होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्थानीय तहले मानेनन् विद्यालय बन्द गर्ने निर्णय
समाचार

स्थानीय तहले मानेनन् विद्यालय बन्द गर्ने निर्णय

  • नागरिक रैबार
स्थानीय तहले मानेनन् विद्यालय बन्द गर्ने निर्णय

१८ चैत, काठमाडौं । केही दिनयता बढेको वायु प्रदूषणबाट बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर नपरोस् भन्ने उद्देश्यले संघीय सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णय गर्‍यो । उक्त निर्देशन रुपन्देहीका स्थानीय तहका अधिकांश शैक्षिक संस्थाले भने उल्लंघन गरेका छन् ।

संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत १६ गते नै देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको थियो । तर रुपन्देहीमा यो निर्णय लागू भएको छैन । संघीय सरकारको निर्णय बेवास्ता गर्दै रुपन्देहीको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोधन गाउँपालिकालगायतका विद्यालयहरू पूर्ववत् अवस्थामा सञ्चालन भएका छन् ।

 

विज्ञापन

बुटवल उपमहानगरपालिकामा सामुदायिक विद्यालयले सरकारको निर्देशन पालना गरेपनि निजी विद्यालयहरूले भने कक्षा सञ्चालन गरेका छन् । तिलोत्तमामा सामुदायिक र निजी दुवैथरी विद्यालय सञ्चालनमा छन् ।

शुद्धोधन गाउँपालिकाले सूचना नै जारी गरेर विद्यालय बन्द नहुने जानकारी गराएको छ । वायु प्रदूषणको असरबाट जोगिन अत्यावश्यक काम वाहेक घर बाहिर निस्कन नहुने, मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने र सकभर चस्माको समेत प्रयोग गर्नुपर्ने चिकित्सकले सुझाव छ । तर रुपन्देहीमा संघीय सरकारको निर्णय अटेर गरी सञ्चालन गरिएका विद्यालयहरूमा यी सुरक्षा उपाय समेत अपनाइएको छैन ।

विद्यार्थी विना मास्क विद्यालय जाने आउने गरेका छन् । रुपन्देहीमा वायू गुणस्तर सूचकांक सरदर १३५ एक्यूआई रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका वातावरण निरीक्षक निर्मल चौधरी बताउँछन् । प्रदूषणको यो मात्रा संवेदनशील जनसंख्या (बालबालिका, बृद्धबृद्धा ) का लागि जोखिमयुक्त रहेको चौधरीले बताए ।

‘काठमाडौंमा भन्दा कम भएपनि रुपन्देहीको वायू प्रदूषणको मात्रा मानव स्वास्थ्यका लागि स्वच्छ छैन, त्यसैले प्रदूषणको असरबाट जोगिनैपर्छ’, प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेल स्थानीय तहहरुको निर्णयमा एकरुपता नभएकाले कतै विद्यालय खुल्ने, कतै बन्द हुने अवस्था आएको बताउँछन् ।

‘प्याब्सनले संघीय सरकारको निर्देशन पालना गरौं भनेको छ, तर कतिपय स्थानीय तहले आफै सूचना निकालेर विद्यालय सञ्चालन गर्ने भनेका छन्’, पौडेलले भने, ‘स्थानीय सरकारकै कारण अन्योल देखियो ।’ तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले संघीय शिक्षा मन्त्रालयको निर्देशन सबै विद्यालयले पालना गर्लान् भनेर छुट्टै सूचना निकालेर विद्यालय बन्द गर्न नभनिएको बताए ।

‘तर केन्द्रको निर्देशन पालना भएको देखिएन, अब वातावरणमा सुधार नआए आइतबार अगावै नयाँ निर्णय गर्नुपर्ने हुन्छ’, उनले भने । वायू प्रदूषणले आँखा पोल्ने, आँखा बिझाउने, चिलाउने, खोकी लाग्ने समस्या सुरु भइसकेको बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठकले बताए ।

‘वायू प्रदूषणको असर देखिन थालेको छ, बालबालिकाको स्वास्थ्य भन्दा ठूलो केही होइन’पाठकले भने, ‘हामीले सरकारको निर्देशन अनुसार विद्यालय र क्याम्पस दुबै बन्द गरेका छौं, तर सबैले पालना गरेको देखिएन ।’

वायु प्रदूषण कोभिड–१९ संक्रमित, बालबालिका र वृद्धका लागि घातक हुने लुम्बिनी प्रादेशिक अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा. सुदर्शन थापा बताउँछन् । वायु प्रदूषणले तत्काल खास ठूलो असर नदेखाए पनि दीर्घकालीन रूपमा फोक्सोको क्यान्सर, मुटुको समस्या, श्वासप्रश्वासको समस्या बल्झाउने भएकाले बिनाकारण घर बाहिर ननिस्कने, गुणस्तरीय मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने डा. थापाको सुझाव छ ।

देशका विभिन्न स्थानको डढेलो, पेट्रोलियम पदार्थबाट चल्ने गाडीहरुले निकाल्ने धुँवा र उद्योगहरूले उत्सर्जन गर्ने कार्बन मोनोअक्साइड ग्यासका कारण वायु प्रदूषण बढेको वातावरणीय सचेतना तथा कानूनी जनसरोकार मञ्च (फिल्पेक)का अध्यक्ष अधिवक्ता जीवनारायण अधिकारी बताउँछन् । यस्तो अवस्थामा सरकारको निर्णय कार्यान्वयन हुनुपर्नेमा यहाँका कतिपय शैक्षिक संस्थाले त्यो नगरेकोमा उनले चिन्ता व्यक्त गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार