होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • डोटीमा असिनाले तरकारी खेतीमा क्षति
समाचार

डोटीमा असिनाले तरकारी खेतीमा क्षति

  • नागरिक रैबार
डोटीमा असिनाले तरकारी खेतीमा क्षति
साँकेतिक तस्विर

डोटी : डोटी जिल्लाका विभिन्न भागमा परेको असिनाले तरकारी खेतीमा क्षति  पुर्‍याएको छ । असिनाले यहाँका किसानले लगाएको तोरी तथा तरकारीखेतीमा क्षति  पुर्‍याएको छ । जिल्लाको आदर्श, सायल, पूर्वीचौकी, जोरायल गाउँपालिका, शिखर नगरपालिका तथा दिपायल सिलगढी नगरपालिकाका विभिन्न वडामा मङ्गलबार, बुधबार परेको असिनाका कारण फुलेर कोशा लाग्ने अवस्थामा रहेको तोरी तथा साग–तरकारीमा निकै क्षति  पुर्‍याएको किसानको भनाइ छ ।

असिनाले गरेको क्षतिका बारेमा विवरण सङ्कलन गरिदिन सम्बन्धित निकायलाई किसानले आग्रह गरेको केआइसिंह गाउँपालिकाका किसान शेरबहादुर ऐरले बताए । उनले भने, “वर्षातले बाली त सप्रिने आशा थियो, असिनाले तरकारी र तोरी खेतीमा क्षति पुर्‍याएको छ, क्षतिको विवरण सङ्कलन गर्न माग गरेका छौँ ।”

मङ्गलबारबाट मौसममा एकाएक आएको परिवर्तनका कारण डोटीलगायत यहाँका अन्य पहाडी तथा हिमाली जिल्लामा बुधबारसम्म हल्का हिमपातसँगै असिना परेको थियो । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा मात्रै कम्तीमा पनि एक फिट जति हिउँ परेको त्यहाँ तैनाथ रहेको नेपाली सेनाको गुरुगोरख गुल्मले जनाएको छ ।

विज्ञापन

असिनाले यहाँका गाउँघरमा लगाइएका गोलभेडाखेतीमा समस्या गरेको भन्ने जानकारी आएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए । उनले भने, “उच्च लेकाली भेग र खप्तडमा हल्का हिमपात भयो, अन्य क्षेत्रमा असिनाले क्षति गरेको भन्ने खबर आएको छ, कति क्षति भयो भन्ने एकीन भएको छैन ।”

बुधबारसम्म असिना र उच्च लेकाली क्षेत्रमा हल्का हिउँ परे पनि आजबाट डोटीसहित यहाँका पहाडी जिल्लामा घाम लाग्नुका साथै मौसममा सुधार भएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलको सञ्चार शाखाले जनाएको छ । वर्षातले डोटीमा चिसो बढेको छ । खप्तडस्थित झिग्राना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथानलगायतका उच्च पहाडी क्षेत्रमा असिना परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

वर्षात कारण चिसो बढेकाले वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएको शिखर नगरपालिका–१ का रमेश महराले जानकारी दिए । चिसोका कारण विभिन्न रोग तथा समस्याले सताउने भएकाले चिसोबाट बच्न सर्तकता अपनाउनुपर्ने स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै