
काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई अध्यागमन कार्यालयले रोकेको प्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको छ ।कुवेत र जोर्डन जाने लागेका १३२ जना श्रमिकहरूलाई अध्यागमन कार्यालयले विना कारण रोकेको भन्दै संघले आपत्ति जनाएको हो ।


शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघका अध्यक्ष राजेन्द्र भण्डारीले विना कारण कामदार फर्काउने काम भएको बताए ।
‘वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिई वैदेशिक रोजगार व्यवसायीले वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्वीकृति लिई रोजगारीमा जाने गरेका छन्’, उनले बताए । सबै प्रक्रिया पूरा गरेर जान लागेका कामदारहरूलाई समेत रोकेको उनले बताए।
विज्ञापन


विभागबाट संस्थागत रुपमा प्रचालित कानुन बमोजिम श्रम स्वीकृति लिई वैदेशिक रोजगारीका लागि जाने कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयका कर्मचारीले केहि दिनदेखि कानुन विपरीत रोक्ने काम भइरहेको उनले बताए।
अनावश्यक दुःख दिई रोजगारीबाट वञ्चित गराउने उद्देश्यबाट प्रेरित भई हस्तक्षेप युक्त कार्य भइरहेको उनले बताए।
अध्यागमन कार्यालयले २०८० असार २४ गते जोर्डन जान लागेका १५ जना, २७ गते सलाम एयरलाईन्सबाट कुबेत जान लागेका १०१ जना र कुबेत एयरलाईन्सबाट जान लागेका १६ जना कामदारलाई रोकेको थियो।अध्यागमन कार्यालयबाट कानूनभन्दा बाहेक नै अनावश्यक दोषारोपण सहित जान नदिई फर्काएको उनको भनाइ छ।
वैदेशिक रोजगारमा जाने कामदारको मागपत्र, भिषा, उडान निश्चित भएको हवाई टिकट हेरी जाँचबुझ गरी अन्तिम स्वीकृति दिने अख्तियारी वैदेशिक रोजगार विभागको हो । संस्थागत रुपमा भिषा लगाई उडानका लागि गएका कामदारको करार सम्झौता, काम, पद, सेवा, सुविधा हेर्ने अधिकार अध्यागमन कार्यालयको क्षेत्राधिकार नभएको उनको भनाइ छ ।
भिषा र हवाई टिकट बाहेकका अनावश्यक कागजातको जाँच परिक्षण गर्ने, कामदारलाई दुर्व्यवहार साथ उडान अनुमति नदिई फर्काउँदा कतिपय कामदारको भिषा समाप्त भै रोजगार नै गुम्ने सम्मको अवस्था रहेको उनले बताए।यसले गर्दा व्यवसायीलाई हवाई टिकट बापत ठूलो आर्थिक क्षति पुगेको उनको भनाइ छ।यो कार्य तत्काल रोक्न उनले माग गरे । उक्त कार्य तुरुन्त रोकी यस प्रकारका कार्य गर्ने व्यक्तिलाई कानूनी कारबाही गरी व्यवसायी र कामदारलाई परेको क्षतिपूर्ति दिलाउन समेत माग गरे।
यसअघि जोर्डन जान रोकेका १५ जना अर्को दिन गएका थिए । त्यस्तै कुवेत जान रोक लगाएका मध्ये ९ जना शुक्रबार बिहान त्यही कागजातको आधारमा गएका छन्। राताेपाटी बाट

फेसबुक प्रतिक्रियाहरु