होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • नृत्य नै जिन्दगी
मनोरञ्जन

नृत्य नै जिन्दगी

  • नागरिक रैबार
नृत्य नै जिन्दगी

प्रमिला खनाल (२६) राति अबेर सुते पनि दिनहुँ बिहानै ४ बजे उठिसक्छिन्। कारण अनामनगरस्थित ‘कला कारखाना’मा उनको ५ बजेदेखि नै नृत्य क्लास हुन्छ। बेली डान्सको सर्टिफाइट प्रशिक्षक उनी दिनभरजसो पुल्चोकस्थित ‘वाई–स्ट्यान्ड डान्स स्कुल’मा व्यस्त रहन्छिन्। बाँकी रहेको समय उनी अरू पनि डान्स स्कुलमा प्रशिक्षणका लागि दौडन्छिन्। यसरी नृत्य नै उनको जिन्दगी बनेको छ।

तर प्रमिलाको परिचय यतिमा सीमित छैन। उनी रंगकर्ममा पनि पाइला सार्दैछिन्। अहिले मण्डलामा ‘महाभोज’ नाटक चलिरहेको छ। यसमा खरो पत्रकारको भूमिकामा छन् उनी। ‘सकेको तिरौंला, नत्र फिरिमा’ नाटकले उनका फ्यान फलोअर्स ह्वात्तै बढे। ‘क्लब ७’ नाटकबाट डेब्यु गरेकी उनी ‘जालिनी’ नाटकमा पनि खेलिन्। भन्छिन्, ‘अनुप बराल, राजन खतिवडा, दयाहाङ राई, विकास जोशीजस्ता दिग्गज रंगकर्मीहरूको निर्देशनमा नाटक गर्न पाउनु मेरो अहोभाग्य हो।’

जम्माजम्मी चार नाटक मात्र खेलेकी छिन् प्रमिलाले। एक दशकदेखि आफ्नो नृत्य प्रतिभाका लागि देशविदेश गइरहेकी उनी आफूले कहिल्यै नसोचेको फिल्म कर्ममा पनि छिन्। आलोक नेम्बाङ ‘अझै पनि’ फिल्मका लागि चार जना नायिकाको खोजीमा थिए। तीनजना फिक्स भए पनि नृत्य गर्न सक्ने चौथी नायिकाको खोजी थियो। फिल्म निर्माण टोलीले बेली डान्स गरेको उनको भिडियो फेला पारेपछि उनलाई फेसबुकमार्फत सम्पर्क गर्‍यो। यसरी उनी अभिनय प्रशिक्षण बिनै नायिका बनिन्। भन्छिन्, ‘त्यसबेला आलोक नेम्बाङको चार्म थियो। उनीसँग जो कोही काम गर्न लालायित हुन्थे। सुटिङ अघिको दुईहप्ते अभिनय कार्यशाला मेरा लागि अत्यन्त महŒवपूर्ण रह्यो।’

विज्ञापन

प्रमिलाले फिल्म ‘वडा नं. ६’ मा जितु नेपालको जोडी अनि अर्को फिल्म ‘छक्का पञ्जा २’ मा गौरव पहाडीको जोडी भएर पनि अभिनय गरेकी छिन्। नाटक, फिल्ममा देखिए पनि नृत्यले नै उनलाई मोहनी लगाएको छ। तर नृत्यका लागि मेला, महोत्सव उनका रोजाइका स्टेज होइनन्। नारायणघाटको स्थायी बासिन्दा उनी चितवन महोत्सवमा भने जिल्लावासीका हैसियतले उपस्थिति जनाउँछिन्। उनी एक कुशल कोरियोग्राफर पनि हुन्। त्यसैले फाइभ स्टारमा हुने कर्पोरेट इभेन्टमा नृत्य पस्किन उनलाई बाक्लै निम्तो आउने गरेको छ।

नारायणघाटको गल्र्स स्कुलबाट प्रमिलाले एसएलसी गरिन्। एसएलसीपछि नारायणघाटमै आईकम भर्ना भइन्। हाइस्कुल पढ्दै गर्दा उनको नृत्यले चितवनमा चर्चा बटुलिसकेको थियो। कतिसम्म भने प्रत्येक वर्ष प्रथम हुन थालेपछि स्थानीय आयोजकले दसैंमा गर्ने नृत्य प्रतियोगतामा उनलाई भाग लिन प्रतिबन्ध नै लगाए। सुरुमा नारायणी कला मन्दिरमा नृत्य सिकेकी उनी त्यहाँका गुरुहरूलाई कहिल्यै भुल्न नसकिने बताउँछिन्। ‘छमछमी २’ मा टप २० सम्म स्थान बनाएकी उनी बीए पढ्न काठमाडौं आइन्। र, रुचिको नृत्य विषय लिएर पद्मकन्या कलेज भर्ना भइन्। तर नृत्यले उनको रेगुलर पढाइ गोलमाल गरिदियो। फेरि बीएमा भर्ना हुने सोच बनाउँदैछिन्।

प्रमिलासम्बद्ध ‘वाई–स्ट्यान्ड डान्स स्कुल’मा साल्सा, जुम्बा, कन्टेम्पोररी, हिपहपजस्ता वेस्टर्न फर्मको नृत्य मात्रै सिकाइन्छ। जुम्बा फिटनेसका लागि प्याकेज गरिएको नृत्य हो। आठ वर्षदेखि त्यहाँको एडमिन हेडसमेत रहेकी प्रमिला भन्छिन्, ‘तालिम नलिएकाहरूसँग जुम्बा सिकियो भने उल्टै हानी गर्छ।’

नृत्यले प्रमिलालाई बिहेबारे सोच्ने फुर्सद पनि छैन रे। भन्छिन्, ‘कसैको मनमा म हुँला। तर कसैले मुख फोरेको छैन।’ व्यस्तताले भान्सामा पस्ने फर्सद कमै हुन्छ उनलाई। तर भान्सामा पसे जे परिकार पनि स्वादिष्ट नै बनाउने गरेको उनको भनाइ छ।

रंगकर्ममा आफू उछिट्टिएर आएको बताउने प्रमिला भन्छिन्, ‘जिन्दगीमा भविष्यले कस्तो मोड लिने हो थाहा छैन।’ अहिलेसम्म नृत्यले उनको ज्यान स्लिम छ। पछि फिलिमको संख्या बढ्दै जाँदा सिलिम ज्यान चिलिम पार्ने हो कि भन्नेमा उनी सचेत छिन्। त्यसैले, जंकफुडबाट उनी टाढा छिन्। आफैंले बनाएको खाजा उनको झोलामा हुन्छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार