होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोशी प्रदेशमा एमाले र पहिचानवादीबीच तनाव
समाचार

कोशी प्रदेशमा एमाले र पहिचानवादीबीच तनाव

  • नागरिक रैबार
कोशी प्रदेशमा एमाले र पहिचानवादीबीच तनाव

विराटनगर । कोशी प्रदेश नामकरण विवाद अहिले एमाले र पहिचानवादीबीच केन्द्रित भएजस्तै बन्दै गएको छ । नेकपा एमालेका नेता, सांसद तथा मन्त्रीप्रति अनुदार बन्दै पहिचान पक्षधरहरुले विभिन्न आक्रमण र विरोधका कार्यक्रम गरिरहेका छन् । त्यसपछि एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २६ गते पहिचान पक्षधरलाई आतङ्ककारीको संज्ञा दिँदै रुखो टिप्पणी गरे ।त्यसको विरुद्धमा सामाजिक सञ्जालमा पहिचान पक्षधरले एमाले र ओलीप्रति आक्रामक स्टाटस र उपमा पोस्ट गरिरहेका छन् ।

अध्यक्ष ओलीको आक्रामक अभिव्यक्ति आउनुमा आफूमाथि मात्रै नभएर एमालेका सांसद तथा नेता लक्षित पहिचान पक्षधरको आक्रमण नै मुख्य कारक हो । गत फागुन १७ गते प्रदेशको नाम कोशी नामकरण भएपछि पहिचानवादीले उक्त नामको पक्षमा हस्ताक्षर गर्ने ८२ जना प्रदेशसभा सदस्यलाई कुनै पनि कार्यक्रम नगर्न चेतावनी दिँदै बहिष्कार अभियान चलाइरहेका छन् ।

जसको कारण हालका मुख्यमन्त्री हिक्मतकुमार कार्की, उपसभामुख सिर्जना दनुवार, माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, एमाले संसदीय दलका उपनेता राम राना, सांसदहरु निरन राई, राप्रपा संसदीय दलका नेता तथा मन्त्री भक्ति प्रसाद सिटौलालगायतका नेताहरु पहिचानवादीको आक्रमणमा परिसकेका छन् । यस्तै सांसद पाँचकर्ण राई पनि आक्रमणमा परेका छन् ।

विज्ञापन

एमाले अध्यक्ष ओलीले जेठ २६ गते दिएको अभिव्यक्ति जेठ २५ मा इलाममा कोशी प्रदेश एमाले दलका उपनेता राम राना र उपसभामुख सिर्जना दनुवारलाई उदयपुरको गाईघाटमा आक्रमण भएपछि आएको हो ।पहिचानवादीका माग मुद्दा सम्बोधन गर्नकै लागि भन्दै प्रदेश सरकारले जेठ २४ गते वार्ता समिति बनाएको थियो । वार्ता समिति बनाएको भोलिपल्टै पहिचानवादीको आक्रमणमा परेपछि भने एमाले आक्रामक बनेको हो ।

स्वयं एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिचानवादीले आन्दोलन उग्र बनाइरहँदा गत वैशाख १३ गते झापाको बुद्धशान्तिमा कार्यक्रम गरे । वैशाख १४ गते इलाममा, वैशाख १५ गते तेह्रथुममा, वैशाख १६ गते पाँचथरमा पुगेका ओलीलाई प्रत्येक कार्यक्रममा पहिचानवादीले आक्रमण नै गरे ।

कतिपय कार्यक्रमबाट ओली भागेर हिँड्नुपर्ने अवस्था पनि आयो । पहिचानको विषयमा अनुदार बन्दै आएका ओलीले एमाले पार्टीको केन्द्रीय समितिको बैठक नै वैशाख २६ देखि जेठ १ गतेसम्म झापामा गर्ने घोषणा गरे ।

पहिचानको आन्दोलनमा मृत्यु भएका बेलबारीका पदम लिम्बू लाजेहाङकै गाउँमा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघले वैशाखमै प्रशिक्षण कार्यक्रम राखेको थियो । एमालेले राखेका यी दुवै महत्त्वपूर्ण र ठूला कार्यक्रम तोकिएको ठाउँमा हुन सकेन । पहिचानवादीले त्यहाँ प्रतिकार गरेपछि झापामा राख्ने भनिएको केन्द्रीय समितिको बैठक काठमाडौँमा सारियो । बेलबारीमा गर्ने भनिएको प्रशिक्षण विराटनगरमा गरियो ।

पहिचानको मुद्दा लिएर आन्दोलन गरिरहेको संघर्ष समिति भने एमालेमाथि भइरहेको यो आक्रमण जारी रहने संकेत गर्छ । उक्त संघर्ष समितिका संयोजक डकेन्द्र सिं थेगिमले एमालेमाथिको आक्रमण भन्दा पनि नामकरणमा संलग्न ८२ जना सांसदलाई बहिष्कार गरेको बताए ।

‘प्रदेश १ मा समस्या आएको छ । यो समस्या समाधान नभएसम्म ८२ सांसदहरुको कार्यक्रम हामीले बहिष्कार गर्ने भनेर पटकपटक विज्ञप्ति प्रकाशित गरेका छौं । यो कुरा बुझेर पनि उहाँहरु विभिन्न कार्यक्रम बनाएर जानुहुन्छ भने त्यो त उहाँहरुले सामना गर्नु प¥यो नि । कांग्रेस, माओवादीका सांसद नजाने, एमालेका जाने यो किन ? एमालेका मान्छेहरुले हामीसँग निहुँ खोजिरहेका छन्,’ थेगिम भन्छन्, ‘राम रानाले त्यो कुरा बुझ्नु पर्छ । मैले गल्ती गरें । मैले भोट माग्दा यस्तो भनेको थिएँ । जनताको असन्तुष्टिलाई मैले नै पहल गर्नुपर्छ भनेर रियलाइजेसन त गर्नुप¥यो नि ।’

व्यक्तिलाई आक्रमण गरेर यो विषयको समाधान हुन्छ त भन्ने प्रश्नमा उनले व्यक्ति भन्दा पनि ८२ जना सांसद आफूहरुको टार्गेटमा रहेको संकेत गरे । माओवादी र कांग्रेसप्रति केही नरम सुनिएका उनले एमालेले पहिचानवादीलाई पेल्न खोजेको कारण समस्या भइरहेको बताए ।

‘हाम्रो आन्दोलनको मर्मलाई बुझेर माओवादीले रियलाइजेसन ग¥यो । कांग्रेसले पनि पछिल्लो पटक वार्ता संवादबाटै समस्या समाधान गर्नुपर्छ भन्ने कुरा गरिरहेको छ । एमाले चाहिँ पेल्न खोजिरहेको छ भने हामीले पनि उसैसँग भिड्नुपर्ने त भयो नि,’ थेगिमले भने, ‘शान्तिपूर्ण कार्यक्रम गर्न पनि दिँदैनौं । हाम्रो माग पहिचानको मुद्दा जसरी उठेको छ, त्यो विषय समाधान नभएसम्म हामी उहाँहरुलाई कार्यक्रम गर्न दिँदैनौं ।’ उनले कोशी खारेज गरी बहुपहिचानको आधारमा नामकरण भएपछि मात्र सबै मिलेर कार्यक्रम गरौंला भन्ने धारणा राखे ।

एमाले कोशी प्रदेशले भने एक विज्ञप्ति जारी गर्दै आफ्ना नेता, कार्यकर्तालाई लक्षित गरेर बारम्बार आक्रमणको प्रयास भइरहेको बताउँदै घटनामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउने प्रभावकारी काम हुन नसकेको जनाएको छ ।

‘अनेकौं अवाञ्छित र अपराधपूर्ण क्रियाकलापहरु हुँदा समेत प्रहरी प्रशासनले अपराधमा संलग्न गुण्डाहरुलाई नियन्त्रणमा लिने र कानुनी कारबाहीको दायरामा ल्याउने काम प्रभावकारी रुपमा हुन सकेको छैन,’ एमालेका कोशी प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘हाम्रो पार्टी नेकपा एमाले यस्ता क्रियाकलापको घोर निन्दा र विरोध र भर्त्सना गर्दछ । दोषीलाई नियन्त्रणमा लिई कानुनी दायरामा ल्याउन र शान्ति सुरक्षा बहाल गर्न सकारसँग जोडदार माग गर्दछ ।’

पार्टी नेता, कार्यकर्तामाथि हुने गरेका आक्रमण र हिंसाका घटनाको डटेर प्रतिवाद गर्ने संकल्प एमालेले गर्ने पनि उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

सोलुखुम्बुबाट निर्वाचित एमालेका सांसद तथा कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी पनि एमालेलाई आक्रमण र उपेक्षा गरेर कोशी प्रदेशको पुनः नामकरण असम्भव भएको बताउँछन् । ‘हामीले समिति बनाएर पहिचानवादीलाई वार्तामा बोलायौं तर उहाँले त्यसलाई बेवास्ता गर्दै उल्टै सांसददेखि नेताहरुलाई आक्रमण गर्ने कार्य गर्नुभयो । वार्ताद्वारा समस्या समाधान गर्न गम्भीर भएर सरकारले समिति बनाएको हो,’ राजभण्डारीले भने, ‘एमालेलाई उपेक्षा गरेर, चिढ्याएर दुई तिहाइ पु¥याएको हेरौंला ।’

नामकरणका बेला सबै दलले समर्थन जनाएको भन्दै उनले कतिपय दलले दोहोरो चरित्रसमेत देखाएको आरोप लगाए । ‘कोशी कार्यान्वयनमा लैजाने बेलासमेत संसदमा कसैले हुँदैन भन्नु भएन । अहिले कोशी लेखेको साइनबोर्ड मेट्ने र आक्रमण गर्ने काम भएको छ । सरकारले वार्ता टोली बनाएको छ तर ढुंगामुढा गरिरहँदा कसरी हुन्छ वार्ता ?’ उनले भने, ‘वार्ता टोलीसँग वार्ता नगर्ने भनेर हुन्छ ? पुनःनामकरण एमाले नभई संशोधन नहोला नि ?’

असन्तुष्ट जाहेर गर्ने दुई जिब्रे कुरा नगरौं भन्ने आफूहरुको आग्रह रहेको पनि राजभण्डारीले बताए । ‘छलफल गरौं, टुंगो लगाउँ । यस्तै स्थिति भए वार्तामा टोली बनाएर आउनुहोस् । एमाले नफकाएसम्म नाम संशोधन हुँदैन किनकि पुनः नामकरणका लागि पनि एमालेले मत नदिउन्जेल दुई तिहाइ पुग्दैन,’ उनले भने ।

एमालेको हठ र पहिचानवादीको व्यक्ति आक्रमणले कोशी प्रदेशमा हिंसा भड्किन सक्ने कतिपयको भनाइ छ । ‘जातीय पहिचान नभई राष्ट्र बन्दैन । राष्ट्र राज्य बन्ने क्रममा बहुमतको पहिचानलाई अल्पमतले स्वीकार गरे राष्ट्र बलियो र समृद्ध बन्छ । तर जुन आधारलाई अस्वीकार गरे देश जातीय द्वन्द्वमा फस्न सक्छ,’ कोशी प्रदेशकी पूर्वमन्त्री विष्णुमाया तुम्बाहाम्फेको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार