होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जनगणनाको अन्तिम नतिजा असोजभित्र
समाचार

जनगणनाको अन्तिम नतिजा असोजभित्र

  • नागरिक रैबार
जनगणनाको अन्तिम नतिजा असोजभित्र

काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले ‘राष्ट्रिय जनगणना २०७८’को नतिजा आगामी असोजभित्र प्रकाशित गर्ने जनाएको छ । मंसिर ९ गते सम्पन्न १२औं राष्ट्रिय जनगणनाको लगतलाई गत चैतबाट प्रशोधन कार्य सुरु गरिएको हो । लगत प्रशोधन कार्यमा सयजना ‘कोडर/इडिटर’, तीन सय जना ‘डाटा इन्ट्री अपरेटर’ र पचास जना जति कर्मचारी दैनिक खटिएका छन् ।

‘दुई महिनामा ३५ प्रतिशत जति डेटा कोडिङ र इन्ट्रीको काम सकिएको छ,’ विभागका निर्देशक ढुण्डीराज लामिछानेले कान्तिपुरसित भने, ‘अहिलेसम्म गण्डकी, कर्णालीका गरी २५ जिल्लाको लगत प्रशोधन भएको छ । र, लुम्बिनीको सुरु गरेका छौं ।’

काठमाडौं महानगरपालिकालगायत काठमाडौं जिल्लाका ६ वटा नगरपालिकामा ट्याबलेटबाट जनगणना लिइएकाले उक्त लगत पुन: प्रशोधन गर्नु पर्ने छैन । निर्देशक लामिछानेले भने, ‘अब कुनै किसिमको महामारी, विपत्ती नआए आगामी असोजसम्ममा नतिजा प्रकाशन गर्ने लक्ष्य छ ।’ देशभरिबाट संकलित जनगणना फारामलाई कुपण्डोलस्थित विभागको गोदाममा राखिएको छ । लगत प्रशोधनका निम्ति थापाथलीस्थित विभागको हातामा रहेको तीन तले भवनलाई ‘डाटा सेन्टर’का रूपमा व्यवस्थापन गरिएको छ । सेन्टरमा कोडर, इडिटर, डेटा इन्ट्री अपरेटर, सुपरभाइजर बिहान र दिउँसो गरी दुई सिफ्टमा खटिइरहेका छन् ।

विज्ञापन

निर्देशक लामिछानेले कामको आधारमा पारिश्रमिक दिइने जनाए । एक जनाले एक अक्षर इन्ट्री गरेबापत ३० पैसा पारिश्रमिक पाउँदछ । एक परिवारको इन्ट्री गर्दा सरदर १० देखि १२ रुपैयाँ पाउने जनाए । ‘एक जनाले मासिक न्यूनतम २० देखि ५० हजार रुपैयाँ पारिश्रमिक बुझ्ने गरेका छन्,’ निर्देशक लामिछानेले भने, ‘पैसाकै निम्ति हतारभन्दा पनि विस्तारै र राम्रोसँग काम गर्न भनिरहेका हुन्छौं ।’

विभागले गत माघमा सार्वजनिक गरेको प्रारम्भिक नतिजाले देशको कुल जनसंख्या २ करोड ९१ लख ९२ हजार ४ सय ८० देखाएको छ । भौगोलिक जनसंख्याका आधारमा ६ दशमलव ०९ प्रतिशत हिमाली भेगमा बसोबास गर्छन् । पहाडमा ४० दशमलव २५ प्रतिशत र तराई भू-भागमा ५३ दशमलव ६६ प्रतिशत बस्छन् । १० वर्षको अन्तरालमा तराईको जनसंख्या ३ दशमलव ३९ प्रतिशतले बढेको छ । त्यसैगरी पहाडको जनसंख्या शून्य दशमलव २४ प्रतिशतले मात्र बढेको देखिन्छ भने हिमालमा शून्य दशमलव ६४ प्रतिशतले जनसंख्या घटेको छ । अन्तिम नतिजामा उक्त संख्या थपघट हुनसक्ने विभागले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार