होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • विश्वासको मत लिँदै दाहाल
देश/प्रदेश

विश्वासको मत लिँदै दाहाल

  • नागरिक रैबार
विश्वासको मत लिँदै दाहाल

काठमाडौँ —प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन ३० मा संसद्मा विश्वासको मत लिने भएका छन् । सत्ता गठबन्धनको सहयात्री दल परिवर्तन गरेपछि दाहालले विश्वासको मत लिने तयारी थालेका हुन् । १४ महिनायता उनले विश्वासको मत लिन थालेको यो तेस्रो पटक हो । यसअघि गत वर्षको पुस २६ मा पहिलो पटक र चैत ६ मा दोस्रो पटक दाहालले विश्वासको मत लिएका थिए ।

विश्वासको मतका लागि दाहालले माओवादी केन्द्रको संसदीय दलबाट ह्विप जारी गर्ने निर्णय गराएका छन् भने सत्ता साझेदार दलहरूसँग छलफल तीव्र पारेका छन् । शनिबार बसेको दलको बैठकमा उनले साझेदार दलहरूसँग छलफल गरिरहेको जानकारी गराएका थिए । विश्वासको मत लिएपछि मात्रै सदनमा महत्त्वपूर्ण विधेयक अगाडि बढाउने र प्रतिनिधिसभामा पेस भएको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) माथि छलफल चलाउने तयारी रहेको प्रधानमन्त्रीले बताएका थिए ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले संविधानको व्यवस्थाअनुसार प्रधानमन्त्रीले विश्वास लिन लागेको र सोहीअनुसार सांसदहरूका लागि ह्विप जारी गर्ने निर्णय गरेको बताए । ‘प्रतिनिधिसभामा विश्वासको मत र राष्ट्रिय सभामा अध्यक्षको निर्वाचन हुँदै छ । त्यो बेला हाम्रो दलका सांसदको अनिवार्य उपस्थितिका लागि ह्विप जारी गर्ने निर्णय गरेका छौं,’ उनले भने ।

विज्ञापन

बैठकमा प्रधानमन्त्री दाहालले सत्ता साझेदार दल फेरिएपछि राजनीतिक चलखेल जारी रहेको बताएका थिए । विश्वासको मत नलिएसम्म प्रमुख प्रतिपक्षलगायतले विश्वासको मत असफल पार्ने प्रयास जारी राख्ने उनको भनाइ थियो । दाहालको भनाइ उल्लेख गर्दै एक सांसदले भने, ‘विश्वासको मत नलिँदासम्म प्रधानमन्त्री पद बाँडिरहन्छन् । विश्वासको मत लिनका लागि सबै सक्रियतापूर्वक लागौं ।’ विश्वासको मत लिएर संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुन, निजामती विधेयक, संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक, प्रि–बजेट छलफल सदनमा अगाडि बढाउने प्रधानमन्त्रीले बताएका थिए ।

प्रधानमन्त्री दाहालले संविधानको धारा १०० (२) अनुसार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्नेछ,’ उक्त धारामा उल्लेख छ । कांग्रेसले फागुन २२ मा दाहाल सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो ।

प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरेसँगै सत्ता साझेदार दलहरूले आआफ्नो संसदीय दलको बैठक आह्वान गरेका छन् । प्रमुख सत्ता घटक एमालेले फागुन २९ मा संसदीय दलको बैठक बोलाएको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले विश्वासको मत कहिले लिने भन्ने अहिले छलफलकै विषय भएको तर संसदीय दलबाट निर्णय लिने जानकारी दिए । ‘फागुन २९ मा संसदीय दलको बैठक बोलाएका छौं भने ३० गते हाउसको बैठक छ । प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा औपचारिक कुरा भइसकेको छैन । सरकारले निर्णय गरेमा प्रतिनिधिसभाको आगामी बैठक वा लगत्तै विश्वासको मत लिने भन्नेछ,’ उनले भने ।

सरकारमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सोमबार केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाका सबै सांसद केन्द्रीय समिति सदस्य छन् । रास्वपा प्रमुख सचेतक सन्तोष परियारले केन्द्रीय समितिमा प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत लिने विषयमा छलफल र निर्णय हुने जानकारी दिए । माओवादी अध्यक्ष दाहाल नेतृत्वको सरकारमा एमाले, रास्वपा र एकीकृत समाजवादी सहभागी भइसकेका छन् भने जसपाबाट मन्त्री सहभागी हुन बाँकी छ । कान्तिपुर बाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार