रसाद शर्मा, गोपी अछामी, राधेश्याम पासवान, माया प्रसाद शर्मा र तारामान स्वार रहेका छन् । उनीहरूको कार्यकाल २०८२ मा सकिने भएकाले अध्यक्षको उम्मेदवार बन्ने सम्भावना नरहेको सचिव साहको बुझाइ छ । माओवादीले आफ्नो अडान कायमै राखेमा झक्कु, उर्मिला र नारायणमध्ये एक उम्मेदवार बन्ने सक्ने सम्भावना देखिएको नेताहरूले बताएका छन् । रातोपाटीबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार