होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • म्यादी प्रहरी छनोट दसैंअगावै
समाचार

म्यादी प्रहरी छनोट दसैंअगावै

१ लाख १५ हजार म्यादी खटाउन सुरक्षा कार्यविधि तयार, चारवटै सुरक्षा निकायबाट करिब पौने २ लाख सुरक्षाकर्मी परिचालन गरिने

  • नागरिक रैबार
म्यादी प्रहरी छनोट दसैंअगावै

काठमाडौँ — प्रहरी प्रधान कार्यालयले दसैंअगावै म्यादी प्रहरी छनोट गर्ने गरी प्रक्रिया अघि बढाएको छ । प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले जिल्ला–जिल्लामा कायम गरिएका मतदान स्थल र मतदान केन्द्रको अनुपात हेरेर म्यादी प्रहरी भर्नासम्बन्धी प्रक्रिया तथा जिल्लागत रूपमा संख्या निर्धारणको काम दसैंअघि नै सक्ने र नतिजा दसैंपछि प्रकाशन गरिने बताए ।

केन्द्रीय सुरक्षा समितिले निर्वाचनमा चारवटै सुरक्षा निकायबाट करिब पौने २ लाख सुरक्षाकर्मी र १ लाख १५ हजार म्यादी प्रहरी खटाउने गरी सुरक्षा कार्यविधिलाई अन्तिम रूप दिन लागेको छ । सोही क्रममा सोमबार गृह मन्त्रालयले म्यादी प्रहरी छनोटसम्बन्धी कार्यविधि पारित गरेको छ । कार्यविधिमा म्यादीको कार्य अवधि ४० दिन रहने उल्लेख छ ।

प्रहरी प्रवक्ता डीआईजी राईका अनुसार भदौ २६ मा म्यादी भर्नासम्बन्धी सूचना प्रकाशन, भदौ ३० देखि असोज ६ सम्म आवेदन, भदौ ७ मा सम्पर्क मिति, असोज ९ देखि १४ सम्म छनोट गरेर असोज २५ मा नतिजा प्रकाशन गर्ने गरी कार्यतालिका बनाइएको छ । छनोट भएका म्यादीलाई असोज २७ र २८ मा नियुक्तिपत्र दिइने र असोज ३० बाट कात्तिक ८ सम्म तालिम सम्पन्न गरी त्यसको भोलिपल्टबाट प्रहरीको नेतृत्वमा सुरक्षा ड्युटीमा खटाइनेछ । उनीहरूलाई निर्वाचन सकिएको ४ दिनपछि मंसिर ८ मा प्रमाणपत्र दिएर बिदाइ गर्ने तालिका तय भएको प्रहरीले जनाएको छ ।

विज्ञापन

म्यादीका लागि प्रहरी जवानको सुरु तलबमानसरह ४० दिनको ३४ हजार ७ सय ६० रुपैयाँ तलब, रासनबापत एकमुष्ट ७ हजार २ सय, पोसाक भत्ता ६ हजार, एकपटकका लागि प्रतिव्यक्ति १ हजार यातायात खर्च, हिमाली जिल्लामा खटिने म्यादीलाई न्यानो ज्याकेट किन्न प्रतिव्यक्ति थप १ हजार रुपैयाँ दिइने कार्यविधिमा उल्लेख छ । निर्वाचनमा खटिने सैनिक, प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान विभाग र म्यादीलाई चार दिन दैनिक ३ सयका दरले खाजा खर्च उपलब्ध गराउने गरी अर्थ मन्त्रालयले बजेट व्यवस्थापन गरेको छ ।

गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलले मन्त्रालयबाट पारित म्यादी भर्नासम्बन्धी मापदण्ड कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयलाई पठाइएको जानकारी दिए । कार्यविधिमा पूर्वसुरक्षाकर्मी र विगतका निर्वाचनमा खटिएका म्यादीलाई आगामी निर्वाचनमा प्राथमिकतामा राखिनेछ ।

मतदान स्थलको सुरक्षामा प्रहरी र म्यादी रहनेछन् । बाहिरी सुरक्षामा सेना र सशस्त्र आवश्यकताअनुसार खटिने उल्लेख छ । सामान्य सुरक्षा चुनौती भएका मतदान स्थलमा ३ प्रहरी र ५ म्यादी, संवेदनशीलमा ४ प्रहरी र ६ म्यादी तथा अति संवेदनशीलमा ५ प्रहरी र ९ म्यादी खटाउने तयारी छ । प्रहरी प्रवक्ता राईले हिमाल, पहाड, तराई/मधेस र राजधानीसहित सहरी क्षेत्रको सुरक्षा रणनीति र जनशक्ति परिचालन फरक–फरक रूपमा हुने र सोहीअनुसार रणनीति बनाइएको बताए ।

यता, निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा देशभर १० हजार ८ सय ८८ मतदान स्थल निर्धारण गरेको छ । आयोगका अनुसार गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा भन्दा १ सय ३२ मतदान स्थल थप गरिएको छ । स्थानीय तह निर्वाचनमा मतदान स्थलको संख्या १० हजार ७ सय ५६ थियो ।

आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचनमा देशभरका कारागारमा पनि कैदीबन्दीका लागि मतदानको व्यवस्था गरिँदै छ । कारागारमा हुने मतदान स्थल र केन्द्रको भने अन्तिम टुंगो लागिसकेको छैन ।

निर्वाचन आयोग, गृह मन्त्रालय, रक्षा मन्त्रालय तथा चारवटै सुरक्षा निकाय चुनावी सुरक्षा तथा व्यवस्थापन तयारीमा जुटेका छन् । गृह मन्त्रालयका अनुसार आगामी निर्वाचनमा २२ हजार ५ सयदेखि २३ हजारको हाराहारीमा मतदान केन्द्र कायम हुने अनुमान छ । मतदाता नामावली टुंगो लागेपछि मात्रै मतदान केन्द्र यकिन हुने आयोगले जनाएको छ । आयोगले मतदाताको संख्या, सुविधा एवं सुरक्षाको अवस्थासमेतलाई मध्यनजर गरेर मतदान स्थल पुनरावलोकन गरिएको जनाएको छ । ‘२०७९ साउन १ देखि मतदान स्थल पुनरावलोकन कार्यक्रम सञ्चालन गरी मतदाताको सघनता, मतदान स्थलसम्मको पहुँच, भवन, सञ्चार, विद्युत्, यातायातलगायतका पूर्वाधार, सुरक्षा एवं भौगोलिक अवस्था तथा सरोकारवालाको सुझावसमेतका आधारमा मतदान स्थल सिफारिस गरिएको हो,’ सहप्रवक्ता अर्यालले भने ।

पुनरावलोकन गर्दा देशभरका ४ सय १ मतदान स्थल हटाएर नयाँ मतदान स्थल निर्धारण गरिएको उनले बताए । मतदान गर्न बास बस्नुपर्ने, निकै टाढासम्म हिँड्नुपर्नेलगायत समस्या समाधान हुने गरी मतदान स्थल टुंगो लगाइएको आयोगले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार