होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हामी शान्तिपूर्ण राजनीतिमा आयौं भनेका छैनौं : विप्लव
समाचार

हामी शान्तिपूर्ण राजनीतिमा आयौं भनेका छैनौं : विप्लव

'पार्टी ऋणबाट मुक्त भएको छ'

  • नागरिक रैबार
हामी शान्तिपूर्ण राजनीतिमा आयौं भनेका छैनौं : विप्लव

२० जेठ, काठमाडौं । लामो समय भूमिगत राजनीतिमा सक्रिय भएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव) र सरकारबीच २०७७ साल फागुन २१ गते भएको तीन बुँदे सहमतिसँगै नेकपा खुला राजनीतिमा आयो ।

उनले यसलाई शान्तिपूर्ण राजनीतिमा आएको नभई शान्तिपूर्ण हिसाबले आफ्नो धारणा राख्न तयार रहेको भनेर व्याख्या गरेका छन् ।

नेकपा गठन भएपछि आफ्नो पार्टी ऋणबाट मुक्त भएको पनि उनले बताएका छन् ।

विज्ञापन

हिमालय टेलिभिजनमा राजेन्द्र बानियाँसँग कुराकानी गर्दै महासचिव विप्लवले आफूहरुले चन्दा आतंक मच्चाएको नभई पार्टीको आर्थिक दृष्टिकोण अनुसार अघि बढेको जिकीर गरेका छन् ।

तिनै विप्लवसँग गरिएको कुराकानीको सम्पादित अंशको संक्षिप्त भाग यहाँ प्रस्तुत गरिएको छ ।

संसदीय राजनीतिमा लागेका राजनीतिक दलहरु अहिले आलिसान महलमा बस्छन् तर तपाईंको बसाइ फरक छ । अहिले संसदीय राजनीति स्वीकारेको एउटा दलको महासचिवको साधारण जीवनशैली किन ?

मसँग जत्तिको घर छ, हाम्रा जनताहरुमा कतिसँग त यत्तिको पनि छैन । म नेता हो भन्दैमा आलिसान महलमा बस्नुपर्छ भन्ने छैन । हामी सबै नेपालको यही समाजमा यही गाउँठाउँमा हुर्किएका हौं । त्यसैले समाजमा जे जस्ता विशेषताहरु छन्, त्यसैसँग घुलमिल हुन सक्नुपर्छ । नेता भन्दैमा आलिसान महल नै चाहिन्छ भन्ने छैन ।

यो तपाईंको फार्म हाउस हो वा बस्ने घर ? ठूला मान्छेहरुको फार्म हाउस र निवास फरक फरक हुन्छ नि ।

मेरो फार्म हाउस र घर फरक छैन । जे भने पनि यही एउटा हो । जनयुद्धको समयमा पर खेतमा थियो घर । अहिले त्यो भासिएर सकियो । यो पछि बनाएको घर हो । जनयुद्धमा व्यक्तिको सम्पत्ति पार्टीलाई बुझाउने नीति अनुसार मेरो पुख्र्याैली सम्पत्तिको रुपमा रहेको खेत मैले पनि पार्टीलाई बुझाएकै हो । तर माओवादी शान्ति प्रक्रियामा आएपछि सो खेतमा हाम्रै परिवारले खेती गर्ने गरेका छन् ।

भनेको माओवादी शान्ति प्रक्रियामा आएपछि पहिले पार्टीको नाममा दिएका जग्गाहरु सबैले फिर्ता लिए ?

त्यसको फिर्ताको त कुरै नगरौं । ती जग्गाहरु कहाँ पुगे भन्ने त अर्कै कुरा छ । त्यतिबेला सर्वहाराकरण गर्ने भन्ने नीति अनुसार नै हामीले पार्टीलाई बुझाएका थियौं । तर शान्तिप्रक्रियापछि त्यो सर्वहाराकरणको नीति बदलियो । त्यही क्रममा हामीले पनि पार्टीलाई दिएको जग्गा आफैँले उपभोग गर्न थाल्यौं ।

धेरैले सोच्छन्, नेकपा महासचिव विप्लव निकै धनी छन् होला । तपाईंको पार्टी र कार्यकर्ताले लामो समयदेखि चन्दा उठाउँदै आएका पनि छन् । ती पैसा कहाँ छन् अहिले ?

हामी चन्दा उठाएर धनी भयौं भन्ने कुरा भ्रम हो । वास्तवमा भन्ने हो भने हामीले नेपाल कम्युनिष्ट पार्टी बनाएपछि हामी ऋणमा चाहिँ छैनौं । हामीले ठूलो आर्थिक व्ययभार व्यहोर्नु प¥यो । चन्दाको कुरा गर्दा हाम्रो पार्टीको एउटा आर्थिक दृष्टिकोण छ । पार्टी के हो ? कार्यकर्ता के हो ? भन्ने कुरालाई समेटेर हामीले नयाँ दृष्टिकोण सार्वजनिक गर्दैछौं । कम्युनिष्ट पार्टीको आदर्श के हो ? त्यो भत्किनुको कारण के हो ? भन्ने बारेमा हामीले अध्ययन गर्दैछौं । कम्युनिष्ट कार्यकर्ता भनेको बोझ होइन भन्ने बारेमा हामीले प्रमाणित गर्न खोज्दैछौं ।

तपाईं शान्तिपूर्ण राजनीतिमा आउने घोषणा गरिसकेपछि पनि अझै तपाईं भूमिगत जस्तै अवस्थामा हुनुहुन्छ । के यो घोषणामा मात्रै सीमित भएको हो ?

हामीले त्यतिबेला पनि शान्तिपूर्ण राजनीतिमा आयौं भनेको होइन । शान्तिपूर्ण हिसाबले आफ्नो धारणा राख्न तयार छौं भनेको हो । जुन हामी पहिलेदेखि नै त्यही मान्यतामा छौं । जनयुद्ध पनि शान्तिपूर्ण राजनीतिको उत्कर्ष थियो । मलाई लाग्छ राजनीतिलाई शान्तिपूर्ण र हिंसात्मक भनेर वर्गीकरण गर्नुहुन्न । हाम्रो बुझाइमा त्यहीँ त्रुटि छ । हामी भूमिगत अवस्थामा पनि शान्तिपूर्ण राजनीतिमै थियौं ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार