होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दुर्गमको नियति : बाटोमै मृत बच्चा जन्माइन नर्मताले
समाचार

दुर्गमको नियति : बाटोमै मृत बच्चा जन्माइन नर्मताले

  • नागरिक रैबार
दुर्गमको नियति : बाटोमै मृत बच्चा जन्माइन नर्मताले

बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो । नजिकमा स्वास्थ्य संस्था थिएनन् । व्यथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे । निसीखोलादेखि स्वास्थ्यकर्मी जान सम्भवन थिएन । निसीखोलादेखि विकको घर निसेलढोर पुग्न झण्डै तीन घण्टा लाग्छ ।

आफन्तले ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा खबर गरे । खबर पाउनासाथ क्लिनिकबाट अनमी सीता बुढा मगर विकको घर पुगिन्। उनको घर पुगेर स्वास्थ्य जाँच गर्दा बच्चाको धड्कन सुनिएको थिएन । बच्चाको धड्कन नसुनिएपछि बुढामगरले विकलाई ठूलो अस्पताल लैजानुपर्ने सुझाइन् । भौगोलिक विकटताका कारण यातायात सेवाको पहुँच छैन । नजिकमा अस्पताल नहुँदा बुढामगरले आफन्तलाई डोकोमा बोकेर विकलाई केही तलसम्म ल्याउन भन्दै आफैँ गाडीको व्यवस्थापन गर्न ढोरपाटन फर्किए ।

आफन्तले विकलाई डोकोमा बोकेर केही तल के झारेका थिए, उनले बाटोमै मृत बच्चा जन्माइन् । गाडी लिएर अनमी बुढामगर त्यहीँ पुगिन् । उनले विकको बाटोमै सामान्य उपचार गरिन् र ढोरपाटन ल्याइन्।

विज्ञापन

अनमी बुढामगर भन्छिन्, “विकलाई बिहान देखिनै गाह्रो भएको रहेछ, आफन्तले मलाई खबर गरेर घरमा पुग्दा, उहाँ निकै छट्पटाउनु भएको थियो, जाँच गर्दा बच्चाको धड्कन सुनिएन, मैले बुर्तिवाङ अस्पताल लैजान सुझाए । मृत बच्चा जन्माउनुभयो, रगत धेरै बगिसकेको थियो, स्लाइन पानी दिएर ढोरपाटन ल्याए । अहिले त्यहीँ उपचार भइरहेको छ ।”

विकले ३२ हप्ताको समय नपुगेको बच्चा जन्माएको अनमी बुढामगरले बताइन् । “दुर्गम गाउँमा शिक्षा तथा स्वास्थ्यको पहुँच नहुँदा यस्ता घटना हुने गरेका छन्”, उनले भनिन्, “धन्न अस्पताल पुगेकाले बच्चा बचाउन नसके पनि आमाको ज्यान भने जोगियो ।” विकले गर्भवती भएदेखि स्वास्थ्य परीक्षण नगराएको पाइएको बुढामगर बताइन् । अहिले ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा राखेर विकको उपचार भइरहेको बुढामगरले बताइन् ।

बागलुङका दूरदराजमा अहिले पनि स्वास्थ्य, शिक्षाको सहज पहुँच पुग्नसकेको छैन । त्यसले गर्दा यस्ता नियति दोहोरी रहन्छन् । विगतमा पनि यस्ता धेरै घटना यस क्षेत्रमा हुने गर्थे । ढोरपाटन नगरपालिकाका स्वास्थ्य संयोजक केशव थापाले दुर्गमका महिला अहिले पनि रुढीवादी परम्परालाई आत्मसात् गर्दा यस्ता घटना हुने गरेको बताए ।

ढोरपाटन नगरपालिकाले दुर्गम मानिने ठाउँमा स्वास्थ्य संस्था धेरै स्थापना गरेर सहज स्वास्थ्य सेवाको व्यवस्था गरे पनि अशिक्षाका कारण महिला स्वास्थ्य परीक्षण गराउन नआउने उनको भनाइ छ । थापाले मृत्यु भएको बच्चा जन्माएकी विकले एक पटक पनि गर्भ परीक्षण गराएको रेकर्ड नभएको बताए । “अहिले पनि राम्रा समाजमा रुढीवादी परम्परा कामय छ, दुर्गम गाउँमा धेरै मानिस अशिक्षित छन्, हामीले दुर्गममा स्वास्थ्य सेवा पुर्याउनका लागि स्वास्थ्य संस्था स्थापना गरिरहेका छौँ, तर धेरै नागरिक स्वास्थ्योपचारका लागि आउँदैनन्”, स्वास्थ्य शाखा प्रमुख थापाले भन्नुभयो, “बाटोमा मृतक बच्चा जन्माउने अवस्था आउने थिएन, उहाँले गर्भवती भए पछि एक पटक पनि गर्भ जाँच गराउनुभएको छैन, आमाको ज्यान पनि जोखिममा थियो, बच्चाको मृत्यु भए पनि समयमा हाम्रो स्वास्थ्यकर्मी त्यहाँ पुग्नुभयो र आमाको ज्यान बच्यो ।”

थापाले अहिले पनि ग्रामीण क्षेत्रमा अशिक्षाका कारण स्वास्थ्य तथा गर्भ परीक्षण गराउने बानी नभएको भन्दै यसका लागि आफूहरु लागि रहेको बताए । उनले बच्चा जन्मने समय ४० हप्ता भए पनि विकले ३२ हप्तामै बच्चा जन्मिएको बताए । कम्तीमा तीन पटक भिडियो एक्सरे गर्नुपर्ने भए पनि विकले एक पटक पनि नगराएको उनको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार