होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • ओलीसँग सहकार्य हुँदैन, हामी वैज्ञानिक समाजवादमा दृढ छौं : प्रकाण्ड
राजनीति

ओलीसँग सहकार्य हुँदैन, हामी वैज्ञानिक समाजवादमा दृढ छौं : प्रकाण्ड

  • नागरिक रैबार
ओलीसँग सहकार्य हुँदैन, हामी वैज्ञानिक समाजवादमा दृढ छौं : प्रकाण्ड

काठमाडौं। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले अहिलेकै अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीसँग सहकार्य हुने सम्भावना नरहेको बताएका छन्। प्रकाण्डले राजनीतिक एजेण्डाका हिसाबले पनि ओलीसँगको सहकार्य अहिले सम्भव नहुने बताए। तर आफ्नो पार्टीले अगाडि सारेका मुद्दाहरूबारे ओली नेतृत्वको पार्टीसहित अन्य राजनीतिक दलसँग भने छलफल गर्ने योजना रहेको उनले बताए।

‘अब हाम्रो एजेण्डाबारे ओलीजीको पार्टीसँग पनि कुरा गर्छौं। प्रचण्ड-नेपालजीको पार्टीसँग पनि गर्छौं। देउवाजी, महन्थजी, बाबुरामजी लगायतको पार्टीसँग पनि कुरा गर्छौं। सही निकास निकाल्न कार्यक्रम पेस गर्छौं,’ प्रकाण्डले भने, ‘अहिलेको समाधानको रूपमा हामीले वैज्ञानिक समाजवाद अघि सारेका छौं। यस सन्दर्भमा जनमत संग्रहमा जाउँ र जनताले के फैसला गर्छन्, मानौं भनेर हामी कार्यक्रम पेस गर्नेवाला छौं।’

प्रकाण्डले आफ्नो पार्टीको प्रमुख एजेण्डा भनेको वैज्ञानिक समाजवाद भएको बताए। संसदीय व्यवस्थाले नेपाली जनताको प्रतिनिधित्व गर्न नसक्ने भएकोले जनतालाई वैज्ञानिक समाजवादी व्यवस्था चाहिएको विषयमा आफ्नो पार्टी प्रस्ट रहेको उनको भनाई छ। संसदीय व्यवस्थाले पूँजीपति वर्गको मात्र प्रतिनिधित्व गर्ने उनले बताए। आफ्नो पार्टीको मूल मुद्दा नै अहिलेको दलाल पूँजीपती वर्गको सत्ता बदल्नु भएको उनले बताए।

विज्ञापन

‘राज्य सत्ता र शासन व्यवस्थामा जनताको प्रतिनिधित्व नहुनु अहिलेको प्रधान समस्या हो। हाम्रो मुद्दा भनेको अहिलेको दलाल पूँजीपती वर्गको सत्ता बदल्नु हो। त्यहाँ श्रमजीवी, उत्पीडित जनताको सत्ता बनाउनुपर्छ,’ प्रकाण्डले भने, ‘अहिले दलाल संसदीय व्यवस्था छ। रातारात भुइँफुट्टा करोडपति, अर्बपति भएका छन्। जनताको स्थिति झन् खस्किएको छ। त्यसो हुनाले यो व्यवस्था नेपाली जनताको प्रतिनिधित्व गर्ने व्यवस्था भएन। जनतालाई वैज्ञानिक समाजवादी व्यवस्था चाहिन्छ।’

उनले अहिलेको संविधान जनतालाई बेवकुफ बनाउन लागू भएको बताए। संविधान जारी भएको तीन वर्षसम्म पनि मौलिक हकको ‘म’ नहुनुले पनि संविधानको नाममा जनतालाई बेवकुफ बनाउने काम भइरहेको बताए। उनले भने, ‘यो संविधान जनतालाई बेवकुफ बनाउन लागू हुने भयो। हामीले जनताको मौलिक हक हुनपर्‍यो भन्यौं, तर यो तीन वर्षमा मौलिक हकको ‘म’ पनि लागु गर्नतिर गएको छैन। त्यस कारण यो संविधान पनि जनविरोधी भयो। त्यसैले व्यवस्था बदल्ने हाम्रो राजनीतिक एजेण्डा कायमै छ।’

प्रकाण्डले संसदीय व्यवस्था र वैज्ञानिक समाजवादको विषयमा जनमत संग्रह हुनुपर्ने अडान आफ्नो पार्टीको रहेको बताए। तर अहिलेको राज्य संरचनामार्फत जनमत संग्रह सम्भव नरहेको उनले बताए। ‘जनतामा एजेण्डा लैजान अहिलेको राज्य संरचनाले हुँदैन। त्यसलाई मिल्ने संयन्त्र बनाउनुपर्छ। त्यसका लागि प्रगतिशील संयुक्त सरकार चाहिन्छ। त्यसो हुँदा वैज्ञानिक समाजवाद र संसदीय व्यवस्थाबारे जनमत संग्रह र प्रगतिशील संयुक्त सरकार हाम्रो माग हो,’ प्रकाण्डले भने।

उनले अगाडि भनेका छन्, ‘पहिलो चरणमा सरकारसँग वार्ता भयो। अब हामीले उठाएका मुद्दाबारे कुरा गर्छौं। देशको संकट र निकासबारे सबै राजनीतिक पार्टीसँग पनि कुरा गर्छौं। त्यसरी छलफल गर्दै एउटा ठाउँमा पुर्‍याउँछौं। पार्टीहरुबीचमा समाधानको नीतिबारे, सिद्धान्तबारे विवाद हुन्छ नै। त्यो कुरामा फैसला गर्न हामी जनतालाई अपिल गर्नेछौं। जनताको बिचमा जाने वातावरण बनेपछि निकास निस्कन्छ।’

प्रकाण्डले संसदीय राजनीतिमा रहेका कम्युनिस्ट पार्टीहरूले आफ्नो विगतको त्रुटि सच्याउन तयार भए सहकार्यको स्थिति बन्ने पनि बताएका छन्। अनलाइनखबरसँगको संवादमा प्रकाण्डले भनेका छन्, ‘कम्युनिस्टहरुले पनि विगतमा गरेको त्रुटि सच्याउनुपर्नेछ। संसदीय राजनीतिमा भएका कम्युनिष्ट पार्टीहरूले पनि विगतको समीक्षा गर्नुपर्ला। विगतका त्रुटि समीक्षा गरेर जनताको लाइनमा जाने स्थिति बनेपछि सहकार्य हुन्छ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै