होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र २६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गौतमबुद्ध क्रिकेट रंगशालालाई बाग्मती प्रदेशले तीन करोड दिने
समाचार

गौतमबुद्ध क्रिकेट रंगशालालाई बाग्मती प्रदेशले तीन करोड दिने

  • नागरिक रैबार
गौतमबुद्ध क्रिकेट रंगशालालाई बाग्मती प्रदेशले तीन करोड दिने

१ असोज, चितवन । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि प्रदेश सरकारले तीन करोड रुपैयाँ अनुदान दिने भएको छ । धुर्मुस–सुन्तली फाउन्डेसनले बनाइरहेको रंगशालालाई बाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा सो रकम दिने भएको हो ।

कोरोनाको महामारी र निषेधाज्ञाका बीच पनि निर्माण कार्य जारी रहेको छ । बागमती सरकारका प्रमुअ सचिव डा. मानबहादुर बिके केही दिनअघि रंगशाला निर्माणको अवस्थाका बारेमा जानकारी लिन स्थलगत निरीक्षणमा आएका थिए । त्यसक्रममा उनले प्रदेश सरकारबाट रंगशाला निर्माणका लागि सहयोग गर्ने वचन दिएर फर्किएलगत्तै निर्णय भएको हो ।

आर्थिक अभावले रंगशाला निर्माणको गतिमा ब्रेक नलागोस भनेर प्रदेश सरकारले सहयोग गरेको प्रमुख सचिव डा. बिकेले बताए । प्रदेश सरकारले उपलब्ध गराएको रकमको खर्च तथा रेखदेख सम्वन्धमा भरतपुर महानगरपालिकालाई लिखित जानकारी पठाइने उनको भनाइ छ ।

विज्ञापन

रंगशाला निर्माणका लागि मकवानपुरको हेटौडा उपमहानगरपालिकाले तीस लाख रुपैयाँ सहयोग गरेको थियो । त्यसबाहेक अन्य कुनै पनि सरकारी निकायबाट आर्थिक सहयोग भएको छैन । जनस्तरबाट संकलित रकमबाट नै रंगशालामा निर्माणको काम अघि बढिरहेको धुर्मस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले बताए । बागमती प्रदेश सरकारले अनुदानमा उपलब्ध गराउने रकमले रंगशाला निर्माणमा टेवा पुग्ने उनको विश्वास छ ।

‘प्रदेश सरकारबाट रकम प्राप्त भएपछि अन्य स्थानीय सरकारहरुले पनि सहयोग गर्नुहुन्छ भन्ने विश्वास लिएका छौं’ कट्टेलले भने, ‘जनस्तरबाट मात्रै आएको सहयोगले यतिको काम गरेका छौं, अब सरकारको पनि थपिँदा अझैं उत्साह बढेको छ ।’

उनले राष्ट्रिय गौरवको परियोजना भएकोले केन्द्र सरकारले पनि रंगशाला निर्माणमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।

यसअघि, गत आर्थिक बर्षमा प्रदेश सरकारले दिने भनेको पाँच करोड रुपैयाँ निकासा नभइ फ्रिज भएको थियो । भरतपुर महानगरपालिकाले गत आर्थिक वर्ष दिने भनेको ६ करोड ४५ लाख रुपैयाँ पनि निकासा भएको छैन । कानुनी अड्चनका कारणले दिन नमिलेको र प्रदेश सरकारले दिएपछि दिने महानगरपालिकाले भन्दै आएको छ । महानगरले चालु वर्ष ४ करोड दिने बताएको छ ।

गएको माघमा रंगशाला निर्माणका लागि धनधाञ्चाल महोत्सव आयोजना गरी करीव ७ करोड रुपैयाँ नगद उठाइएको थियो । महायज्ञमा जिल्लाका सबै जसो स्थानीय तहले आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए । ति स्थानीय तहले पनि अहिलेसम्म घोषित रकम दिएका छैनन् । जिल्ला समन्वय समितिले दिने भनेको रकम पनि दिएको छैन ।

कहाँ पुग्यो निर्माण ?

कोरोना भाइरसको कारण गएको चैत ९ गतेबाट रोकिएको रंगशालाको काम गत बैशाख २० गतेबाट पुनः सुरू भएको थियो । हाल रंगशालामा १ सय ५० भन्दा बढि मजदुरलाई क्वारेटाइनमा राखेर काम लगाइएको छ । अब थप मजदुर ल्याएर काम गर्ने योजना रहेको फाउण्डेशनका अध्यक्ष कट्टेलले बताए ।

निषेधाज्ञाका कारण निर्माण सामग्री सहज नहुँदा र पानी परिरहेकाले कामले सोचेजस्तो गति अझै सकिरहेको छैन । रंगशालामा सिताराम आफैँ पनि खटिइरहेका छन् ।पिल्लर उठाउने काम सुरु भएसँगै रंगशालाले विस्तारै आकार लिन थालेको छ । रंगशालामा प्याराफिट निर्माणको वेस र पिलरको काम भैरहेको छ । झण्डै १५ हजार दर्शक अट्ने प्याराफिट ‘ए’ स्ट्याण्डको काम धमाधम भैरहेको छ ।

प्याराफिट ‘ए’ को पिल्लरका जारी रहकै बेला प्याराफिट ‘बी’ को पनि काम सुरु भएको छ । प्याराफिट ‘बी’ पनि १५ हजार दर्शक क्षमताको नै हुनेछ । साथैं, प्याराफिट एमा ढुंगाको वाल उठाएर पार्टेसन गर्ने काम पनि अघि बढेको फाउण्डेशनका अध्यक्ष कट्टेलले बताए ।

आयोजनाका डेपुटी प्रोजेक्ट म्यानेजर इन्जिनियर मणि दासले दिएको जानकारी अनुसार एक लाइनमा पाँचवटा पिलर रहनेछन् । त्यस्ता १४० पिलर खडा गरिएको छ । प्याराफिटको पहिलो स्टेप डीपीसी लेभलबाट १ मिटर २० सेन्टिमिटरको उचाइसम्म रहनेछ भने, अन्तिम पाँचौ पिलर २१ मिटर उचाइको हुने दासले बताए ।

रंगशाला निर्माणमा गत साउन मसान्तसम्म २३ करोड ७४ लाख ६४ हजार खर्च भइसकेको छ । परियोजनाका लेखा प्रमुख मुक्ति तिमिल्सिनाका अनुसार हालसम्म १८ करोड ५३ लाख ४२ हजार रुपैयाँ मात्र सहयोग प्राप्त भएको छ । विभिन्न सहयोगीहरूसँग ५ करोडभन्दा बढीको उधारोमा सामग्री ल्याएर काम गरिएको छ ।

यसअघि कवोल गरिएका निजी र सरकारी निकायबाट रकम उपलव्ध भएमा आगामी १८ महिना भित्र रंगशालाको काम सकिने विश्वास फाउण्डेशनलाई छ ।

२०७५ असोज १९ गते भरतपुर महानगरपालिका, त्रिभुवन विश्वविद्यालय र कृषि तथा वनविज्ञान विश्वविद्यालयका बीचमा कृषि विश्वविद्यालयले चर्चिएको २० विगाहा ६ कठ्ठा जग्गा रंगशाला बनाउन दिने त्रिपक्षीय सम्झौता भएको थियो । भरतपुर महानगरपालिकाले विश्वविद्यालयले दिएको बराबरको जग्गा अन्यत्र सोधभर्ना गर्ने भने पनि अहिलेसम्म गरेको छैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै