होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आफन्तले अक्सिजन खोज्दाखोज्दै ज्यान गुमाउँछन् संक्रमित
समाचार

आफन्तले अक्सिजन खोज्दाखोज्दै ज्यान गुमाउँछन् संक्रमित

  • नागरिक रैबार
आफन्तले अक्सिजन खोज्दाखोज्दै ज्यान गुमाउँछन् संक्रमित

२९ वैशाख, धनगढी । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाका प्रमुख लोकेन्द्र जोशीले स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षणका लागि स्वाब दिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका कारण स्वाब दिएका जोशीलाई वैशाख १५ गते संक्रमण पुष्टि भयो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि धनगढीस्थित नोभा अस्पतालमा भर्ना भएका जोशीलाई अक्सिजन सपोर्टमा राखिएको थियो । तीन दिनपछि अस्पतालले थप अक्सिजनको जोहो गर्न नसकिने भन्दै उनलाई निकालिदियो । जोशीकै आग्रहअनुसार परिवारका सदस्यले उनलाई सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा भर्ना गरे ।

 

विज्ञापन

शरीरमा अक्सिजनको मात्रा घट्दै जान थालेपछि जोशीलाई दैनिक थप अक्सिजनको आवश्यकता पर्दै जान थाल्यो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पतालले उनलाई आईसीयूमा राखेर उपचार थाल्यो । आईसीयू कक्षमा पाइपमार्फत अक्सिजनको व्यवस्था गरिएको भएपनि विद्युत कटौती हुने बेला सिलिन्डर जोड्नुपर्ने हुन्थ्यो । अस्पतालका स्वास्थ्यकर्मी र नर्सिङ कर्मचारीकै आग्रहअनुसार जोशीका कार्यालयका कर्मचारी र परिवारका सदस्य बाहिरबाट खरिद गरेर भएपनि अक्सिजनको जोहो गर्दै आएका थिए । तर त्यति प्रयास गर्दा पनि उनीहरुको प्रयास विफल भयो । अन्ततः वैशाख २५ गते उनको मृत्यु भयो ।

मृतक जोशीकी भतिजी सोनिया जोशीले अक्सिजन खोज्दाखोज्दै काकाको मृत्यु भएको बताइन् । ‘सुरुमा नोभा अस्पताल भर्ना गरेका थियौं । त्यहाँ अक्सिजन सकिएपछि अन्यत्र लैजान भनेर निकालेपछि अंकललाई कोभिड अस्पताल भर्ना गरेका थियौं,’ सोनियाले  भनिन्, ‘सेती अस्पतालले आईसीयूमा राखेपछि अक्सिजन आफैं व्यवस्थापन गर्न भन्यो । पाइप जोडिएपनि पर्याप्त अक्सिजन हुँदैन्थ्यो ।’

अक्सिजनका लागि धनगढीको मालिका अक्सिजन उद्योगमा दिउँसो ४ बजेदेखि राति २ बजेसम्म लाइनमा लाग्दा समेत आधा सिलिन्डर अक्सिजन पाएको तीतो यथार्थ पनि उनीसँग छ । भन्छिन्, ‘अंकलको कार्यालयका कर्मचारीहरुले अत्तरिया सुख्खड धाएर मोटरसाइकलमा अक्सिजन बोक्नुभएको थियो । २४ गते दिउँसो ४ बजेदेखि राति २ बजेसम्म लाइनमा लाग्दा पनि मालिका ग्यास उद्योगबाट आधा सिलिन्डर बल्ल बल्ल पाएकी थिएँ । तर अंकललाई बचाउनै सकिएन ।’

अस्पतालको लापरवाहीको कारणले पनि जोशीले आवश्यकताअनुसार अक्सिजन पाउन नसकेको गुनासो उनका परिवारको छ । तर अस्पतालले भने जोशीको स्वास्थ्य अवस्था गम्भीर भएपछि भर्ना भएका कारण बचाउन नसकिएको जनाएको छ ।

 

कैलालीको भजनी नगरपालिका–१ की ४० वर्षीया महिलालाई ज्वरो, रुघाखोकी लागेपछि १३ दिन अघि टीकापुर अस्पताल भर्ना भइन् । अस्पतालले उनको छातीको एक्सरे गर्दा फोक्सोमा संक्रमण देखिएपछि कोरोना संक्रमण भएको हुनसक्ने भन्दै औषधि चलायो । परीक्षणका लागि स्वाब संकलन गरेर दिइयो । उनलाई श्वासप्रश्वासमा जटिल समस्या देखिएपछि उनलाई अक्सिजन चाहिने भयो तर अस्पतालमा त्यतिखेर अक्सिजन थिएन ।

परिवारका सदस्यले केही किलोमिटरको दूरीमा रहेको सुख्खडबाट जेनतेन एउटा सिलिन्डरको जोहो गरे । टीकापुर अस्पतालबाट भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा सारेर उनलाई अक्सिजन दिन थालियो । स्वास्थ्य केन्द्रले थप अक्सिजन चाहिने भनेपछि खोजीमा उनका भतिज निस्केका थिए तर अक्सिजन नपाउँदै उनको सोमबार राति मृत्यु भयो ।

मृतकका जेठाजु लालबहादुर बस्नेत अक्सिजन व्यवस्थापन गर्दा गर्दै पनि स्वास्थ्यकर्मी र नर्सिङ कर्मचारीहरुले कोरोना संक्रमित भन्दै उचित हेरचाह नगरेकै कारण भाइ–बुहारीले मृत्युवरण गर्नुपरेको बताउँछन् । ‘अस्पतालहरुमा अक्सिजन छैन । आफैं खोजेर दिंदा समेत राम्ररी चढाइदिंदैन्,’ उनले गुनासो गर्दै भने, ‘डाक्टर र नर्सहरुले कोरोना संक्रमित भनेर वास्ता गर्न छाडेका छन् ।’

‘अक्सिजनको अभाव छ तैपनि जसोतसो व्यवस्थापन गरिरहेका छौं’

सेती प्रादेशिक अस्पतालले भने अक्सिजनको अभाव भएपनि अहिलेलाई जसोतसो पनि व्यवस्थापन गरिरहेको बताउने गरेको छ । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले अस्पतालमा भर्ना भएका संक्रमितलाई आधा–आधा सिलिन्डर गरेर भएपनि अक्सिजन दिइरहेको बताए । संक्रमित थपिंदै गइरहेकाले अब समस्या हुनसक्ने उनको भनाइ छ ।

सामाजिक विकास मन्त्रालयको चरम लापरवाही

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयको चरम लापरवाहीका कारण यहाँका अस्पतालमा अक्सिजन नपाएर कोरोना संक्रमितले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता आइलागेको पाइएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले गत वर्षको मंसिरमै अक्सिजन प्लान्ट र मिनी अक्सिजन प्लान्टका लागि बजेट निकासा गरेको पाइएको छ ।

अर्थले सामाजिक विकास मन्त्रालयकै मागका आधारमा मिनी अक्सिजन प्लान्टका लागि ४ करोड ८० लाख र अक्सिजन प्लान्टका लागि २ करोड बजेट मंसिर २४ गते नै निकासा दिएपनि ६ महिना बित्दा समेत कुनै काम नभएको हो । मन्त्रालयले ६ महिनापछि जिल्ला अस्पतालहरुलाई ८०/८० लाख बजेटको सुनिश्चितता दिंदै अक्सिजन प्लान्ट जडान गर्न परिपत्र गरेको छ । तर मन्त्रालयले मंसिरमा नभएर गत वर्षको फागुनमा मात्र अर्थबाट बजेट प्राप्त भएको जिकिर गर्दै प्राविधिक कारण ढिलाइ भएको दाबी गरेको छ । ‘हामीले गत वर्षको फागुन अन्तिमतिर मात्र अर्थ मन्त्रालयबाट पत्र पाएका हौं,’ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले भने, ‘स्पेसिफिकेसन लगायतका प्राविधिक पक्षमा १५/२० दिन ढिलाइ भएकै हो । अहिले अस्पतालहरुलाई बजेट पठाइसकेका छौं ।’

कार्कीले अस्पतालहरुलाई अक्सिजन सिलिन्डर खरिदका लागि थप बजेट समेत पठाइसकेको जानकारी दिए । उनले अक्सिजनको अभावलाई ध्यानमा राखेर थप १५० अक्सिजन कन्सनटेटर पनि खरिद गर्ने निर्णय समेत भएको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार