होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गोरखाका उत्तरी नाका दुई वर्षदेखि ठप्प
समाचार

गोरखाका उत्तरी नाका दुई वर्षदेखि ठप्प

  • नागरिक रैबार
गोरखाका उत्तरी नाका दुई वर्षदेखि ठप्प

गोरखा — कोरोना महामारी सुरु भएयता दुई वर्षअघि चीनले उत्तरी गोरखामा पर्ने दुई नाका बन्द गर्‍यो । चुमनुव्री–१ सामागाउँको रुइला र वडा ७ को छेकम्पारको ङुइला नाका खोल्न स्थानीयले पटकपटक माग गरे पनि सुनुवाइ भएको छैन ।

बर्खाका बेला तल्लो क्षेत्रको पैदलमार्ग अवरुद्ध हुँदा खाद्यान्न अभाव भएपछि चुमनुव्रीका बासिन्दाले नाका खोल्न जोड दिँदै आएका छन् । कोरोना जोखिमअघिसम्म यहाँका स्थानीय घोडा र चौंरी लिएर उपभोग्य सामग्री खरिदका लागि तिब्बतको बजार पुग्थे । सदरमुकामबाट ४/५ दिनको दूरीमा रहेको सीमावर्ती गाउँ पुग्ने पैदलमार्ग वर्खाले अस्तव्यस्त छ । तल्लो क्षेत्रको पदमार्गमा पहिरोले सास्ती छ । उत्तरी नाका खोले दैनिक उपभोग्य सामग्री ढुवानी सहज हुने स्थानीय बताउँछन् ।

उत्तरी क्षेत्रका बासिन्दालाई गोरखाको तल्लो बजारभन्दा चीनबाट उपभोग्य सामग्री ल्याउँदा ढुवानी भाडा आधै कम पर्ने ल्होका काल्तेन लामा बताउँछन् । ‘१५–१६ वटा याक–चौंरी छन्, चिनियाँ नाका बन्द हुँदा याक–चौंरी पनि त्यसै बसेका छन्,’ उनले भने, ‘याक गर्मी ठाउँमा तल जान सक्दैन, तलबाट सामान खच्चडबाटै ल्याउनुपर्छ । खच्चडबाट ल्याउँदा ढुवानी भाडा किलोको ७० रुपैयाँ तिर्नुपर्छ ।’ आफ्नै याक र चौंरीमार्फत तिब्बतबाट सामान ल्याउँदा आधै ढुवानी सस्तो पर्ने उनले बताए । सीमा क्षेत्रका बासिन्दाले नाका खुल्दा तिब्बतको बजारबाट चामल, चिनी, करु, मैदा, साबुन, तेल, कपडालगायत सामग्री खरिद गर्थे ।

विज्ञापन

ल्हो र सामागाउँवासी कोरोना जोखिमअघि तिब्बतको कोङ्थानमा उपभोग्य सामग्री खरिदका लागि पुग्थे । चुम्चेत र छेकम्पारवासी भने दुई दिन दूरीमा रहेको तिब्बतको स्यो बजार पुग्थे । अहिले यी दुवै नाकामा चिनियाँ सुरक्षाकर्मीले प्रवेश रोकेका छन् । नाका खुलाउन परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसँग पहल गर्नुपर्ने छेकम्पारका नेवाङ लामा बताउँछन् । ‘नाका खोलिदिए रासनपानी सस्तो पर्थ्यो,’ उनले भने ।

चीन सरकारले सामागाउँको रुइला नाका वर्षमा एक पटक र छेकम्पारको ङुइला नाका बाह्रै महिना खुल्ला गर्थ्यो । ल्हो र सामागाउँ क्षेत्रका स्थानीय रुइला नाकाबाट दुइ घण्टा दूरीमा रहेको कोङथान बजारबाट सामान खरिद गर्ने ल्होका पेम्वा रेताले बताए । ‘अहिले नाकासम्म सडक छ, आउन जान सजिलो छ,’ उनले भने ।

नाका खोल्न जिल्ला प्रशासनले गृह मन्त्रालयमार्फत पहल थालेको छ । कात्तिक २९ मा प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा टोलीले उक्त क्षेत्रको स्थलगत अध्ययनपछि प्रतिवेदनसमेत मन्त्रालयमा पठाएको थियो ।

नाका खुले चुमनुव्री–६ स्थित लोक्पा तथा सर्दीभीरमा गएको सुक्खा पहिरो छेकम्पार तथा चुम्चेत क्षेत्रमा बसोबास गर्ने ६ सय घरधुरीका नागरिकलाई खाद्यान्नदेखि दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत सहज हुने अपेक्षा गरिएको छ । चुमनुव्रीको चुम्चेत र छेकम्पार पुग्ने पदमार्गको मुख्य प्रवेशद्वारअन्तर्गत लोक्पामा भदौ पहिलो साताबाट खसेको पहिरो अझै रोकिएको छैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार