होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, चैत्र २५, २०८०
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बालुवाटारमा ‘बालुवा पेल्दै’ एमाले नेता !
राजनीति

बालुवाटारमा ‘बालुवा पेल्दै’ एमाले नेता !

राष्ट्रिय सभाको उपचुनावका कारण पछाडि फर्कन गाह्रो

  • नागरिक रैबार
बालुवाटारमा ‘बालुवा पेल्दै’ एमाले नेता !

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने दिन (वैशाख २७) नजिकिँदै जाँदा सत्तारुढ नेकपा एमालेभित्र तरंग उत्पन्न भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्ष र माधव कुमार नेपाल पक्षबीच आन्तरिक छलफल बाक्लिएपनि दुई समूहबीचको दुरी घटेको छैन ।

दुई दिनयताका घटनाक्रम विश्लेषण गर्दा एमाले आपसमा नमिल्ने बाटोतिरै लम्किएको देखिन्छ । दोस्रो पुस्ताका नेताहरुबीच आन्तरिक संवाद तीव्र भएको छ । तर, यो संवादले ठोस निकास दिन सकेको छैन । केपी ओली र माधव नेपाल दुबै पक्षका नेताहरु आ–आफ्नो बटमलाइनमा दृढ देखिएकाले एमाले नेताहरुको सम्वाद सकारात्मक हुन नसकेको हो ।

राष्ट्रपतिलाई भेटेको भोलिपल्ट शुक्रबार बरिष्ठ नेता माधवकुमार नेपालले भ्रममा नपर्न आग्रह गर्दै भनेका छन्, ‘अहिलेसम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ र त्यसपछि बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरु फिर्ता लिइनुपर्छ र ०७५ जेठ २ गतेको कमिटी विधान र नेतृत्व नै हाम्रो बटमलाइन हो ।’

विज्ञापन

पहाड खोतल्दा मुसो निस्कियो !

तीन दिनयता नेकपा एमालेभित्र आन्तरिक संवाद तीव्र बनेको छ । वैशाखको पहिलो साता होटल मेरियटमा केपी ओलीसँग दुई दिन वार्ता गरेर निस्केपछि माधव कुमार नेपालले जनकपुर पुगेर भनेका थिए, बालुवाटारको बालुवा पेलेर तेल निस्कनेवाला छैन । केपी ओली सुध्रनेवाला छैनन् ।

त्यसयता ओली र नेपालबीच एकपटक पनि वार्ता भएको छैन । तर, दोस्रो तहका नेताहरु चाहिँ ‘बालुवा पेलेर तेल निकाल्ने’ अभियानमा जुटिरहेका छन् ।

 

शुक्रबार मात्रै बालुवाटारमा दुई पक्षका ६ भाइ नेताहरु वार्तामा जुटेका थिए । ओली पक्षका विष्णु पौडेल, सुवास नेम्वाङ र विष्णु रिमालसँग माधव पक्षका घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराईले घण्टौँ कुराकानी गरेका थिए । तर, उनीहरुको छलफलबाट कुनै निष्कर्ष निस्किएन । निश्कर्ष नै निस्किए पनि प्रधानमन्त्री ओलीले त्यसलाई नमान्ने अघिल्लो मेरियट होटलबाटै स्पष्ट पारिसकेको एमाले नेताहरु बताउँछन् ।

अहिले पनि प्रधानमन्त्री ओली पार्टीलाई जेठ २ को अवस्थामा फर्काउन तयार नरहेको र माधव नेपाल पक्षका सांसदहरुले सामुहिक राजीनामा दिन सक्ने सम्भावना पनि यथावतै रहेको एमाले स्रोतको भनाइ छ । ओली पक्षका नेताहरुले बैशाख २७ मा माधव पक्षका नेताबाट विश्वासको मत प्राप्त गर्न मात्रै बहाना खोजिरहेको माधव नेपालनिकट नेताहरुको बुझाइ छ ।

अब पछिल्लो तीन दिनयता एमालेको आन्तरिक संवादको टाइमलाइन हेरौं–

वैशाख २२ गते–सिंहदरबारमा ईश्वर पोखरेलसँग योगेश भट्टराई र गणेश पहाडीबीच भेटवार्ता ।

वैशाख २२ गते– शीलतनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारी र योगेश भट्टराईबीच छलफल ।

वैशाख २३ गते–होटल मेरियटमा विष्णु पौडेल र योगेश भट्टराईबीच भेट । त्यसलगत्तै पौडेलसँग सुरेन्द्र पाण्डे र गोकर्ण विष्टबीच लामो छलफल ।

वैशाख २३ गते–शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारी र माधवकुमार नेपालबीच भेटवार्ता ।

वैशाख २३ गते (राति)– बालुवाटारमा प्रधानमन्त्री ओलीसँग घनश्याम भुसाल र योगेश भट्टराईको छलफल ।

वैशाख २४ गते– बालुवाटारमा प्रधानमन्त्री ओली र गोकर्ण विष्टबीच छलफल । त्यसपछि ६ भाइ नेताहरुबीच छलफल ।

शीतल निवासको त्यो असफल वार्ता

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल बिहीबार काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ गएका थिए । त्यहाँबाट फर्कँदा उनी राष्ट्रपति भवन शीतलनिवास छिरे । नेता नेपाल शीलतनिवासमा आफैं गएको नभएर राष्ट्रपतिले बोलाएका कारण गएका थिए ।

 

राष्ट्रपतिले माधव नेपाललाई बोलाउनुको कारण थियो, बुधबार राष्ट्रपति भण्डारीसँग एमाले नेता योगेश भट्टराईसँगको भेट । शीतल निवासमा राष्ट्रपतिलाई भेटेर नेता भट्टराईले एमालेको एकताका लागि पहलकदमी अगाडि बढाउन राष्ट्रपतिसँग आग्रह गरेका थिए । राष्ट्रपतिले प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधव नेपाललाई बोलाएर छलफल गर्नुपर्ने र अभिभावकत्व लिनुपर्ने माग गरेका थिए ।

भट्टराईले यस्तो सुझाव दिएकै दिन राष्ट्रपति भण्डारीले साँझ नेता नेपाल र प्रधानमन्त्री ओलीलाई शीतलनिवास बोलाइन् र छुट्टाछुटै कुराकानी गरिन् ।

तर, माधव नेपालसँगको राष्ट्रपतिको छलफल सकारात्मक हुन सकेन । केपी ओलीकै कारण पार्टीमा समस्या आएको बताउँदै मलाई के दोष दिनुहुन्छ, उतै भन्नु भन्ने जवाफ दिएर नेता नेपाल शीतल निवासबाट फर्केको स्रोत बताउँछ ।

त्यसो त योगेश भट्टराईले वैशाख ८ गते बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई पनि यसैगरी माधव नेपालसँग संवाद गर्न भनेका थिए । तर, दुई दिनसम्म चलेको दुई नेताको वार्ता सफल भएन । त्यसैगरी योगेशकै पहलमा विहीबार शीलतनिवासमा भएको राष्ट्रपति–माधव वार्ता पनि मेरियट होटलकै जस्तो निष्कर्षबिहीन बन्यो ।

माधव नेपाल पक्षले राख्दै आएको मागप्रति अहिलेसम्म प्रधानमन्त्री ओली कठोर देखिँदै आएका छन् । दोस्रो तहका नेताहरुले बालुवाटारमा कुराकानी जारी राखेका छन् । तर, ओली आफंै सहमतिका लागि तयार नभएसम्म अरुले जतिपटक वार्ता गरे पनि त्यसको अर्थ नहुने माधव नेपाल निकट एक नेताले बताए ।

राष्ट्रिय सभाको उपचुनावका कारण पछाडि फर्कन गाह्रो

एमालेको विवाद मिल्न नसक्ने बाटोमा गइसकेको अर्को एउटा प्रमाण हो– राष्ट्रियसभाको उपनिर्वाचनमा माधव नेपाल पक्षबाट डा. खिमलाल देवकोटाको उम्मेदवारी ।

जेठ ६ गते हुने उपचुनावमा माधव पक्षले काँग्रेस र माओवादीको समेत समर्थनमा देवकोटालाई उम्मेदवार बनाइसकेको छ । उता, ओली पक्षले रामबहादुर थापा बादललाई उम्मेदवार बनाएको छ । दुई पक्षबीच एकता हुने हो भने या त देवकोटाले धोका पाउनेछन्, या त बादलले ।

किनभने, माधव पक्षले काँग्रेस र माओवादीसँग मिलेर जिताउने आ

श्वासनसहित देवकोटालाई उम्मेदवार बनाएको हो । ओली पक्षले बादललाई धोका दिएर देवकोटालाई समर्थन गर्ने सम्भावना पनि कम छ । माधव पक्षले बादललाई भोट हाल्ने सम्भावना पनि सकिएको छ ।

ओली पक्षका नेताहरुले अहिले तारन्तार गरिरहेका वार्ताहरुमा वैशाख २७ मा प्रधानमन्त्री ओलीका लागि मात्रै भोट मागिरहेका छन् या गृहमन्त्री बादलका लागि पनि भोट माग्दैछन् ? यो खुलेको छैन । तर, उपनिर्वाचनको सन्दर्भमा माधव नेपाल पक्ष धेरै अगाडि बढिसकेको हुनाले सहमतिको सम्भावना कम देखिएको छ । र, वागमतीको असर केन्द्रमा पनि पर्ने नै छ ।

अर्को महत्वपूर्ण पक्ष के छ भने माधव नेपाल बिहीबार काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ किन गए ? यसैबाट प्रष्ट हुन्छ कि माधव नेपाल र शेरबहादुरबीच राष्ट्रिय सभाको उपचुनाव र कतिपय प्रदेशसभाका सन्दर्भमा समेत उच्चस्तरको समझदारी बनिसकेको छ । आफूले बचन दिइसकेको विषयमा नेता नेपाल हत्तपत्त ‘ब्याक’ सर्ने नेता होइनन् ।

बालुवाटारमा दोस्रो तहका नेताहरुले जति नै बालुवा पेले पनि तेल ननिस्कनेमा माधव नेपाल ढुक्क देखिएका छन् । उनले मेरियट होटलमा ओलीसँग भएको भेटपछि नै भनिसकेका छन्– केपी ओली सुध्रनेवाला छैनन् । बालुवाटारको बालुवा पेलेर तेल निस्कँदैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै