होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, चैत्र २४, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाज
  • चिसोले काम्दै बित्छन् अग्निपीडितका रात
समाज

चिसोले काम्दै बित्छन् अग्निपीडितका रात

घर क्षति भएका विस्थापित खुला चौरमा त्रिपालमुनि छन् । भन्छन्, ‘त्रिपालमा चारैतिरबाट स्याँठ छिर्छ ।’

  • नागरिक रैबार
चिसोले काम्दै बित्छन् अग्निपीडितका रात

मुगु — आसपासका डाँडाकाँडा हिउँले ढाकिएका छन् । साताअघि भएको भारी हिमपातयता मुगु सदरमुकाम गमगढी निकै चिसो छ । घर हुनेहरूले चिसोमा जसोतसो मुन्टो लुकाएका छन् । सबैभन्दा कष्टमा कोही छन् भने ती त्रिपालमा आश्रय लिएका परिवार हुन् ।

गत कात्तिक २९ मा गमगढीको तल्लो बजारमा आगलागी भएको थियो । २१ घर नष्ट भएका थिए । आगलागीपछि विस्थापितहरू तल्लो बजारको खुला चौरमा त्रिपाल टाँगेर बसेका छन् ।

‘न छानो छ न त गतिलो लुगाफाटो,’ अग्निपीडित झोवा तामाङले भनिन्, ‘यो चिसो काट्न निकै गाह्रो भएको छ ।’ अहिलेसम्म सरकारबाट कुनै राहत नपाएको उनले गुनासो गरिन् ।

विज्ञापन

अग्निपीडितका लागि केही संघसंस्थाले खाद्यान्न सहयोग गरे पनि सरकारले नहेरेको उनले बताइन् । आगलागीको घटनापछि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलगायतको टोली अग्निपीडित बस्तीमा पुगेर घर पुनर्निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गर्ने आश्वासन दिएको थियो । ‘प्रदेश सरकारको राहत कुर्दै दुई महिना बित्यो, अहिलेसम्म केही आएन,’ अर्का पीडित छिरिङ तामाङले भने, ‘हामीलाई सरकारले दु:खका आँसु पुछ्न केही राहत देला कि भन्ने आशा थियो तर चामल पनि सहयोग गरेन ।’ संघसंस्थाले दिएको त्रिपालमा बसेको उनले बताए । ‘चारैतिरबाट स्याँठ छिर्दा सास्ती भएको छ,’ उनले भने ।

स्थानीय प्रशासनले भने अग्निपीडितलाई राहत दिन प्रक्रिया थालिएको जनाएको छ । क्षति भएको विवरणका आधारमा प्रदेश सरकारले पठाएको रकम पीडितको खातामा जम्मा गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । उनका अनुसार पीडित परिवारलाई १ लाखदेखि ५ लाख रुपैयाँ र भाडामा बस्ने व्यक्तिलाई न्यूनतम २० हजार रुपैयाँ राहत दिने तयारी भएको छ । त्यस्तै पसल गरेकालाई ३० हजारदेखि १ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ ।

होटल र पसल गरी बसेका २४ जना आगलागीपछि विस्थापित छन् । त्यस्तै कोठा भाडामा लिई बसेका ३३ जनाको धनमालको क्षति भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै