होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपालका कम्युनिस्ट पार्टीहरुबीच एकताको पक्षमा चीन, माओवादी केन्द्रका नेताहरुलाई दियो सुझाव
समाचार

नेपालका कम्युनिस्ट पार्टीहरुबीच एकताको पक्षमा चीन, माओवादी केन्द्रका नेताहरुलाई दियो सुझाव

  • नागरिक रैबार
नेपालका कम्युनिस्ट पार्टीहरुबीच एकताको पक्षमा चीन, माओवादी केन्द्रका नेताहरुलाई दियो सुझाव

चीन । चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग मन्त्री लिउ जियान चाओले नेपालमा कम्युनिस्ट विचारधारा राख्ने दलहरुबीच पुनः एकता हुनुपर्नेमा जोड दिएका छन् ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाको नेतृत्वमा चीनको राजधानी बेइजिङ आएका माओवादी नेताहरुसँगको भेटमा मन्त्री लिउले नेपालमा वामपन्थीहरु बीचको एकताले नै राजनीतिक स्थायित्व हुने बताएका हुन् ।

पछिल्लो समय नेपालमा वाम–लोकतान्त्रिक गठबन्धनको सरकार छ । तर चीनले वामपन्थीहरु बीचको एकतामै जोड दिँदै आएको हो । यसअघि पनि चिनियाँ कम्युनिस्ट पार्टीले नेपालमा रहेका कम्युनिस्ट पार्टी बीचको एकता नै नेपालको हितमा हुने सल्लाह र सुझाव दिँदै आएको थियो । चिनियाँ कम्युनिस्ट पार्टीले नेपालमा वाम एकताको विकल्प नभएको भन्दै एक सूत्रीय सल्लाह दिँदै आएको छ ।

विज्ञापन

यसअघि वामपन्थी दलहरुबीच एकता भङ्ग हुन लागेको समयमा चिनियाँ कम्युनिस्ट पार्टीको एक टोली नेपालमा पुगेर एकताका लागि सहकार्य गर्न सुझावसमेत दिएको थियो ।

मन्त्री लिउले नेपाली भ्रमण टोलीका संयोजक सापकोटासँग अलग्गै भेटवार्ता गरेका थिए । सापकोटासँगको कुराकानीपछि भ्रमण टोलीमा सहभागी माओवादी केन्द्रका सचिव डिलाराम आचार्य, हितमान शाक्य र गणेश साहलगायत नेपाली टोलीलाई लिउले दिवाभोजको आयोजना गरेको भ्रमण टोलीमा सहभागी माओवादी केन्द्र भ्रातृ संगठन अखिल क्रान्तिकारीका विदेश विभाग प्रमुख जीपी मैनालीले रातोपाटीलाई जानकारी दिए ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले नेपालमा रहेका सबै कम्युनिस्ट पार्टीबीच सहकार्य गरेको छ । माओवादी केन्द्रका उपाध्यक्ष सापकोटासँगको भेटमा मन्त्री लियुले चीनमा राष्ट्राध्यक्ष सी जिनपिङले सन् २०१९ अक्टुबर महिनाको १९ देखि २१ सम्म गरेको तीनदिने भ्रमणले दुई देश बीचको सम्बन्धमा थप बल पुगेको स्मरण गराएको मैनालीले जानकारी दिए ।

कोभिड महामारीपछि नेकपा माओवादी केन्द्रका २० जनाको टोली चीन आएको हो । सन् २०२२ जुलाइमा चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय सम्पर्क विभाग प्रमुख एवं मन्त्री लिउ नेपाल आएका थिए । चार दिने भ्रमण कार्यक्रमसहित नेपाल आउँदा उनले सरकारका प्रतिनिधि तथा विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गरेका थिए ।

यसैबीच, गत हप्ता चीनको सान्सी प्रान्तको सियान सहरमा आयोजित एक गोष्ठीमा नेपालको पछिल्लो राजनीतिक घटनाबारे चर्चा गर्दै चिनियाँ विज्ञहरुले पनि नेपालको राजनीतिक स्थायित्व, विकास र आर्थिक र सामाजिक समृद्धिका लागि वाम एकता हुनुपर्नेमा जोड दिएका थिए ।

सो गोष्ठीमा सहभागी युनान विश्वविद्यालयका दक्षिण एसियाली अध्ययन केन्द्रका अध्येता एवं नेपाल विज्ञ प्राडा वाङ चुङलगायत चीनका नेपालसम्बन्धी अध्ययन गरेका चिनियाँ विज्ञहरुको सहभागिता थियो ।

राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि दलहरुबीचको एकता हुन सकेमात्र नेपालमा समृद्धिको कुरा र चिनियाँ लगानी वृद्धि हुनसक्ने उनीहरुको धारणा थियो ।

नेपालको विद्यमान निर्वाचन प्रणालीले कसैको पनि प्रस्ट बहुमत आउन नसक्ने निष्कर्ष सबैजसो दलले निकाल्दै आएका छन् । तर, २०७४ सालको प्रतिनिधिसभा निर्वाचन परिणाम हेर्ने हो भने कम्युनिस्ट घटकहरुबीच एकता हुन सके मुलुकमा पूर्ण बहुमतका साथ कम्युनिस्ट सरकार बन्न सक्ने उदाहरणलाई स्थापित गरिसकेको छ ।

२०७४ को संसदीय निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको चुनावी गठबन्धन र पार्टी एकता गर्ने उद्घोषका कारण यी दुई दलले झण्डै दुई तिहाइ बहुमत हासिल गरेका थिए । निर्वाचनपछि दुवै पार्टीबीच एकता भइ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भए पनि पार्टीभित्र बढेको शक्ति संघर्ष र सर्वोच्च अदालतले गरेको फैसलाका कारण तत्कालीन नेकपा विघटन भयो ।

यही अनुभवका आधारमा चीनले कम्युनिस्ट पार्टीहरुबीचको एकताले नै नेपालमा राजनीतिक स्थायित्व हुने र विकासका अवसरहरु खुल्ने भन्दै नेपालका कम्युनिस्ट पार्टीहरुलाई एकताका लागि सुझाव दिँदै आएको हो ।

 

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार