होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • एमालेमा विपत्ति : ओली–नेपाल दुवै सङ्कटमा
राजनीति

एमालेमा विपत्ति : ओली–नेपाल दुवै सङ्कटमा

एमाले फुट्न पनि नसक्ने र जुट्न पनि नसक्ने अवस्थामा पुगेको छ : श्याम श्रेष्ठ

  • नागरिक रैबार
एमालेमा विपत्ति : ओली–नेपाल दुवै सङ्कटमा

सरकारबाट केपी ओली बाहिरिएसँगै एमालेभित्रको घर झगडा साम्य हुनुको साटो झन् विस्फोट भएको छ । कतिपय एमाले नेताहरूले सरकार ढलेपछि पार्टीमा एकता हुने सोचेका थिए । तर, सरकारबाट ओलीको बहिर्गमनसँगै एमालेको अन्तरविरोध घट्नुको साटो झन् बढेको छ ।

बालुवाटार छाडेर बालकोट पुगेपछि एमाले अध्यक्ष ओलीले अर्का नेता माधवकुमार नेपाललाई गद्दार घोषणा गर्दै माफी दिन नसकिने घोषणा गरेपछि एमालेको अन्तरविरोध झन् कचल्टिएको हो ।

अन्तरविरोध बढेसँगै ओली र माधव नेपाल दुवै नेताहरू आ–आफ्नो रणनीति बनाउनतर्फ जुटेका छन् । यस क्रममा एमालेका दुवै समूहका बैठक आज (बुधबार) बस्दैछन् । ओलीको अध्यक्षतामा अपराह्न ३ बजे एमाले केन्द्रीय कमिटीको बैठक बस्दैछ । त्यसअघि नै माधव नेपालको नेतृत्वमा सो समूहको स्थायी कमिटी बैठक बस्दैछ ।

विज्ञापन

 

ओलीको अध्यक्षतामा जारी केन्द्रीय कमिटी बैठकले शेरबहादुर देउवाको पक्षमा संसदमा मतदान गर्ने माधव नेपालसहित एमालेका २२ सांसदलाई कारबाहीका लागि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । २४ घण्टे स्पष्टीकरणपछि आज अपराह्न ३ बजे पुनः केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो ।

ओली पक्षले माधव नेपाल पक्षका नेताहरूलाई एमालेबाट निष्कासनको कारबाही गर्न सक्ने सम्भावना बढेपछि माधव नेपाल पक्षले पनि आजै स्थायी कमिटीको बैठक बोलाएको छ ।

गत पुस ५ को पहिलो संसद् विघटनपछि नै ओली समूहले देशव्यापीरुपमा एमालेको छुट्टै समूह बनाउन थालेको हो । त्यसलगत्तै माधव–ओली समूहले देशैभरि समानान्तर कमिटीहरू बनाएका हुन् । केन्द्रमा पनि बेग्लै स्थायी कमिटी र केन्द्रीय कमिटीका बैठकहरू हुँदै आएका छन् ।

माधव नेपालविरुद्ध आन्दोलन

एमालेका दुवै समूहहरू आपसी रणनीति बनाउन लागिरहेका बेला ओली पक्षको युवा सङ्घले माधव नेपालविरुद्ध सडक आन्दोलन पनि जारी राखेको छ । मंगलबार उनीहरूले बाँदरको स्वरूप बनाएर प्रदर्शन गरेका थिए ।

माधव नेपालको विरोधमा युवा सङ्घले देशैभरि प्रदर्शनहरू गर्न थालेको छ । मंगलबार धनगढीमा भएको प्रदर्शनमा सांसद प्रेम आलेको विरुद्धमा समेत युवा सङ्घका कार्यकर्ताले प्रदर्शन गरेका थिए ।

ओली पक्षका युवा सङ्घका कार्यकर्ताहरू देशैभरि माधव नेपालविरुद्ध सडकमा ओर्लिएका छन् । उनीहरूको आन्दोलनसँगै एमालेमा अब एकता होइन, मुठभेडको सम्भावना बढ्न थालेको छ । नेता नेपालमाथि पार्टीभित्रैबाट सुरक्षा थ्रेट बढेको छ ।

ओली समूहमा अलमल

जतिसुकै कडारुपमा प्रस्तुत भए पनि ओली समूहले माधव नेपाल समूहका नेताहरूलाई आजसम्म पार्टीबाट हटाउने गरी कारबाही गर्ने आँट गर्न सकेको छैन । एक प्रकारले भन्ने हो भने यसमा ओली समूह अलमलिएको देखिन्छ । कारबाहीको धम्कीचाहिँ दिने तर वार्ता जारी राख्ने काम हुँदै आएको छ ।

 

गत वैशाख २७ गते संसदमा विश्वासको मत लिँदा केपी ओलीलाई उनको पार्टीका २८ सांसदले मतदान गरेनन् । त्यस्तै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा माधव पक्षका २३ सांसदले हस्ताक्षर बुझाए । संसदमा देउवाले विश्वासको मत लिँदा एमालेका २२ सांसदले देउवालाई मतदान गरे ।

तर, यति हुँदासम्म पनि केपी ओलीले माधव नेपाल पक्षका सांसदहरूलाई कारबाही गर्न सकेका छैनन् । बरु यसबीचमा कार्यदल ब्युँताएर सम्झौता गर्ने नीति ओलीले लिँदै आएको देखिन्छ ।

केपी ओली पक्षका एक जना केन्द्रीय सदस्यले रातोपाटीसँग भने, ‘हाम्रो समूहमा माधव पक्षलाई तत्काल कारबाही गर्नुपर्छ भन्ने हार्डलाइनरहरु पनि छौँ र मिल्नुपर्छ भन्नेहरू नरमपन्थीहरु पनि छौँ । तर, अध्यक्ष ओलीचाहिँ माधव नेपालबाहेक अरू नेताहरूलाई समेट्ने पक्षमा हुनुहुन्छ ।’

ओली पक्षका ती नेता भन्छन्, ‘हामी सबैको बुझाइ के छ भने माधव नेपाल हामीसँग मिल्दैनन्, उनी एमाले फुटाउन चाहन्छन् । तर, उनकै समूहका योगेश भट्टराई लगायतका नेताहरू चाहिँ पार्टी फुटाएर अर्को बनाउन सकिँदैन भन्ने निष्कर्षमा छन् । यो माधव नेपालमाथिको सङ्कट हो ।’

तर, माधव नेपाल पक्षमा अन्तरविरोध र सङ्कट देख्ने ओली समूहमै पनि त अलमलमा देखियो नि ? रातोपाटीको प्रश्नमा ओली पक्षका ती नेता भन्छन्, ‘हामीभित्र केही जोड–कोणमा फरक होला, तर माधव नेपाल बाहेक अरू नेताहरूलाई पार्टीमा समेट्नुपर्छ भन्नेमा हामीबीच कुनै मतभेद छैन । यही कारणले कारबाहीमा हतारो नगरिएको हो ।’

ओली पक्षका नेताहरूले यसो भनिरहँदा …….

सङ्कटमा माधव नेपाल

 

सरकारबाट केपी ओलीलाई हटाएपछि पार्टीभित्र केही सजिलो हुने सोचेका माधव कुमार नेपाललाई पनि सोचेको जस्तो सजिलोचाहिँ देखिएको छैन । १२१ सदस्यीय प्रतिनिधिसभामा माधव नेपालको पक्षमा ४० प्रतिशत पनि सांसदहरू पुग्न सकेका छैनन् । यो अवस्थामा अर्को दल दर्ताका लागि अध्यादेश नै ल्याउँदा पनि माधव नेपाललाई पर्याप्त सङ्ख्या नपुग्ने हो कि भनेजस्तो स्थिति देखिन्छ ।

माधव नेपालको अर्को सङ्कट के हो भने अहिले उनको समूहमा रहेका सांसद र नेताहरू पनि पार्टी फुटाउने मूल्यमा नेपाललाई सघाउने पक्षमा छैनन् ।

पार्टी फुटाउने अभियानमा नेता नेपाललाई भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेजस्ता नेताहरूले साथ दिने सम्भावना छैन । यो अवस्थामा नेता नेपालले के गर्लान् ? उनी निकै ठूलो अक्करमा देखिन्छन् ।

उता केपी ओली पक्ष पनि माधव नेपाल र झलनाथ खनाललाई पार्टीबाट हटाएको घोषणा गरेर फुटलाई प्रश्रय दिएको आरोप खेप्न डराइरहेको अवस्था छ ।

एमालेभित्रको अन्तरविरोध र यसले निम्त्याएको सङ्कटबारे वाम विश्लेषक श्याम श्रेष्ठको विश्लेषण यस्तो छ :

 

एमालेमा केपी ओलीले माधव नेपाललाई अस्वीकार गरिसकेका हुन् । तर, ओली समूहमा पनि यस्ताखालका कार्यकर्ता छन्, जसले माधव समूहमा रहेका राम्रा मान्छेलाई छोडेर जानुहुँदैन भन्ने छ । उनीहरू माधव नेपाल समूहलाई च्वाट्टै छोडेर जानुहुँदैन भन्ने लोभ छ ।

यता माधव समूहमा पनि ओली समूहमा केही राम्रा मान्छे छन्, ती मान्छेहरू ओलीको दमन सहेर बसिरहेका छन्, चुपचाप लागेर बसेका छन् । र, दुवै समूहलाई चुनाव जित्नका लागि दुवै समूहको मान्छे आवश्यक पर्नेहुन्छ । ध्यान दुवैका पक्षको चुनाव नै हो । चुनाव जितिएन भने हाम्रो भविष्य नै खत्तम हुन्छ भन्ने सोच भएकाले ओली पक्षले पनि माधव पक्षलाई पुरै छोड्न सकेको छैन, माधव पक्षले पनि ओली पक्षलाई छोडिहाल्ने हिम्मत गरेको देखिँदैन ।

तर, समस्या नेतृत्वको अहङ्कारमा छ । माधव नेपाल र ओलीको बीचमा झगडा विचारको होइन, सिद्धान्तको होइन । दुवैको झगडा तीनवटा कुरामा भएको हो । पहिलो अहङ्कार, दोस्रो पद र जिम्मेवारी विभाजन तथा तेस्रो ओलीले लोकतान्त्रिक संस्थाहरू खत्तम पार्दै संविधान नै सिध्याउन लागेकाले झगडा भएको हो । तेस्रो, झगडा राजनीतिक वैचारिक भए पनि बाँकी दुईवटा अहंकै कारणले हो ।

यो ल्याङल्याङले एमाले फुट्न पनि नसक्ने र जुट्न पनि नसक्ने अवस्थामा पुगेको देखिन्छ । किनभने, ओली कुनै पनि हालतमा माधव नेपाललाई पार्टीमा ल्याउने पक्षमा देखिँदैनन् । उनी नेपालबाहेक नेपाल पक्षका अन्य नेतालाई फकाउँदै छन् । त्यो कुरामा माधव नेपाल पक्ष तयार छैन । किनभने, माधव नेपाल अब एक जना व्यक्ति मात्रै होइनन् । अब उनी त संस्था नै भैसके ।

त्यसो भएकाले केही समय यस्तै गरी चले पनि एमाले जोडिने अवस्था छैन । ओली र नेपाल दुवैलाई यो कुरा प्रष्टसँगले थाहा पनि छ । त्यो बुझेर नै ओलीले पनि माधव नेपालविनाको सङ्गठन परिकल्पना गरेर फटाफट लगिसकेका छन् । माधवले पनि ओलीविनाको सङ्गठन परिकल्पना गरेर सङ्गठन विस्तार गरिसकेका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार