होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा आज बूढी पोल्ने पर्वको रौनक
समाचार

सुदूरपश्चिममा आज बूढी पोल्ने पर्वको रौनक

  • नागरिक रैबार
सुदूरपश्चिममा आज बूढी पोल्ने पर्वको रौनक

बैतडी– आज बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बूढी पोल्ने पर्व मनाइँदैछ । हरेक वर्ष असोज १ गते यो पर्व धुमधामसँग मनाउने प्रचलन छ ।

विजय उत्सवका रूपमा मनाइने यो पर्वमा बूढी अर्थात् राक्षसी पुतनालाई पोल्ने गरिएको संस्कृतिका जानकार जयानन्द भट्टले बताए । परम्परागत किंवदन्तीअनुसार भगवान श्री कृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला)हरूले पुतनाको शव दहन गरेको कथन छ ।

द्वापर युगमा विषाक्त दूध सेवन गराई बालबालिकाको ज्यान लिने राक्षसी पुतनालाई भगवान श्रीकृष्णले दूध चुसेर मारेको र भगवान श्रीकृष्ण बाँचेको खुसियालीमा असोज संक्रान्ति का दिन यो पर्व मनाउने गरिएको भट्टको भनाइ छ ।

विज्ञापन

सुदूरपश्चिममा भाद्र संक्रान्तिका दिन गाडिएको सल्लाको वा अन्य बोट बिरुवाको लिङ्गोमा आज साँझपख बूढी पोलिने र सोही ठाउँमा काँक्रो खाँदै लुतो बाँड्ने प्रचलन छ ।

ओल्के संक्रान्तिका दिन गोठालाहरूले बुढीको प्रतिमा राखेपछि दैनिक त्यसमा रुखका हाँगाहरू थप्ने गर्छन् । दैनिक थप्दा केही स्थानमा निकै ठूलो बूढी बन्ने गर्छन् ।

गाई गोठालाहरूले बाँझा जग्गा र दोबाटोमा सल्ला, बाँज, खर्सुलगायत रुखहरूबाट निर्मित बुढीको पुतनालाई साँझपख जलाउने गरिन्छ ।

दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन छ । यसो गरेमा पशु चौपायामा कुनै रोग नलाग्ने धार्मिक जनविश्वास रहेको बैतडीको दोगडाकेदार– ३ श्रीकोटका गणेश वियटको भनाइ छ ।

ओल्के संक्रान्तिका दिन गाउँ नजिकका अलिक उच्चो टाकुरामा सबै जना मिलेर रूखका हाँगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाई स्थानीय भाषामा ‘बुढी हालेको’ भन्ने गरिएको छ ।

यो बूढीलाई नै आज असोज संक्रान्तिका साँझ प्रत्येक घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ‘बूढी पोल्ने’ पर्व मनाउने परम्परा छ ।

पुतनाको स्वरूपमा तयार गरी सिँगारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरी घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ । साँझपख काँक्रो चपाएर जलेको पुतनामा फाल्दै जोडले थुई बूढी थुई भन्ने गर्छन् ।

त्यस्तै बूढी पोलेर घर फकिर्ने क्रममा बाटो–बाटोमा बलेको दियो पनि गाड्दै जाने प्रचलन छ । यस पर्वमा रातभर देउडा खेल्ने चलन भए पनि युवापुस्ताले ध्यान नदिँदा पछिल्लो समयमा यस्ता चलन लोप हुँदै गएका छन् । खबरहवबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार