होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र ६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सामुदायिक विद्यालयमा नयाँ विद्यार्थी भर्ना बढ्यो
समाचार

सामुदायिक विद्यालयमा नयाँ विद्यार्थी भर्ना बढ्यो

विद्यार्थीको चाप बढेपछि विश्व निकेतनले रोक्यो भर्ना

  • नागरिक रैबार
सामुदायिक विद्यालयमा नयाँ विद्यार्थी भर्ना बढ्यो

असार, काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु भएसँगै असार १ गतेदेखि देशभरका विद्यालयमा भर्ना अभियान थालिएको छ । भर्ना अभियान सुरु भएको एक सातामै केही सामुदायिक विद्यालयहरूमा नयाँ भर्ना हुन आउने विद्यार्थीको संख्या बढेको छ ।

कोरोना महामारीको प्रभावका कारण सामुदायिक विद्यालयहरूमा नयाँ भर्ना हुन आउने विद्यार्थीको संख्या बढिरहेको उनीहरूको भनाइ छ । कोरोना महामारीका कारण व्यापार, व्यवसाय सबै ठप्प हुँदा धेरै अभिभावकको आयस्रोत पनि बन्द भएको छ । यस्तो अवस्थामा पनि निजी विद्यालयले अनलाइन कक्षाका नाममा लिने महंगो शुल्क र पढाइएको प्रभावकारिता नदेखिँँदा सामुदायिक विद्यालयतर्फ आकर्षण बढेको प्रधानाध्यापकहरू बताउँछन् ।

अहिले विद्यालयहरूले विभिन्न विधिमार्फत भर्ना गरिरहेका छन् । विद्यालय आएर भर्ना गर्न सक्नेलाई भौतिक दुरी कायम राखेर भर्ना लिने, अनलाइनबाट, फोनबाट समेत भर्ना लिइरहेका विद्यालयहरूमा नयाँ भर्ना हुन आउने विद्यार्थीको संख्या बढेको हो ।

विज्ञापन

कोरोनाको कारण व्यापार, व्यवसाय, रोजगार, मजदुरी सबै ठप्प हुँदा अभिभावक आर्थिक संकटमा परेका छन् । अब उनीहरूले मासिक महँगो शुल्क तिरेर निजी विद्यालयमा पढाउन सक्ने सम्भावना छैन । त्यसैले सामुदायिक विद्यालयको खोजी बढेको सामुदायिक विद्यालयहरूको भनाइ छ ।
नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी भने अहिले नै सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढेको भन्न नसकिने बताउँछन् । उनी भन्छन्, ‘विद्यालयगत केही बढेको होला । तर समग्रमा सामुदायिक विद्यालयमा नै विद्यार्थीको संख्या बढेको भन्न सकिने अवस्था छैन । भर्ना प्रकृया सकिएपछि मात्रै भन्न सकिएला ।’

विश्व निकेतनले रोक्यो भर्ना

काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन माविले भर्ना अभियान सुरु गरेको पहिलो सातामै कक्षा ८ र ९ को भर्ना बन्द गरेको छ । पुराना विद्यार्थी नघटेको र नयाँ थपिनेको संख्या अत्यधिक बढेको भन्दै भर्ना रोकिएको हो । विद्यालयले धान्न सक्नेभन्दा बढी विद्यार्थी आउन थालेपछि भर्ना रोक्नुपरेको प्रधानाध्यापक प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए ।

‘यसपटक हाम्रो विद्यालयमा नयाँ भर्ना हुन आउने विद्यार्थीको संख्या अत्यधिक छ । त्यसैले कक्षा ८ र ९ मा भर्ना बन्द गरेका छौं,’ उनले भने, ‘भर्ना लिएर मात्रै हुँदैन । धेरै विद्यार्थी भएपछि पढाउनका लागि शिक्षक पनि आवश्यक हुन्छ । बाध्य भएर भर्ना नै रोक्नुपरेको छ ।’ साना कक्षामा पनि नयाँ भर्ना हुन आउनेको संख्या बढेको उनको भनाइ छ ।

ललितपुरको मदन स्मारकमा पनि गत वर्षको तुलनामा विद्यार्थी भर्ना बढेको प्रधानाध्यापक गोविन्द पौडेलले बताए । पौडेल भन्छन्, ‘यो वर्ष बढ्छ भन्ने कुरा त यो सुरुवाती एक हप्ताले नै देखाएको छ । दैनिक नयाँ भर्नाका लागि फोन आउने, भौतिक रुपमा बुझ्न आउने अभिभावकहरू बढिरहनुभएको छ ।’

कोरोनाको कारण व्यापार, व्यवसाय, रोजगार, मजदुरी सबै ठप्प हुँदा अभिभावक आर्थिक संकटमा परेका छन् । दैनिक ल्यालादारी गरेर भए पनि आफ्ना बालबालिका संस्थागत विद्यालयमा पढाउने अभिभावकहरू छन् । अब उनीहरूले मासिक महँगो शुल्क तिरेर संस्थागत विद्यालयमा पढाउन सक्ने सम्भावना छैन । त्यसैले सामुदायिक विद्यालयको खोजी बढेको सामुदायिक विद्यालयहरूको भनाइ छ ।

तनहुँको रत्न माध्यमिक विद्यालयले पनि नयाँ भर्ना हुन आउने विद्यार्थी बढिरहेको जनाएको छ । संस्थागत विद्यालय पढिरहेका निम्न मध्यम वर्गका बालबालिका भर्ना हुन आउने क्रम बढेको प्रधानाध्यापक रमेशबाबु भट्टराईले बताए ।

अनलाइन कक्षाको नाममा संस्थागत विद्यालयहरूले उठाउने अतिरिक्त शुल्कको भारका कारण पनि कतिपय अभिभावक सामुदायिक विद्यालयतर्फ आउन थालेको प्रधानाध्यापक भट्टराईको अनुभव छ ।

अहिले संस्थागत विद्यालयबाट सामुदायिक विद्यालयतर्फ जाने मात्रै नभएर शहरबाट, सदरमुकाम, सदरमुकामबाट गाउँ फर्कने क्रम पनि देखिन थालेको ईलाम नगरपालिकाको नन्द मावि गोदकका प्रधानाध्यापक उमेश बुढाथोकीको अनुभव छ ।

भीडभाडमा जाँदा सर्ने भाइरसले महामारी फैलायो । उनको भनाइअनुसार संक्रमणको डरले शहरमा पढाइरहेका सदरमुकामका अभिभावकले आफूसँगै राख्ने क्रम बढेको छ ।

ग्रामीण क्षेत्रमा संस्थागत विद्यालय पढ्ने बालबालिकाका अभिभावकहरूमध्ये केही बैदेशिक रोजगारीमा रहेका र केही व्यापार व्यवसाय गर्ने गर्छन् । अहिले यी सबै क्षेत्र प्रभावित छन् । जसका कारण संस्थागत विद्यालयबाट सामुदायिक विद्यालयमा बालबालिका सार्ने क्रम पनि बढेको छ । उनी भन्छन्, ‘अहिलेको स्थिति हेर्दा करिब १० प्रतिशत निजीबाट आउने सम्भावना छ ।’

सामुदायिक विद्यालयमा विद्यार्थी बढ्नुको कारण

सामुदायिक विद्यालयमा नयाँ भर्ना हुन आउनेको संख्या बढ्नुमा विभिन्न कारण औंल्याएका छन् अभिभावक र प्रधानाध्यापकहरूले । उनीहरूका अनुसार मुख्य कारण कोभिडले निम्त्याएको आर्थिक मन्दी नै हो । दोस्रो कारण भने सामुदायिक विद्यालयले उकासेको शैक्षिक गुणस्तर र तेस्रो अंग्रेजी माध्यमप्रति बढ्दो आकर्षणलाई मानिएको छ । अर्को कारण चाहिँ सरकारले दिने उच्च शिक्षाको छात्रवृत्ति ।

कोभिडका कारण अभिभावकको आयस्रोत घटेका बेला संस्थागत विद्यालयले लिने चर्को शुल्क र आयस्रोतमा कमी भएका कारण सामुदायिक विद्यालयमा नयाँ भर्ना हुन आउने विद्यार्थीको संख्या बढेको बताउँछन् विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेल ।

उनी भन्छन्, ‘पहिलो त अभिभावकको आयस्रोत घटेको छ । दोस्रो हामीले विद्यालयको शैक्षिक गुणस्तर पनि उकासेका छौं । त्यसले पनि अभिभावक आकर्षित हुनुभएको हो ।’

तनहुँ रत्न माविका प्रधानाध्यापक भट्टराई विद्यालयको गुणस्तरसँगै कोरोनाका कारण अभिभावकले झेल्नु परेको आर्थिक संकटलाई मान्छन् । उनी भन्छन्, ‘समयसँगै सामुदायिक विद्यालयहरूको गुणस्तर बढ्दो छ । तर अहिले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ्नुको मुख्य कारण अभिभावकको आर्थिक संकट होजस्तो लाग्छ ।’

केही सामुदायिक विद्यालयले लकडाउन, निषेधाज्ञामा संस्थागत विद्यालयभन्दा व्यवस्थित वैकल्पिक माध्यामबाट कक्षा चलाए । त्यस्ता केही विद्यालयका कारण पनि सामुदायिक विद्यालयतर्फ अभिभावकहरू आकर्षित हुन थालेको नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी बताउँछन् ।

उनी भन्छन्, ‘लकडाउन, निषेधाज्ञाको समयमा केही सामुदायिक विद्यालयहरूले उत्कृष्ट काम गरे । जसको कारण सामुदायिक विद्यालयप्रतिको धारणा सकारात्मक बन्दै गइरहेको छ ।’

सरकारले उच्च शिक्षामा दिने छात्रवृत्तिका लागि अहिले कक्षा ६ देखि सामुदायिक विद्यालयमा पढेको हुनुपर्नेछ । त्यसले पनि सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ्नसक्ने भण्डारीको तर्क छ ।

इलाम गोदकस्थित नन्द माविका प्रधानाध्यापक बुढाथोकी सामुदायिक विद्यालयहरूले अपनाउन थालेको अंग्रेजी माध्यमका कारण पनि सामुदायिक विद्यालयमा अभिभावकको आकर्षण बढेको देख्छन् । उनी भन्छन्, ‘अंग्रेजी माध्यममा पढाउनु सफलता मान्ने अभिभावकहरूको कारण अंग्रेजी माध्यममा पढाउने सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढिरहेको छ ।’

धरानस्थित पब्लिक उच्च माविमा गएको केही वर्षयता हरेक वर्ष नयाँ भर्ना हुन आउनेको चाप बढेको छ । त्यसको मुख्य कारण अंग्रेजी माध्यममा पढाइ हुनु मान्छन् प्रधानाध्यापक इन्द्रमोहन झा । भन्छन्, ‘केही वर्षयता नयाँ भर्ना हुन आउने विद्यार्थीको चाप बढ्दो छ । त्यसको मुख्य कारण अंग्रेजी माध्यममा पढाइ हुनु हो ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार