होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जसले टिकट पाइन्, उम्मेदवारी दर्ता गर्न पाइनन्
समाचार

जसले टिकट पाइन्, उम्मेदवारी दर्ता गर्न पाइनन्

  • नागरिक रैबार
जसले टिकट पाइन्, उम्मेदवारी दर्ता गर्न पाइनन्

जुम्ला — जुम्ला हिमा गाउँपालिका २ की विनाशा रोकायाको नाममा नेकपा माओवादी केन्द्रले टिकट निश्चित गरिसकेको थियो । ‘उनलाई फोनबाट टिकट भइसक्यो; मनोनयन दर्ताको लागि कागजपत्र तयार गर्नू’ भन्नेसमेत खबर आइपुग्यो । उनले आफन्त र नातेदारलाई टिकट आइसकेको सुनाइन् । सामाजिक सञ्जालमा बधाई दिनेको ओइरो लाग्न थाल्यो ।

माओवादी केन्द्रले विनाशाको नाममा उपाध्यक्षको टिकट बनिसकेको विभिन्न सञ्चारमाध्यममा समेत समाचार बन्यो । उनी मनोनयन दर्ताका लागि अध्यक्षको उम्मेदवारसहितको लाइनमा कार्यकर्ताको भव्य स्वागतसँगै नारा जुलुस गर्दै निर्वाचन अधिकृतको कार्यालयमा पुगिन् ।

त्यहाँ विनाशाको नाम सफ्टवयरले लिन मानेन । सोधीखोजी गर्दा हिमा-१ की कल्पना दमाईको नामको टिकट उपाध्यक्षमा मनोनयन दर्ता भइसकेको देखियो । विनाशा अक्कमक्क परिन् । न हाँस्न सकिन् न त रुन नै । एकोहोरो टोलाएर लाइनबाट बाहिर निस्किइन् ।

विज्ञापन

उनको हातमा नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष बिमला केसीको नाम, छाप र दस्तखत भएको टिकट अहिले पनि सुरक्षित छ । अहिले टिकट देखाएर न्यायको खोजीमा छिन् । उनले भनिन्, ‘पार्टीभित्र देखिएको यो गलत रवैयाको पर्दाफास हुन जरुरी छ । दोषीउपर कारबाहीको माग गर्दछु ।’

उपाध्यक्षको टिकटमा अर्कैको नाम दर्ता भइसकेपछि उनी स्वतन्त्रमा उपाध्यक्षको उम्मेदवार बनेकी छन् । उपाध्यक्ष पदका लागि भएको विवादका कारण अहिले हिमामा नेकपा माओवादी केन्द्र विभाजित भएको छ ।

२०७४ सालमा अध्यक्ष र उपाध्यक्ष जितेको हिमामा यही विवादका कारण माओवादीमा विवाद सिर्जना हुन थालेको छ । यही विवादलाई लिएर १४ गते माओवादीभित्रै झडप भएको थियो ।

झडपमा परी एक जना घाइते भए । उपाध्यक्षको टिकटको विषयलाई लिएर बागी उम्मेदवार र पार्टीको उम्मेदवार पक्षबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा माओवादी केन्द्रको जिल्लाबाट २ जनाको नाममा टिकट आएपछि दुई पक्षबीच झडप भएको थियो । कल्पना परियारले माओवादी केन्द्रको उपाध्यक्षमा पहिला उम्मेदवारी दर्ता गराएको र अर्को विनाशा रोकायाको नाममा समेत उपाध्यक्षमा मनोनयनका लागि पार्टीको अर्को टिकट आएपछि उनको उम्मेदवारी रोकिएको निर्वाचन अधिकृत रितु राईले बताइन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गजेन्द्रबहादुर महतले टिकट विनाशाको नाममा पठाएको बताए । उनले स्थानीय तहमा कल्पनाको नाम दर्ता गराइसकेकाले समस्या भएको बताए । समस्या समाधानका लागि पालिका कमिटीले सक्रियता देखाउनुपर्ने उनको भनाइ छ ।

नेकपा माओवादी केन्द्रले २०७४ सालको स्थानीय तहमा अध्यक्षसहित धेरै पद जितेको थियो । यो वर्ष वडामै पनि स्वतन्त्र दिनेको संख्या बढेको छ । यसले गर्दा माओवादी केन्द्रलाई हिमा गाउँपालिकामा जित्न चुनौतीपूर्ण स्थितिको सामना गर्नुपर्ने देखिएको छ ।

वडा प्रतिनिधिको नाममा गएको खाली टिकटमा उपाध्यक्ष कल्पनाको नाम भरेर मनोनयन दर्ता गरेको विनाशा पक्षको आरोप छ । अहिले कल्पना दमाई माओवादी केन्द्रको आधिकारिक उपाध्यक्षको उम्मेदवार बनेर गाउँमा गएकी छन् भने विनाशा स्वतन्त्र उम्मेदवार बनेर प्रचारप्रसारमा जुटेकी छन् ।

पालिकामा समस्या बल्झिँदै जान थालेको छ । पालिका अध्यक्षमा अमरजंग शाही उम्मेदवार बनेका छन् ।

टिकट पाए पनि उम्मेदवारी दर्ता गर्न नपाएकी विनाशा । कान्तिपुरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार