होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बक्सिङ्गमा पूर्णिमाकि ‘पुनम’ बनेकि पुनम
समाचार

बक्सिङ्गमा पूर्णिमाकि ‘पुनम’ बनेकि पुनम

  • नागरिक रैबार
बक्सिङ्गमा पूर्णिमाकि ‘पुनम’ बनेकि पुनम

भौगोलिक हिसाबले नेपालको विकट जिल्ला मानिने बाजुरामा अझै पनि मानिसहरु न्युनतम आवश्यकता पुरा गर्ने कार्यमै सिमित छन् । आफ्नो आधारभुत आवश्यकता पुरा गर्नमै दिन रात खर्चिने यहाँका मानिस भौगोलिक विकटताका कारण प्रविधिमूलक सेवा सुविधाबाट बञ्चित रहँदै आएका छन् ।

विकासका दृष्टिकोणले पिछडिएको हिमाली जिल्ला बाजुरामा अहिले पनि यातायात, शिक्षा, स्वास्थ्य लगायत विषयमा राम्रो पहुँच छैन । यहाँका मानिसहरु २१ औं शताब्दीमा पनि न्युनतम आवश्यकता पुरा गर्ने मानसकिताबाट माथि उठ्न सकेका छैनन् । यस्तोमा यहाँ खेलकुद विकासको कल्पना गर्नु मरुभुमिमा पानी खोज्नु सरह बनेको छ । र पनि, बाजुराका केहि खेलाडीले यहाँ पनि खेलकुदको सम्भावना राम्रो छ भन्ने बारे प्रमाणित भने गरि सकेका छन् । बाजुरामा औंलामा गन्न पुग्ने केहि त्यस्ता खेलाडी जन्मिएका छन्, जो अहिले नेपालमा मात्र नभई विदेशी भुमिमा पनि नेपालको झण्डामुनि आफ्नो छाती चौंडा गरि खेल्दै आएका छन् ।

त्यहि औंलामा गन्न पुग्ने मध्यकि एक बाजुराकी खेलाडी हुन्, उनी पनि । सानैदेखि खेलमा रुचि भएकि उनले केहि फरक शैलीबाट आफूलाई देश तथा विदेशमा परिचित गर्ने हिसाबले बक्सिङ्ग खेललाई रोजेकि थिइन् । २०६० को दशक त्यसैमाथि बजुरामा बक्सिङ्ग खेल्छु भनेर १५ वर्षकि बालिका लागि परिरहँदा उनको कुरा काट्न गाउँलेले कुनै कसर बाँकी राखेनन् । गाउँकै दिदिहरु कोपिला सिंह र धनी थापाले बक्सिङ्ग खेलेको अन्यको मुखबाट सुन्दा उनी बक्सिङ्ग खेलतर्फ आकर्षित भएकि थिइन् । विकट जिल्ला भएपनि सदरमुकाम मार्तडीमै आफ्नो घर भएकोले उनलाई बक्सिङ्गको प्रशिक्षण लिन त्यति संघर्ष गर्नुपरेन । निम्न वर्गिय पारिवारिक माहोलमा हुर्किएकि उनले बक्सिङ्ग शुभारम्भ, आवश्यक साम्रगी विना नै गरिन् । खेलको लागि आफुलाई पोख्त बनाउन उनी बिहान बिहानै खाली खुट्टा दौडने गर्थिन् ।

विज्ञापन

यसरी खालि खुट्टाले दौडिएको देख्दा गाउँलेले फलानोकि छोरी बहुलाई अब यसको कुनै काम छैन भन्दा उनलाई निकै कुठराघात भएको थियो जस्ले उनको मनमा ठूलो चोट पुर्याएको थियो, जुन घाउ अहिले पनि उनको मानसपटलमा ताजै छ । तर उनले हिम्मत भने हारिनन्, आफ्नो लक्ष्यलाई अर्जुनदृष्टि लगाउँदै दिनरात मिहिनेत गरेर आफ्नो खेलमा अझै निखारपन ल्याउँदै गइन् । सामान्य प्रशिक्षण, सिमित भौतिक पूर्वाधार तथा खेल सामग्रीका बावजुद पनि अन्तर्राष्ट्रिय व्यक्तित्व बनाउन सफल भएकि उनले जिल्ला खेलकुद विकास समिति बाजुराबाटै आधिकारिक रुपमा बक्सिङ्गको शुभारम्भ गरेकि थिइन् । यसरी बक्सिङ्ग खेल्न शुरु गरि अन्तर्राष्ट्रियस्तरमा आफूलाई एक अब्बल महिला बक्सिङ्ग खेलाडीको रुपमा परिचित गराउन सफल भएकि उनी हुन्, पुनम रावल ।

भनिन्छ, हर असम्भव विषय सम्भवमा रुपान्तरित हुनुमा मानिसको इच्छाशक्ति पहिलो खुड्किलो हो । जब मान्छेलाई कुनै कुरा प्रातिको भोग जाग्छ, तब उसले हर जटिल परिस्थितिलाई सरल बनाउने जमर्को कस्छ । यस्तै जमर्को पुनमले पनि कसिन, विकट बाजुराकि यी चेलीलाई खेलकुदमा आफ्नो भविष्य बनाउन त्यति सहज थिएन । त्यसमाथि बक्सिङ्ग खेल्न थालेको थाहा पाएर घर गाउँलेले उनलाई पागलको उपमाको संज्ञा समेत दिएका थिए । तर नरम र लजालु स्वभावकि पुनम खेलकुदको यो चुनौतीपूर्ण विधामा भने नितान्त भिन्न रूपमा उत्रिइन् । यहि विरोधाभासलाई आफ्नो परिचय बनाएर पुनम ११ वर्षदेखि निरन्तर बक्सिङ्ग खेलि राखेकि छन् । आफुलाई उत्कृष्ट अन्तर्राष्ट्रिय खेलाडीको रूपमा स्थापित गर्न समेत सफल भएकि छन् ।

बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा विसं २०५३ साल असार १४ गते बुवा धन रावल र आमा तुला रावलको कोखबाट जन्मिएकि पुनम परिवारको चौथो सन्तान हुन् । उनको परिवारमा तीन दिदि र एक भाई छन् । बाजुराको सदरमुकामस्थित मालिका उच्च माध्यमिक विद्यालयबाटै उनले बक्सिङ खेल्न शुरु गरेकि थिइन् । सोहि विद्यालयबाट एसएलसी सम्मको पढाई पुरा गरेपिछ उनले खेल लगायत अन्य व्यस्तताका कारण त्यसपछिको पढाईलाई निरन्तरता दिन सकिनन् । बक्सिङ्गको आधारभूत प्रशिक्षण उनले योगेन्द्र थापाबाट लिएकि थिइन् । उनकै प्रशिक्षणमा पुनमले बाजुरा र झापा जिल्लाबाट स्थानीय स्तरको प्रतियोगिताहरुमा सहभागिता जनाइन् । जिल्ला तथा अञ्चलस्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकि पुनमले ०७० मा राष्ट्रिय प्रतियोगिताको रूपमा रहेको लुम्बिनी च्याम्पियनशिपमा सहिभागि हुने मौका पाइन् । सो प्रतियोगितामा पुनम विभागिय टोली त्रिभुवन आर्मीका खेलाडीबिरुद्ध उत्कृष्ट प्रदर्शन गर्न सफल भइन् ।

यसै प्रतियोगितामा उनको खेल शैलीबाट लोभिएका तत्कालिन मेजर सागरशम्शेर थापाले त्यसपछि पुनमलाई आर्मीमै भर्ना हुन निम्तो दिए । त्यसपछि त उनलाई ‘के खोज्छस कानो आँखो’ भनेजस्तै भयो । कमजोर पारिवारिक अवस्थाका बावजुद पनि बक्सिङ्गलाई आफ्नो प्राथमिकतामा राख्दै आएकि उनी त्यसपछि पारिवारिक सहमतिमा बक्सिङ्गसँगै जागिरलाई पनि अघि बढाउने हिसाबले ०७१ सालमा आर्मीमा आबद्ध भइन् । मेजर सागरशम्शेर थापाकै पहलमा आर्मीमा आवद्ध हुने मौका पाएकि पुनम बक्सिङ्ग खेलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा अहिलेसम्म मिलेको सफलताको पहिलो श्रेय आर्मी क्लबलाई नै दिन्छिन् । पुनम ८ वर्षदेखि नियमित रुपमा आर्मीबाटै घरेलु प्रतियोगिता खेल्दै आएकि छिन् । आर्मीमा आवद्ध भएपछि अहिलेसम्म खेलिएका अधिकांश राष्ट्रिय प्रतियोगितामा उनी च्याम्पियन बनेकि छिन्।

आर्मीमा आवद्ध भएपछि बक्सिङ्गको आधिकारिक प्रशिक्षण लिने राम्रो मौका पाएकि पुनमको खेलमा अझै निखारता थपिदै गयो । आर्मीमा आवद्ध भएपछि पुनमले प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता (२०७३), झापामा भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता (२०७३, ६४ केजी तौल समूहमा राष्ट्रिय च्याम्पियन), दोस्रो विर गणेशमान राष्ट्रिय बक्सिङ्ग च्याम्पियनसिप (२०७४, ६४ केजी तौल समूह प्रथम), राखेप च्याम्पियनसिप (२०७४, ६४ केजी तौल समूह, प्रथम), प्रधानसेनापति ट्रफी (२०७५, ६० केजी तौल समूह, प्रथम), नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता (२०७६, ६०–६४ केजी तौल समूहमा राष्ट्रिय च्याम्पियन), प्रधानसेनापति ट्रफी (२०७६, ६० केजी तौल समूह, प्रथम), विर गणेशमान सिंह राष्ट्रिय बक्सिङ्ग च्याम्पियनसिप (२०१९, ६४ केजी तौल समूह, प्रथम), पहिलो इन्द्रमाया महर्जन स्मृति अन्तर्राष्ट्रिय बक्सिङ्ग प्रतियोगिता (२०१९, ६० केजी तौल समूह, दोस्रो), विर गणेशमान सिंह राष्ट्रिय बक्सिङ्ग च्याम्पियनसिप (२०२२) लगायत थुप्रै राष्ट्रिय प्रतियोगिता खेलेकि पुनमले आफूलाई सफल खेलाडीको रुपमा स्थापित गराई सेकेकि छिन् । सातौं राष्ट्रियमा पहिलो पटक राष्ट्रिय च्याम्पियन बन्दाको समयलाई पुनमले आफ्नो जीवनको अविष्मरणीय क्षणको रुपमा लिन्छिन् ।

कुट्ने अनि कुटाइ खाने अनुभव बक्सिङ्ग खेलाडीले राम्रै बटुलेका हुन्छन् । त्यस्तै अनुभव बटुलीसकेकि पुनम बक्सिङ्ग खेलाडी भईसकेपछि अलिअलि कुटाइ सहन सक्ने क्षमता खेलाडीमा हुनुपर्ने र कुट्ने बेला मायाको भावना अघि ल्याउन नहुने बताउँछिन् । उनको यहि स्वभावले नै उनी खेलिएका अधिकांश प्रतियोगितामा च्याम्पियन बन्न सफल भएकि छिन् । राष्ट्रिय महिला बक्सिङ्गमा एक अनुभवी र प्रतिभाशाली खेलाडीले परिचित पुमनसँग केहि अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव पनि छ । उनले नेपालमा मात्र नभई चीन, भारत, रसिया, इन्डोनेसिया, भियतनाम लगायत देशमा गएर समेत बक्सिङ्गमा प्रतिस्पर्धा गरिसकेकि छिन् ।

पुनमले अहिलेसम्म खेलेको अन्र्ताष्ट्रिय प्रतियोगिताहरुमा १८ औं एशियन गेम्स (२०१८, ६० केजी तौल समूह, जार्काता), इण्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ्ग प्रतियोगिता (२०१८, ५६ केजी तौल समूह, दिल्ली), इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ्ग प्रतियोगिता (२०१८, रजत पदक, दिल्ली), आईबा महिला विश्व बक्सिङ्ग च्याम्पियनसिप (२०१८ नयाँ दिल्ली), १३ औं दक्षिण एशियाली खेलकुद (२०१९, कास्य पदक, नेपाल), ५८ औं विश्व मिलिटरी बक्सिङ्ग च्याम्पियनसिप (२०२१, रसिया) र थाईल्याण्ड ओपन अन्तर्राष्टिय बक्सिङ्ग प्रतियोगिता (२०२२, रजत पदक, थाइल्याण्ड) रहेका छन् ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो अनुभव बटुलेकि पुनम अहिले दुई ठूला अन्तर्राष्ट्रिय बक्सिङ्ग प्रतियोगिताको तयारीमा छिन् । सोहि अन्तर्गत यहि बैशाख २३ गतेदेखि जेठ १२ गतेसम्म टर्कीको स्तानबुलमा हुने महिला विश्व बक्सिङ्ग च्याम्पियनसिप र आगामी सेप्टेम्बरमा चीनको ह्वाङ्जावमा हुने १९ औं एशियन गेम्स रहेका छन् । यी दुवै प्रतियोगितामा नेपालले अहिलेसम्म ठूलो उपलब्धि भने हासिल गर्न सकेको छैन । पर्याप्त अन्तर्राष्ट्रिय एक्स्पोजर, घरेलु प्रतियोगितामा निरन्तरता र लगातारको प्रशिक्षणले पुनम लगायत नेपाली महिला बक्सिङ्ग टोलीले यसपटक पदकको खडेरी तोड्ने अपेक्षा रहेको पुनम बताउँछिन् । यसै प्रतिगोगितामा केन्द्रित रहि हाल नेपालबाट पुनमसँगै शुष्मा तामाङ्ग, मिनु गुरुङ्ग र चन्द्रकला थापा निरन्तर प्रशिक्षणमा छन् । पुनमले पनि लामो समयदेखि अधुरो रहँदै आएको सपना यो पटक पदक जितेर पुरा गर्ने अठोटसहित तयारी गरिरहेकि छिन् ।

उमेरले २६ औं वसन्त पार गर्दै गरेकि पुनम केहि वर्ष अझै खेल्ने र राष्ट्रको नाम अन्तर्राष्ट्रियस्तरमा रोशन गर्ने पक्षमा छिन् । पुनम गत वर्ष बैशाखमा आफ्नै गृहजिल्ला बाजुरास्थित हिमाली गाउँपालिकाका मदनराज पाण्डेसँग बैबाहिक सम्बन्धमा बाँधिएकि थिइन् । इन्जियर पेसामा आवद्ध मदनराजसँगको ६ वर्षको प्रेम सम्बन्धलाई पुनमले गत वर्ष मात्र विवाहमा परिणत गरेकि थिइन् । विवाहपछि आफ्नो व्यक्तिगत केहि जिम्मेवारी थपिएको बताउने पुनम आफ्नो श्रीमान अनि परिवार सपोर्टिभ भएकोले विवाहपछि पनि खेलमा कुनै प्रभाव नपरेको बताउँछिन् । त्यसैले हौसिएकि पुनमले शरिरले साथ दिएसम्म बक्सिङ्गमै रमाउने योजना बनाएकि छिन् । आफुले बक्सिङ्ग खेलवाट सन्यास लिएपछि पनि महिला बक्सिङ्ग खेलको विकासमा विशेष भूमिका निर्वाह गर्ने उनले प्रतिवद्धता जाहेर गरिकि छिन् ।

बक्सिङ्ग खेल्नकै लागि आर्मीमा आवद्ध भएकि पुनम आर्मी क्लबले आफ्नो खेल जीवनलाई धेरै सहज बनाईदिएको बताउँछिन् । आफ्नो जीवनको उर्जावान समय बक्सिङ्ग खेलमै व्यतित गरेकि पुनम पछिल्लो समय नेपालमा बक्सिङ्गको विकासका लागि नेपाल बक्सिङ्ग सघंले राम्रो प्रयास गर्दै आएको बताउँछिन् । संघले वर्तमान सयममा जतिपनि नयाँ प्रयासहरु गरेको छ, ती प्रयासले निरन्तरता पाउने हो भने नेपालमा नयाँ पुस्ताका बक्सिङ्ग खेलाडीको भविष्य अझै सुनिश्चित हुने उनी बताउँछिन्। जसले बक्सिङ्गमा नयाँ पुस्ताका खेलाडीलाई आकर्षण गर्न पनि सहयोग पुग्ने उनको धारणा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार