
नागरिक रैबार/बाजुरा १७ फागुन। नेकपा एमाले बाजुरा ‘मिसन ग्रासरुट’ अभियान र पार्टी संगठन सुदृढीकरण अभियानमा जुटेको छ । अभियान अन्तरगत नेकपा एमाले बाजुराले नेता कार्यकर्ताका लागि मार्तडीमा जिल्ला स्तरीय अभिमुखिकरण आयोजना गरेको छ ।


मिसन ग्रासरुट अभियानले केन्द्र, प्रदेश, पालिका, वडा र टोलसम्मको संगठनलाई जीवन्त र क्रियाशील बनाउने उद्देश्य राखिएको पार्टी जिल्ला अध्यक्ष कालीबहादुर शाहीले बताएका छन् । अभिमुखिकरणको नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले उद्घाटन गरेका हुन् ।
पार्टी पोलिटव्यूरो सदस्य राजेन्द्रसिंह रावल, केन्द्रीय सदस्य यज्ञ बोगटी, गोविन्द्र कुँवर, आयोग सदस्य बसुन्धरा रोकाया, प्रदेश कमिटीका नेताहरु हिरेन्द्र भट्टाराई, लालबहादुर ओली, गगन रावल सहीतको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको पार्टी सचिव भतर थापाले बताएका छन् ।
विज्ञापन


पार्टी जिल्ला कमिटीका नेताहरु, गाउँ तथा नगर कमिटीका पदाधिकारी, पार्टी जनसंगठनका सबै पदाधिकारी अभियानका मोर्चामा खटिने छन् । अभियानमा जोडिने र खटिने सबै नेता कार्यकर्तालाई अभियानको उदेश्य र औचित्य बारे प्रशिक्षण दिन अभिमुखिकरण सुरु गरिएको हो ।
नेकपा एमालेले पार्टी केन्द्रीय सदस्य राजेन्द्र रावल, यज्ञ बोगटी र गोविन्द्र कुँवरलाई जिम्मेवारी तोकेको छ । राजेन्द्र रावलले तोकिएका पालिकामा पहिलो चरणमा अन्र्तक्रिया समेत सञ्चालन गरिसकेका छन् । भने अन्य पालिकामा आजैबाट औपचारिक कार्यक्रम सुरु गरिएको हो ।
नेकपा एमालेले २ महिना पार्टी कार्यकर्तालाई सबै वडा टोल, बस्ती र पालिकासम्म पुग्ने र संगठन सुदृढीकरण तथा विस्तार अभियान सफल पार्न निर्देशन दिएको छ । पार्टी प्रदेश कमिटी र जिल्ला कमिटीका नेताहरुलाई पनि आफ्नो बाहेकको पालिकामा खटेर जनतासँगै छलफल, भेटघाट तथा संगठन निर्माणको काममा खटिन जिम्मेवारी तोकिएको पार्टी स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बताएका छन् ।
फागुन ५ गतेदेखि वैशाख ९ गतेसम्मको अवधि तोकेर जनताको घरदैलोसम्म पुग्ने देशव्यापी लक्ष्य राखेको एमालेले सहित अभियानमा जुटेको हो । दुई महिनाभित्र गरिने कार्यक्रमको योजना तयार गरि सोही अनुसार अभियान सञ्चालन गर्न सुदूरपश्चिम प्रदेश कमिटी सहइन्चार्ज समेत रहेका थापाले निर्देशन दिएका छन् ।
गाउँमा जाने, जनताकै घरदैलोमा एमालेको नीति, सिद्धान्त, विचार र आदर्श बारे जानकारी दिने, उहाँहरुका कुरा सुन्ने, वर्तमान विकसीत राजनीतिक घटनाक्रम, एमालेको भूमिका, देशी विदेशी हस्तक्षेप र एमालेको आवश्यक बारे सविस्तार प्रशिक्षण दिने र संगठनमा आवद्ध गराउने अभियान नै मिसन ग्रासरुट भएकोले सोही अनुसार सबैले काम गर्नु पर्ने थापाको भनाई छ ।
हरेक केन्द्रीय सदस्य गाउँपालिका तहसम्म र जुन जिल्लाको हो त्यसभन्दा बाहिर अर्को जिल्लामा खटाइएको छ । जननताको पार्टी एमाले हो, त्यो पुष्टी नै भइसकेको छ । तरपनि हामीले जनतासँग रहेर गर्नु पर्नेकाम, खट्नु पर्ने र जिम्मेवारी लिनु पर्ने विषयमा संवेदनशिल छैनौं, जनताका सुझाव सुन्ने र पार्टी संगठनका माध्यमबाट थप सम्बन्ध सुधार गर्न अभियान सञ्चालन गरिएको पोलिटव्यूरो सदस्य राजेन्द्र रावलले बताएका छन् ।
पार्टी सचिव भरत थापाले सञ्चालन गरेको अभिमुखिकरणमा पार्टी अध्यक्ष कालीबहादुर शाहीले जिल्लाका पालिका तहमा खटिने नेताहरुको कार्य विभाजन पत्र प्रस्तुत गरेका थिए । पार्टी उपाध्यक्ष भरत बुढाले स्वागत गरेको कार्यक्रममा नेताहरु लालबहादुर ओली, हिरेन्द्र भट्टाराई, बसुन्धरा रोकाया, गोविन्द्र कुँवर, यज्ञ बोगटीले पनि प्रशिक्षण गरेका छन् । अभियान २ महिनासम्म गाउँ तहमै पुगेर सञ्चालन हुने छ ।

फेसबुक प्रतिक्रियाहरु