होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • माधव पक्षको कदमबारे के भन्छन् एमाले केन्द्रीय सदस्य ?
राजनीति

माधव पक्षको कदमबारे के भन्छन् एमाले केन्द्रीय सदस्य ?

  • नागरिक रैबार
माधव पक्षको कदमबारे के भन्छन् एमाले केन्द्रीय सदस्य ?

नेकपा(एमाले)को सोमबार बसेको बैठकले पार्टीको ह्वीप विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । प्रवक्ता प्रदीपकुमार ज्ञवालीका अनुसार २४ घण्टा भित्रमा सांसदहरुले दिएको जवाफको आधारमा पार्टीले कारवाही प्रक्रिया अगाडि बढाउनेछ । मंगलबार बस्ने केन्द्रीय कमिटी बैठकले फ्लोर क्रस गरेर प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सांसदहरुलाई सम्भवतः कारबाही प्रक्रिया अगाडि बढाउने छ । यस बैठकले लामो समयदेखि विवादमा रहेको पार्टी संस्थापन पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष बीचको विवादलाई वारपार गर्नसक्ने आँकलन गरिएको छ ।

बैठकमा उपस्थित केन्द्रीय कमिटी सदस्यहरुले फ्लोर क्रस गर्ने सांसदहरुलाई पार्टीले कारबाही गर्न ढिलो गर्नु नहुने मत राखेका छन् । बढीभन्दा बढी केन्द्रीय सदस्यहरुले माधव नेपाल पक्षले अक्षम्य राजनीतिक अपराध गरेको भन्दै माफी दिन नसकिने बताएका छन् । विभिन्न जिल्लाबाट एमाले केन्द्रीय कमिटी बैठकमा उपस्थित केन्द्रीय सदस्यहरुसँग पछिल्लो पार्टी विवादको सम्बन्धमा लिइएको प्रतिक्रियामा उनीहरुले माधवकुमार नेपाल पक्षधरलाई स्वीकार गर्न नसकिने बताएका हुन् ।

केन्द्रीय कमिटी सदस्य मना केसीले माधवकुमार नेपाल पक्षले फ्लोर क्रस गर्नुलाई इतिहासले क्षम्य नगर्ने बताइन् । सो समूहले कम्युनिष्ट आन्दोलनप्रति समर्पित सबैको निम्ति घातक निर्णय गरेको बताए । केन्द्रीय कमिटी सदस्य बद्रीप्रसाद न्यौपानेले एकताका निम्ति गठित कार्यदलले गरेको १० बुँदे सहमतिलाई पार्टीले ग्रहण गरिसकेको भन्दै माधवकुमार नेपाल बाहेकका नेताहरुलाई आत्मालोचनासहित पार्टीमा फर्किदा ठाउँ रहेको बताए । यसरी फर्किनेलाई पार्टीमा उचित जिम्मेवारी दिने प्रतिवद्धता ओलीले गरेको उनले बताए ।

विज्ञापन

केन्द्रीय कमिटी सदस्य उमा कोइरालाले विपक्षीलाई विश्वासको मत दिएर गद्दारी गरेको बताइन् । सो समूहलाई पार्टीबाट निष्काशन गर्नुपर्ने उनले बताइन् । स्पष्टीकरण सोधेर प्रक्रिया पुर्याई पार्टीबाट निष्काशन गरिने उनको भनाई छ । आफुहरु जनतामा लोकप्रिय भएको भन्दै उनले माधव समूहलाई कारबाही गरेर हटाउँदा संगठन कमजोर नहुने पनि उनले जिकिर गरे ।

केन्द्रीय कमिटी सदस्य कर्णबहादुर थापाले विश्वासको मत दिएर असंसदीय, पार्टी र कम्युनिष्ट आन्दोलन विरोधी गतिविधि गरिएको बताए । नेपाल पक्षले जनता र मतदातालाई धोका दिएको भन्दै उनीहरु आफैले स्वघोषणा गरेर एमाले परित्याग गरेको धारणा राखे ।

केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले संसदमा विकृत रुप देखिएको बताए । जति छिटो पार्टीलाई एकताबद्ध बनाउन सकिन्छ त्यति छिटो यस्ता विकृत कदम रोकिने भन्दै उनले पार्टी एकतामा जोड दिए । पार्टीको आइतबारको केन्द्रीय कमिटी बैठकले कार्यदलको १० बुँदे सहमतिको स्वामित्व ग्रहण गरेको उनको भनाई छ । अब एमालेमा कुनैपनि नेता, कार्यकर्ता प्रणालीभन्दा बाहिर जानु नपर्ने तथा सबैको दायित्व, जिम्मेवारी र अधिकार एमालेमा स्थापित छ भन्ने स्थापित भएको उनले उल्लेख गरे ।

केन्द्रीय कमिटी सदस्य लिला गिरीले फ्लोर क्रसलाई घातक तथा कालो दिनको रुपमा चित्रण गर्दै यसले मुलुकको संसदीय र प्रजातान्त्रिक व्यवस्थालाई नोक्सान पुर्याएको बताए । यसको असर इतिहासमा देखिने उनको भनाई छ । पार्टी विरुद्धको जघन्य अपराध भएकाले अपराध गर्नेहरुबिरुद्ध कारबाही गरिनुपर्ने उनको मत छ ।

केन्द्रीय कमिटी सदस्य मोहन बाँनियाले आफ्नै पार्टीको प्रधानमन्त्रीलाई अपदस्त गराउनको लागि राजनीतिक अपराध भएको बताए । यसले पार्टीलाई मात्र नभई स्वयं व्यक्तिहरुलाई पनि घाटा हुने उनको तर्क छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग पार्टी एकताको सम्भावना नभएको उनले स्पष्ट पारे ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार