होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वृद्धभत्ता बुझ्न ६ दिन पैदल
समाचार

वृद्धभत्ता बुझ्न ६ दिन पैदल

‘सुविधा दिने नाममा वृद्धवृद्धा र अशक्त नागरिकमाथि अन्याय’

  • नागरिक रैबार
वृद्धभत्ता बुझ्न ६ दिन पैदल

जुड्डी, बाजुरा — बाजुराको जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीस्थित हिमालयन बैंक कार्यालयमा वृद्धवृद्धा पंक्तिबद्ध थिए । कोही लट्ठीको सहारामा सकिनसकी उभिएका थिए त कोही लाइनमै थचक्क बसेका । गत आइतबार लाइनमा ७२ वर्षीया रिठु ओड पनि थिइन् ।

दमले थलिएकी उनी दानचौकाबाट झिसमिसेमै हिँडेकी रहिछन् । स्याँस्याँ गर्दै दिउँसो २ बजे गाउँपालिका कार्यालयमा पुगेकी उनी सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्किन नसक्ने सुनाइरहेकी थिइन् ।

‘सन्चो छैन । झादा (जाँदा) उकालै बाटो छ । हिँडी सक्दैन,’ बोल्दा पनि पटकपटक सास फुल्ने उनले भनिन्, ‘आज जहाँ रात पर्छ त्यहीं बस्नुपर्ला । भोलि बासा (साँझ) सम्म पुगिझाउला ।’ उनले भत्ता बुझ्न आउने यो अन्तिम पटक भएको बताइन् । ‘सरकारले धेइ दियाको छ्यो । अब हिँड्न सक्न्यानाई । दम लागेर आजबाटै मरिग्या छ्या । (सरकारले त दिएकै हो । हिँड्न सक्दिनँ । आज दमले झन्डै बाटैमा मरेँ ।’ उनीजस्तै लाइनमा बसिरहेका धेरैजसोले अब भत्ता बुझ्न हिँडेर आउन नसक्ने बताइरहेका थिए ।

विज्ञापन

‘म हिँड्न सक्दिनँ भनेर छोरालाई पठाउन खोजेको थिएँ । मै नआई हुँदैन भनेर कर लगाए,’ जगन्नाथ गाउँपालिकाकै लुमाका ७१ वर्षीय धनजित सार्कीले भने, ‘बाटोमा दुई ठाउँमा चिप्लिएर लडें । पिठ्यूँमा चोट लागेको छ । एकै दिनमा घर फर्कन सकिन्न ।’ हिँड्दा खुट्टाले भर दिन छाडेकाले अबदेखि भत्ता बुझ्न नआउने उनले बताए ।

सामाजिक सुरक्षा भत्ता बुझ्न वर्षमा चार पटक घण्टौंसम्म हिँड्नुपर्दा बिरामी पर्ने, हिउँ परेका बेला र वर्षात्मा भीरपाखाको बाटो हिँड्न निकै जोखिम हुने गरेको वृद्धवृद्धाहरूको गुनासो छ । ‘एकचोटि भत्ता बुझ्न आयो भने १०/१५ दिनसम्म जीउ दुखेर थला पर्छु,’ ७२ वर्षीया तुलछा चाँदाराले भनिन्, ‘हिँड्ने बाटो पनि निको छैन । हिउँ परेको बेला र बर्खा लाग्दा बाटो उस्तै चिप्लो हुन्छ । नआऊँ भने औषधिमूलो गर्न खर्च चाहिन्छ ।’ आफूले पाउने भत्ता वडा कार्यालयबाट पाउने व्यवस्था भए धेरै सुविधा हुने उनले बताइन् ।

२०७७ भदौअघिसम्म भत्ता वडामै गएर बुझाउने व्यवस्था रहे पनि त्यसपछि बैंकबाट बुझ्ने व्यवस्था गरिएको छ । ‘कर्मचारीहरूले वडामै नगद वितरण गर्दा अनियमितता भयो भनेर यो व्यवस्था आयो । बैंकिङ कारोबार सुरु भएपछि बूढाबूढीले साह्रै दुःख पाएका छन्,’ जगन्नाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर शाहीले भने ।

जगन्नाथमा मात्रै ज्येष्ठ नागरिक, असहाय, एकल महिला, अपांग र बाल पोषण भत्ता लिनेको संख्या ३ हजार १ सयभन्दा बढी रहेको र उनीहरूमध्ये २ सयभन्दा बढी हिँड्न नसक्ने अवस्थाका रहेको हिमालयन बैंकको जगन्नाथ शाखा प्रमुख रेम कँडेलले बताए । ‘हिँड्न नसकेकै कारण कतिपयको खातामा रकम भएर पनि बुझ्न आएका छैनन्,’ उनले भने ‘बैंकले घरघरमा गएर भत्ता दिन सक्ने अवस्था पनि छैन । पालिकाले वडाका जनप्रतिनिधि र कर्मचारीलाई रोहबरमा राखेर भुक्तानी दिन सक्ने वातावरण बनाउन कोसिस गरे पनि पूर्ण रूपमा सकेको छैन ।’

बैंकले घुम्ती सेवा दिन सक्ने भए पनि गाउँमा इन्टरनेट सेवा नहुने भएकाले बैंकको सर्भरले काम नगर्दा वृद्धवृद्धालाई असहज भएको उनले बताए । यो समस्या लिएर आफू मन्त्रालयसम्म पुगे पनि समाधान नभएको गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले सुनाए । ‘यो व्यवस्था अत्यन्तै अव्यावहारिक भयो भनेर मैले मन्त्रालयमा गएर पनि कुरा गरेको हुँ । बैंक पुगिसकेपछि अनिर्वाय बैंकबाट नै भुक्तानी दिनुपर्छ भन्नुभयो । यता भत्ता लिनका लागि बूढाबूढीले पाएको दुःख हेरिनसक्नु छ,’ उनले भने ।

यस्तै हिमाली गाउँपालिकाका गुम्बा, बामु, बउडी, पौडी, किउडी, बिच्छ्यालगायतका गाउँबाट पालिकाको केन्द्रसम्म पुग्न एकतर्फी पैदल ३ दिन लाग्छ । भत्ता बुझ्न आउँदाजादा त्यसको दोब्बर समय लाग्ने भएकाले कतिपयले बैंक स्थापना भएदेखि भत्ता बुझ्न छाडेको स्थानीय धनलाल थापाले बताए । ‘भत्ता बुझ्ने मान्छे त्यत्रो बाटो आफै हिँडेर आउन सक्दैनन् । बोकेर ल्याउने हो भने पाउने भत्ताभन्दा दोब्बर तेब्बर खर्च हुन्छ,’ उनले भने, ‘हिँडेरै आउनेको पनि पाएको भत्ता बाटोमै सकिन्छ ।’

हिमाली गाउँपालिकामा मात्रै तीन हजारभन्दा बढीले सामाजिक सुरक्षा भत्ता लिइरहेको र आधाजसो वृद्धवृद्धा भएको अध्यक्ष गोविन्दबहादुर मल्लले बताए । उनले भने, ‘यो व्यवस्था सुरु भएपछि यस्तो समस्या हुन्छ भनेर हामीले जिल्ला प्रशासन कार्यालयदेखि प्रदेश र केन्द्रका मन्त्रालयमा लिखित पत्र दिएर नै ध्यानाकर्षण गरायौं । तर कोही गम्भीर भएनन् ।’

बाजुराका दुर्गम क्षेत्रमा बस्ने वृद्धवृद्धा, असहाय, अपांगले सामाजिक सुरक्षा भत्ता लिन यस्तै खालको सास्ती भोग्नुपरेको बाजुराका नागरिक अगुवा मदनराज जोशीले बताए । अव्यावहारिक नियमका कारण सुविधा दिने नाममा सास्ती दिइएको उनको भनाइ छ । ‘हिँड्न नसक्नेलाई बैंकले कर्मचारी पठाएर घरमै भत्ता दिने व्यवस्था मिलाउनुपर्छ, नभए दुर्गम ठाउँका लागि सरकारले नै वैकल्पिक व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘सुविधा दिने नाममा वृद्धवृद्धा र अशक्त नागरिकमाथि अन्याय भइरहेको छ ।’ कान्तिपुरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार